कृषि रूपान्तरण गर्न रैथाने बिउ बचाऔं, ९० प्रतिशतमा हाइब्रिड

केशव आचार्य
Read Time = 13 mins

नेपालले सन् १९९० अघिसम्म प्रशस्त खाद्यान्न उत्पादन गरी निर्यात गर्दै आइरहेको थियो । अधिकांश नेपालीहरूले कृषि पेशा अँगालेका थिए । पेशा जीविको पार्जनको माध्यम त छँदै थियो त्यसको अलवा यसैबाट कृषकहरूले आर्थिक गर्जाे टारिरहेका थिए । जिडिपीमा सबैभन्दा ठूलो अंश कृषिको थियो । कृषकहरू उत्पादन गर्दथे त्यसैलाई जोगाएर बिउको रूपमा प्रयोग गर्थे । बालीमा गाई वस्तुको गोबर, स्याउला जस्ता वस्तुहरूलाई मलको रूपमा प्रयोग गर्दथे । बाली प्राकृतिक रूपमा आफ्नो पूरा समय लिएर पाक्दथ्यो । अप्राकृतिक उत्पादनमा मानिसहरू विश्वास गर्दैनथे, गैरउपायबाट अधिक कमाउने आकांक्षा मानिसहरूमा थिएन ।

विश्वमा बढ्दै गएको जनसंख्याको कारण विकसित देशहरूले कृषि उत्पादनलाई बढाउने उपायको खोजी गरे । सन् १९०० मा विश्वको जनसंख्या १ अर्ब ७० करोड थियो, सन् १९५० पछि जनसंख्या वृद्धिले तीव्रता लियो । फलस्वरूप उत्पादनलाई वृद्धि गर्न सन् १९२२ देखि विश्वमा युरिया मलको आविष्कार भयो । सन् १९५० देखि व्यावसायिक उत्पादन गरी विश्वमा फैलाउने काम गरियो । जसले उत्पादनलाई अप्राकृतिक रूपमा बढाइदियो । कृषकहरू ठूलो मात्राको उत्पादनमा रमाउन थाले । युरिया मलको प्रयोगमा तीव्रता दिइयो । सुरुका वर्षमा उत्पादनमा आएको वृद्धिले कृषकलाई हर्षित बनाउँदै लग्यो । उनीहरू हर्षित हुँदै युरिया (रासायनिक मल) को प्रयोगमा जोड दिँदैगए ।

रासायनिक मल (युरिया) को बढ्दो प्रयोगले माटोको प्राकृतिक उर्वरा शक्तिलाई ह्रास गराउँदै लग्यो । माटोमा हुनुपर्ने प्राकृतिक गुण हराउँदै गयो र रासायनिक मल प्रयोग नगरेसम्म उत्पादन नै नहुने अवस्था सिर्जना भयो । माटो बिग्रेर गयो । यसले पछिल्ला दिनमा हाइब्रिड जातका बिउको विकास गरायो र उत्पादनलाई छोटो समयमा अधिक बनाउने प्रविधि भित्र्यायो। कम्तीमा चार-पाँच महिना लगाएर पाक्ने बाली डेढ दुई महिनामै पाक्ने भयो । दुई घोगासम्म फल्ने मकैको बोटमा चार पाँच घोगा फल्ने भयो । बेमौसमी उत्पादन पनि फस्टाउँदै गयो । कृषकहरू अप्राकृतिक उत्पादनले दिएको प्रतिफलमा रमाउँदै गए । उत्पादन बढाउन रासायनिक मल, किटनाशक औषधि तथा सुईको प्रयोग गर्न थालियो । जसका कारण बालीको प्राकृतिक रैथाने बिउ नष्ट भयो ।

सुरुमा रैथाने बिउ कम फल्ने भनी हाइब्रिड जातका बिउ प्रयोग गरियो र पछिल्ला दिनमा बाली हाइब्रिड हुँदै जाँदा त्यसबाट बालीको प्राकृतिक बिज नष्ट भयो । अब रैथाने बिउबाट उत्पादन नहुने परिस्थिति सिर्जना भयो ।

