उजुरी परेको दुई वर्षपछि अख्तियारले गर्‍यो जलहरीको गुणस्तर र तौल परीक्षण

डिबी शर्मा
Read Time = 9 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको सुनको जलहरीको गुणस्तर र तौल परीक्षण गरेको छ । गुणस्तर तथा नापतौल विभाग, पुरात्व विभाग, खानी तथा भूगर्भ विभाग, नेपाल सुनचाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोष र चारवटै सुरक्षा निकाय तथा स्थानीय जनप्रतिनिधिको रोहबरमा सोमबार बिहान अख्तियारले सुनको जलहरीको परीक्षण गरेको हो । टोलीले जलहरी परीक्षण गरेर प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ । करिब ११ किलो सुन गायव भएको भन्दै दुई वर्षअघि नै अख्तियारमा उजुरी परेको थियो । उजुरी परेको दुई वर्षपछि अख्तियारले जलहरीको नापतौल र गुणस्तर परीक्षण गरेको हो ।

२०७७ साल माघ १२ गते पशुपतिनाथको दर्शनका लागि पुग्नुभएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्दिरको गर्भगृहमा राखिएको शिवलिंगलाई दैनिक जलधाराका लागि सुनको जलहरी निर्माण गर्न ३० करोड रुपैयाँ बजेट उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । महाशिवरात्रि (२०७७ फागुन २७) भित्रै जलहरी राखिसक्न ओलीको निर्देशन थियो । सरकारले उपलब्ध गराउने ३० करोड बजेट अनि बाँकी पशुपति क्षेत्र विकास कोष, दाताहरूको चन्दा तथा अनुदान सहयोग आदिबाट व्यवस्थापन गर्ने गरी सुनको जलहरी राख्ने काम गरिएको थियो । नेपाल राष्ट्र बैंकसँग १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजारमा खरिद गरी त्यसमा २.८९ किलो तामा, १.२४ किलो चाँदी, १२.७५ ग्राम जिंक मिसाएर कुल तौल १०७.९२ किलो कायम गरिएको थियो । यसबीचमा हतारमा सुनको जलहरी राख्न लागेको विषयमा सर्वोच्च अदालतमा रिट परिसकेको थियो । सर्वोच्चले जलहरी राख्ने काम तत्काल रोक्न विपक्षीका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो । तर, आदेश आउँदासम्म पशुपतिमा सुनको जलहरी राख्ने काम सम्पन्न भइसकेको थियो । अदालतबाट आदेश आउनुअघि (सोही दिन बिहान) पशुपतिनाथ पुगेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पुरानो जलहरीलाई सुनको जलहरीले प्रतिस्थापन गर्नुभएको थियो । करिब ११ किलो सुन गायव भएको भन्दै तत्काल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । यसबारे महालेखापरीक्षकको कार्यालयसमेत प्रश्न उठाएको थियो ।

ओलीजीले आफ्नो नाम लेखाउने रहर जागेर सुनको जलहरी राख्नुभएको रहेछ : दाहाल
नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय गलत भएको बताउनुभएको छ । सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले जनता कोरोनाको मारमा परेको बेला पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णय वस्तुगत र वास्तविकताभन्दा माथि रहेको बताउनुभयो । दुई सय वर्षदेखि नियमित चाँदीको जलहरी लगाइरहेको ठाउँमा सुनको जलहरी लगाउनुपर्ने आफैँमा वस्तुगत निर्णय नभएको उहाँको दाबी छ । जलहरीको विषयमा निष्पक्षता कामय गरी अनुसन्धान हुनुपर्ने उहाँले बताउनुभयो । ‘पशुपतिको जलहरी लगाउने निर्णय आफैँमा वस्तुगत थिएन । कोरोनाको महामारी चलिरहेको बेलामा जनता खान नपाएर छट्पटाइरहेका थिए । दुई सय वर्षदेखि नियमित चाँदीको जलहरी लगाइरहेको ठाउँमा सुनको जलहरी लगाउनुपर्ने आफैँमा वस्तुगत निर्णय थिएन, मनोगत थियो,’ उहाँले भन्नुभयो, ‘ओली (केपी शर्मा ओली)जीले सुनको जलहरीमा आफ्नो नाम लेख्नुभएको छ । विद्या भण्डारी, भानुभक्त ढकाललगायत धेरैको नाम लेख्नुभएको रहेछ । पशुपतिमा नाम लेखाउने रहर जागेर उहाँले लगाउनुभएको रहेछ । अनुसन्धान प्रक्रियामा निष्पक्षता कायम हुनुपर्छ ।’

