नेपालसहित प्लेअफ खेल्ने चारवटै टोलीको टुंगो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । जिम्बाबेमा जारी आइसिसी विश्वकप छनोटमा नेपालसहितका चार देशले खेल्ने प्लेअफको टुंगो लागेको छ । शीर्ष ६ भित्र पर्न नसकेका बाँकी चार टोलीहरूले सातौँ देखि १०औँ स्थानका लागि प्लेअफ खेल्नेछन् । प्लेअफमा समूह ‘ए’ बाट नेपाल र अमेरिका तथा समूह ‘बी’बाट आयरल्याण्ड र युएई पुगेका छन् ।

३० जुनदेखि ६ जुलाईसम्म चल्ने प्लेअफबाट सातौँदेखि १०औँ स्थान निर्धारण हुनेछ । प्लेअफमा समूह ‘ए’को चौथो स्थानमा रहने टोलीले समूह ‘बी’को पुछारको टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘ए’को पुछारमा रहने टोलीले समूह ‘बी’को चौथो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । यी दुई खेल सातौँ स्थानका लागि सेमिफाइनल सरह हुनेछन् । दुवै विजेता टोलीले सातौँ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । पराजित हुने टोलीले नवौँ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल समूह ‘ए’मा चार खेलमा तीनमा हार र एकमा जितका साथ दुई अंकका साथ चौथो स्थानमा छ । अमेरिका सुरुवाती तीन खेलमा हारका साथ पुछारमा छ । अन्तिम खेलमा सोमबार अमेरिका वेस्टइण्डिजसँग पराजित भएमा नेपाल चौथो स्थानमा रहनेछ । यदि अमेरिका विजयी भएमा भने नेट रनरेटमा निर्भर हुनेछ ।

यस्तै, विश्वकप छनोटको सुपर सिक्समा समूह ‘ए’बाट नेदरल्याण्ड्स, जिम्बाबे र वेस्टइण्डिज तथा समूह ‘बी’बाट श्रीलंका, ओमान र स्कटल्याण्ड पुगेका छन् ।

सुपर सिक्समा अर्को समूहबाट आउने टोलीबीच मात्रै प्रतिस्पर्धा हुनेछ । सुपर सिक्सबाट शीर्षस्थानमा रहने दुई टोलीले आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?