सुरुमा रैथाने बिउ कम फल्ने भनी हाइब्रिड जातका बिउ प्रयोग गरियो र पछिल्ला दिनमा बाली हाइब्रिड हुँदै जाँदा त्यसबाट बालीको प्राकृतिक बिज नष्ट भयो । अब रैथाने बिउबाट उत्पादन नहुने परिस्थिति सृजना भयो । यसरी रैथाने बालीको बिउ हराउँदै जाँदा कृषकहरू हाइब्रिड जातको बिउ नै किन्न बाध्य बन्दै गए । हाइब्रिड जातका बिउ विदेशबाट आयात भइरहेको छ । कुनै समयमा विदेशबाट यस जातका बिउ आएन भने नेपालमा खेती गर्न नसकिने अवस्था आउन सक्ने देखिन्छ । खेती नै हुँदैन । खाद्यान्नमा नेपाल पूर्णतः अन्य मुलुकसँग निर्भर रहनुपर्दछ । यो प्रणालीले निरन्तरता पाइरहने र नियन्त्रणतर्फ नसोचिने हो भने मुलुकलाई ध्वस्त बनाउन सन् १९४५ मा हिरोसिमा र नागासाकीमा पड्काएको जस्तो एटम बम पड्काउनु पर्दैन ।

आजभोलि किसानहरू दशकौं अघिदेखि रैथाने जातका धान खेती गरेको सम्झिरहेका छन् । चार दशकअघिसम्म उनीहरूको खेतमा उत्पादन गरिने खाद्यान्न र तरकारी बाली रैथाने थिए । अहिले हाइब्रिड जातका बाली लगाउँदा कृषि उपजको कमाई केही बढ्ने गरेको देखिए पनि खानमा स्वस्थकर र पोषिलो हुने रैथाने खाद्यान्नको बिउ हराउँदा उनीहरू चिन्तित बनिरहेका छन् । त्यसबेला विषादी र रासायनिक मलको प्रयोगविना खेती हुने रैथानेबाली अहिले हराइसकेका छन् । अहिले रैथाने जातका धान, गहुँलगायत बालीको बिउ पाउनै मुस्किल भइसकेको छ । आधुनिक खेती प्रणालीको नाममा माटो र वातावरण बिगार्ने काम मात्र भइरहेको छ । कृषि प्रणालीमा सहजीकरण गर्न कृषियन्त्रको प्रयोगले काम गर्न सहज भएको छ तर उत्पादित खाद्यान्नले स्वास्थ्य कति प्रभावित बनिरहेको छ भन्ने कुरालाई ध्यान दिएको देखिँदैन ।

पछिल्लो तथ्यांक अनुसार मानिसले उपभोग गर्ने तरकारी र खाद्यान्नमध्ये हाइब्रिड जातको खाद्यान्नको उपभोग झण्डै ९० प्रतिशत छ । केबल १० प्रतिशतले मात्रै रैथाने साग, तरकारी र अन्य खाद्यान्न उपभोग गरिरहेका छन् । असन्तुलित रूपमा बालीमा विषादीको प्रयोग गरी उत्पादन हुने र विदेशबाट आयातीत खाद्यान्नको उपभोग मानव स्वास्थ्यका लागि जोखिम हुने सक्ने कृषि प्राविधिकको भनाइ छ । कृषि जैविक विविधतामा भइरहेको निरन्तरको ह्रासले गम्भीर समस्या निम्त्याउन सक्ने कृषि विज्ञहरूले बताइरहेका छन् । हाल उपभोगमा रहेको तरकारीका जातमा झन्डै ९० प्रतिशत उन्नत (वर्णशंकर) छन्, १० प्रतिशत मात्र रैथाने रहेको कृषि विज्ञहरूको भनाइ छ । नेपालमा रैथाने कृषि जैविक विविधता (बाली, घाँसे बाली, पशुपक्षी, जलीय किरा, सूक्ष्म जीवाणुजन्य अनुवांशिक स्रोत)मध्ये झण्डै ४० प्रतिशत लोप भइसकेको अनुमान गरिएको छ ।

कृषिप्रधान मुलुकका रूपमा चिनिएको नेपाल आज खाद्यान्नमा अन्य मुलुकमा निर्भर रहनुपर्ने बाध्यतामा छ । वैदेशिक रोजगारले गाउँ उजाडिँदै गएको छ । खेतबारी बाँझै छन् । शहरमा हुने गरेको बसाइँसराइले गाउँ रिक्तिँदै गयो ।