जलहरीमा पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीको नाम हुनु सामान्य : बर्तौला
नेकपा एमालेका सचेतक महेश बर्तौलाले जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीको नाम रहेको कुरा सामान्य विषय भएको बताउनुभएको छ । सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले नेतृत्व लिएको हिसाबले नाम आए पनि ठूलो विषय नरहेको र उद्घाटन गरिएका ठाउँमा नेतृत्वको नाम आउनु स्वाभाविक भएको तर्क गर्नुभयो । नेकपा एमालेलाई बदनाम गराउन जनताको आँखामा छारो हाल्ने काम भइरहेको उहाँको आरोप छ । ‘पशुपतिको जलहरीमा कतै बदमासी भएको छ भने दोषीलाई कारबाही गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘पूर्वप्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वसंस्कृतिमन्त्रीको नाम लेखियो भन्ने कुरा पूर्वाग्रहपूर्ण हो । उहाँको सरकारको पालामा नेतृत्व रहेका बेलामा काम भएको कुरामा सामान्य कुरा हो ।’

कति सुन हराएको हो र कति बाँकी छ ? सदनमा सत्यतथ्य जानकारी गराउनुपर्छ : पौडेल
नेकपा माओवादी केन्द्रका सचिव तथा सांसद देवेन्द्र पौडेलले पशुपतिको जलहरी निर्माणका क्रममा हराएको सुनबारे संसद्लाई जानकारी दिन माग गर्नुभएको छ । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उहाँले जलहरीबारे सत्यतथ्य संसद्लाई जानकारी गराउन माग गर्नुभयो । कति सुन हराएको हो र कति सुन बाँकी छ यसबारे सदनमा जानकारी गराउनुपर्ने उहाँको भनाइ थियो । ‘पशुपतिनाथ मन्दिर परिसरको गर्भगृहमा रहेको जलहरीबारे सदनमा निकै चर्चा भयो,’ उहाँले भन्नुभयो, ‘कति सुन हराएको हो ? कति सुन बाँकी छ ? के स्थिति हो ? सदनमा सत्यतथ्य जानकारी गराउन सम्बन्धित निकायलाई अनुरोध गर्न चाहन्छु ।’

जलहरी प्रकरणबारे सदनले समिति बनाएर पूर्ण र निष्पक्ष छानविन हुने स्थिति निर्माण होस् : पौडेल
नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेलले पशुपतिमा रहेको सुनको जलहरीको विषय छानविनका लागि संसदीय समिति बनाउन माग गर्नुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा जलहरी प्रकरणबारे ढाकछोप गर्न खोजिएको भन्दै संसदीय छानविनको माग गर्नुभयो । महालेखाको प्रतिवेदनमा प्रष्ट आएको विषयलाई अख्तियारले ढिलो गरी छानविन गरेको उहाँको भनाइ थियो । ‘केही दिन अगाडि सदनमा एकजना माननीयज्यूले पशुपतिनाथको मन्दिरमा राखिएको जलहरी सम्बन्धमा कुरा उठाउँदा त्यसलाई रेकर्डबाट हटाइयो । त्यसले संसद्ले त्यस विषयलाई ढाकछोप गर्न खोजेको सन्देश गएको छ,’ उहाँले भन्नुभयो, ‘उजुर परेको दुई वर्षपछि बल्ल अख्तियारले छानविन गरेको छ । अख्तियारले यति ढिलो गरी छानविन किन गर्‍यो ? यो गम्भीर विषय छानविनका निम्ति सदनले एउटा समिति बनाओस् । पूर्ण र निष्पक्ष छानविन हुने स्थिति निर्माण होस् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?