साफमा नेपालको सान्त्वना जित

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपालले दक्षिण एसियाली फुटबल(साफ) च्याम्पियनसिपमा सान्त्वना जित हात पारेको छ । भारतको बैंग्लोरमा जारी प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई एक-शून्यले पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको हो ।

नेपालका लागि परिवर्तित खेलाडी आशिष चौधरीले खेलको अन्त्यतिर निर्णायक गोल गर्नुभयो । साफको अघिल्लो संस्करणको उपविजेता नेपालले पहिलो दुई खेलमा भने लगातार हार बेहोरेको थियो । आमन्त्रित टोली कुवेतसँग तीन-एकको हार बेहोरेको नेपाल घरेलु टोली भारतसँग दुई-शून्यले पराजित भएको थियो ।

सुरुवाती दुवै खेल हार्दै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले लिगको अन्तिम खेलमा भने पाकिस्तानलाई पराजित गरेको हो । खेलको ८०औँ मिनेटमा आशिष चौधरीले नेपालका लागि एकमात्रै निर्णायक गोल गर्नुभएको हो । लाकेन लिम्बूले पेनाल्टी क्षेत्र ठीकबाहिर रहनुभएका आशिषलाई पास दिनुभएको थियो । बल खुट्टामा पर्नेबित्तिकै आशिषले प्रहार गरेको भलिलाई विपक्षी गोलरक्षकले डाइभ गरे पनि जोगाउन सक्नुभएन ।

त्यसअघि विमल घर्ती मगरले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार सिधै गोलरक्षक युसुफ बटको हातमा गएको थियो । ६८औँ मिनेटमा देवेन्द्र तामाङले बायाँ विंगबाट गरेको फ्रिकिक प्रहार गोलरक्षक बटको हातमा लाग्दै क्रसबारमा लागेर फर्किएको थियो । इन्जुरी समयमा लाकेन लिम्बू र नवयुग श्रेष्ठको ६ यार्ड बक्सभित्रबाट लगातार गरेको प्रहार गोलमा परिणत हुन नसकेपछि नेपालले थप गोल गर्न सकेन ।

साफमा पाकिस्तानविरुद्ध नेपालले २००८ पछि पहिलो जित हात पारेको हो । त्यसबेला नेपाल चार–एकले पराजित भएको थियो । त्यसपछि भएका दुई संस्करणमा यी दुई टोलीबीच एक-एकको बराबरीमा खेल सकिएको थियो । सन् २०१८ को साफ च्याम्पियनसिपमा भने पाकिस्तानलाई नेपालले दुई-एकले पराजित गरेको थियो । अघिल्लो संस्करणमा नेपाल उपविजेता बन्दा पाकिस्तान भने सहभागी थिएन ।

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले यस खेलमा नेपाली टोलीमा एक परिवर्तन गराउनुभएको थियो । भारतविरुद्ध चोट बोकेका फरवार्ड अञ्जन विष्टको स्थानमा मिडफिल्डर आवास लामिछानेलाई सुरुवातबाट नै खेलाउनुभएको थियो । आवासले राष्ट्रिय टोलीमा पहिलोपटक सुरुवाती रोजाइमा खेल्नुभएको हो ।

पाकिस्तानविरुद्ध नेपाली टोलीको गोलरक्षकमा कप्तान किरण चेम्जोङ, डिफेन्समा सनिश श्रेष्ठ, देवेन्द्र तामाङ, अनन्त तामाङ र रोहित चन्द रहनुभएको थियो । यस्तै, मिडफिल्डमा लाकेन लिम्बू र एरिक विष्टसँग आवासले खेल्नुभएको थियो । विमल घर्ती मगरलाई युवा विंगरद्वय आयुष घलान र मनिष डाँगीले साथ दिनुभएको थियो ।

यस समूहबाट भारत र कुवेत सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । समूहबाट नेपाल र पाकिस्तान भने बाहिरिसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?