हिजोआज रैथाने बिउ जोगाउने विषयमा बहसपैरवी सुरु हुन थालेको पाइन्छ । सुदूरपश्चिममा कैलाली, कञ्चनपुरको पहिचानका रूपमा रहेको रैथाने जातको थारू आलु, डोटीको जोरायली बासमती धान, हंशराज बासमती धान, अनदी धानलगायतका रैथाने बालीको संरक्षण र प्रवद्र्धनजस्ता कृषि गतिविधि भइरहेका छन् । लोपोन्मुख घाँसेबाली, मत्स्य प्रजातिको संरक्षका साथै प्राकृतिक जलाशयमा स्थानीय जातका माछाको उपलब्धता र पहिचानका लागि मत्स्य जैविक विविधताको अध्ययन, खाद्य मेला एवं रैथाने खानाको प्रचारप्रसार, विविधीकरण र बजारीकरणका साथै प्रोत्साहनमूलक कार्य पनि गर्न लागिएको पाइन्छ ।

कृषि जैविक विधताको महत्व र यसको संरक्षणको आवश्यकताबारे प्रचारप्रसार गर्न र सरोकारवालाई रैथाने कृषि जैविक विविधताको संरक्षण र दिगो उपयोगमा सक्रिय रूपमा लाग्न उत्प्रेरित गर्ने गराउने कार्य हुन थालेको पाइन्छ । यसअन्तर्गत जैविक स्रोतको संरक्षणका लागि कृषि वृक्षरोपण, महत्वपूर्ण रैथाने जातलाई सूचीकृत गर्ने, रैथाने बाली, जातका बिउ तथा रैथाने एवं परम्परागत प्रविधि-सामग्रीको संकलन र प्रदर्शन, रैथाने पशुपक्षीका रूपमा रहेका अछामी नौमुठे गाई, खैला तथा लुलुगाई, लिमे तथा पारकोटे भैँसी, खरी तथा सिन्हाल बाख्राहरू, लामपुच्छे«, कागे, बारुवल तथा भ्याङ्लुङ भेडाहरू, प्वाँख उल्टे, घाँटी खुइले र साकिनी कुखुरा, जुम्ली घोडा, हुर्रा सुँगुरलगायतको संरक्षण र प्रवद्र्धनसम्बन्धी गतिविधि गरिने जनाइए पनि कार्यन्वयनले तीव्रता पाउन सकेको छैन ।

जैविक विविधतामा धनी नेपाल हावापानीको दृष्टिमा पनि विश्वमै नमुना देशको रूपमा चिनिन्छ । हिमाली, पहाडी र तराई यी तीनै स्थानमा पाइने हावापानीले नेपालको सुन्दरतामा थप महत्व राख्दछन् । उच्च हिमाली क्षेत्रमा पाइने जडिबुटी त नेपालका अनुकरणीय स्रोत नै हुन् । बासस्थान विनाश, आधुनिक खेती प्रणालीमा हुने गरेका कतिपय नकारात्मक अभ्यास र मानवसिर्जित विभिन्न कारणले कृषि जैविक विविधतालगायत समग्र जैविक विविधतामा ह्रास हुँदै गइरहेको छ । रैथाने कृषि जैविक विविधताको संरक्षण र दिगो उपयोगमा ध्यान पु¥याउन नसकेमा कृषि पर्यावरणीय प्रणालीमा नै नकारात्मक असर पर्न गई समग्र खाद्य एवं कृषि प्रणाली नै जोखिममा पर्न सक्ने कृषि जानकार बताउँछन् ।

कृषिप्रधान मुलुकका रूपमा चिनिएको नेपाल आज खाद्यान्नमा अन्य मुलुकमा निर्भर रहनुपर्ने बाध्यतामा छ । वैदेशिक रोजगारले गाउँ उजाडिँदै गएको छ । खेतबारी बाँझै छन् । शहरमा हुने गरेको बसाइँसराइले गाउँ रिक्तिँदै गयो । सीमित गाउँमै बसेका कृषकहरूले गरेको खेती बाँदरलगायत वन्यजन्तुले उठाउन नदिने समस्या ग्रामीण क्षेत्रमा बढ्दै गएको छ । ग्रामीण इलाका हराभरा हुने योजना नभएसम्म मानिसहरू गाउँ फर्कने अवस्था छैन । कृषि अनुदान नारामा मात्र सीमित छ, वास्तविक किसानले पाउँदैनन् । यस विषयलाई सरकारले यसै वर्षको बजेटमा सम्बोधन गर्न आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?