सरकारको ६ महिने उपलब्धि

जनतामा थप विद्युत्को पहुँचदेखि आठ हजार ४७१ जनालाई शहीद घोषणासम्म

अनिल क्षेत्री
Read Time = 8 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ६ महिनाको उपलब्धि सार्वजनिक गरेको छ । सरकार गठनको ६ महिना पुगेको अवसरमा बिहीबार प्रधानमन्त्री कार्यालयले ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेको हो । २०७९ पुस ११ गते १६९ सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । पुस २८ गते २६८ जना सांसदले प्रचण्डलाई विश्वासको मत दिएका थिए । सरकारले जिम्मेवारी सम्हालेको ६ महिनामा नीति, कानुन तथा कार्यक्रमहरू कार्यान्वयनमा ल्याउनुका साथै संस्थागत तथा प्रक्रियागत सुधारका कार्यलाई उच्च प्राथमिकताका दिएको बताइएको छ । यस अवधिमा समावेशी, संघीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री प्रशासनको स्थापना, भ्रष्टाचार नियन्त्रण र राज्यको सबै तहमा सुशासनको प्रवद्र्धन सरकारले गरिरहेको बताइएको छ ।

प्रधानमन्त्रीको सचिवालयले बिहीबार सार्वजनिक गरेको ६ महिनाको उपलब्धि विवरणमा अनावश्यक भ्रमण रोक लगाउँदा सार्वजनिक खर्चमा मितव्ययीता कायम भएको उल्लेख गरेको छ । यस्तै, सरकारी कार्यसञ्चालन खर्चमा उल्लेख्य रूपमा कटौती गर्ने, सेवा करार दरबन्दी सिर्जना नगर्ने, अत्यावश्यक बाहेकका तालिम, गोष्ठी, सेमिनार लगायतका कार्यक्रमहरू स्थगित गर्ने निर्णयलाई प्रधानमन्त्री प्रचण्डको सचिवालयले ६ महिनाको उपलब्धिको रूपमा उल्लेख गरेको छ । प्रधानमन्त्री प्रचण्डले गठबन्धन सरकारले ६ महिनामा ९६ प्रतिशत जनतामा विद्युत्को पहुँच पु¥याएको उपलब्धि देखाउनुभएको छ ।

पुस १० मा सरकार बनेयताको सार्वजनिक गरिएको उपलब्धिमा भनिएको छ, ‘४०८ मेगावाट विद्युत् उत्पादन क्षमता वृद्धि भई हालसम्म जडित विद्युत् २६७८ मेगावाट पुगेको । विद्युत्मा पहुँच पुग्ने जनसंख्या ९३.५९ प्रतिशतबाट वृद्धि भई ९६ प्रतिशत पुगेको छ । नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको छ । फुकोट कर्णाली ४८० मेगावाट र तल्लो अरुण ६६९ मेगावाट निर्माण गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको । बुटवल-गोरखपुर प्रसारण लाइन (४०० केभी) को शिलान्यास कार्य सम्पन्न भएको छ ।’ नेपाल-बंगलादेशबीच ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न नेपाल, भारत तथा बंगलादेशबीच विद्युत् बिक्री सम्झौता हुने प्रक्रियालाई पनि उपलब्धिमा समेटिएको छ । कागजरहित सरकारको अवधारणा कार्यान्वयन गर्न एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा ६० निकाय आबद्ध भएको र हालसम्म २८ निकायमा उक्त प्रणाली सञ्चालनमा आएको, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु उपलब्धिको रूपमा व्याख्या गरिएको छ ।

प्रधानमन्त्रीको सचिवालयले बिहीबार सार्वजनिक गरेको ६ महिनाको उपलब्धि विवरणमा अयोग्य लडाकुलाई कार्यविधि तयार गरी प्रतिलडाकु दुई लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय भएको उल्लेख गर्दै भनिएको छ, ‘अनमिनको प्रतिवेदनमा नाम तथा विवरण समावेश भएका र नागरिकताअनुसार प्रमाणीकरण हुने अयोग्य लडाकुलाई कार्यविधि तयार गरी प्रतिलडाकु दुई लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय भएको छ । विभिन्न मितिमा सहिद घोषणा भएर नेपाल राजपत्रमा प्रकाशन हुन बाँकी रहेका आठ हजार ४७१ जना सहिदको नामावली नेपाल राजपत्रमा प्रकाशन गरिएको छ ।’ नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रपतिबाट प्रमाणीकरण भएर कार्यान्वयनमा आएको र रसुवागढी, हिल्सा कोदारीस्थित अध्यागमन कार्यालयहरू सुचारुलाई पनि सरकारले उपलब्धिको रूपमा उल्लेख गरेको छ ।

बालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार पाउनुपर्छ : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा हरेक बालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार सुनिश्चित हुनुपर्ने बताउनुभएको छ । कान्ति बाल अस्पतालले विश्व स्वास्थ्य संगठन र सेन्ट जुडे चिल्ड्रन्स रिसर्च हस्पिटलको सहकार्यका धुलिखेलमा बिहीबार आयोजना गरेको ‘नेशनल वर्कसप अन एसिलेरेटिङ चाइल्डहुड क्यान्सर इनिसिएटिभ’ बालबालिकामा हुने क्यान्सरसम्बन्धी दुई दिने कार्यशाला समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भन्नुभयो, ‘नेपालमा हरेक बालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार सुनिश्चित गर्नु हाम्रो सामूहिक दायित्व हो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफ्नो दायित्व पूरा गर्न पूर्ण रूपमा प्रतिबद्ध छ ।’ कार्यशालामा सहभागी स्वदेशी र विदेशी बालक्यान्सर रोग विज्ञहरूको सुझाव र सल्लाहअनुसार बालबालिकामा हुने क्यान्सरको उपचारका लागि सरकारले पहल गर्ने मन्त्री बस्नेतले प्रतिबद्धता व्यक्त गर्नुभयो । बालबालिकाको क्यान्सर उपचारमा संलग्न चिकित्सकहरूले गरिरहेको उपचार सेवाको प्रशंसा गर्दै मन्त्री बस्नेतले भविष्यका चुनौती सामना गर्ने गरी योजना बनाएर अगाडि बढाउन सुझाव पनि दिनुभयो । उहाँले क्यान्सरको संक्रमण देखिएका बालबालिका ठूलो संख्यामा उपचारमा नआउने तथ्यांकले देखाएकाले उनीहरूलाई उपचारमा ल्याउनुपर्ने र निको हुने दर बढाउने गरी काम गर्न विज्ञहरूलाई सुझाव दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?