काँग्रेसलाई भ्रष्टाचारको संरक्षकको रुपमा जनताले चिनेका छन् : नेता केसी

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली काँग्रेस पार्टीलाई जनताले भ्रष्टाचारको संरक्षकका रुपमा चिनेका बताउनुभएको छ ।

शुक्रवार नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले काँग्रेसलाई जनताले भ्रष्टाचारको संरक्षकको रुपमा चिनेका बताउनुभएको हो ।

उहाँले कांग्रेसलाई जनताले विकृति र मनपरितन्त्रको संवाहकको रुपमा पनि चिनेका बताउनु भयो । उहाँले जनताहरु निराश भएर विकल्प खोजिरहेका भन्दै कांग्रेसको अहिलेको जस्तै नेतृत्व र बिचार लिएर अगाडी बढेमा भविष्य चुनौतिपूर्ण हुने बताउनु भयो ।

उहाँले भन्नुभयो - ‘लाज नमानी भन्नुपर्दा अहिले हामीलाई यथास्थितिको प्रतिनिधिको रुपमा जनताले चिनेका छन् । भ्रष्टाचारको संरक्षकको रुपमा जनताले चिनेका छन् । विकृति र मनपरीतन्त्रको संवाहकका रुपमा हामीलाई चिनेका छन् । त्यसले गर्दा जनतामा निराशाको स्थिति र अरु के विकल्प छ भनेर खोजीरहेका छन् । जनता विकल्प खोज्छन् । कसैलाई कुरेर बस्दैनन् । हामी अहिलेजस्तै नीति, अहिलेजस्तै नेतृत्व, अहिलेजस्तै विचार र अहिलेजस्तै बासी बानि, बासि प्रवृत्ति लिएर अगाडी बढ्यौँ भने आउने परिस्थिति काँग्रेसको निम्ति अत्यन्त चुनौतिपूर्ण हुन्छ । त्यो लोकतन्त्रको निम्ति पनि चुनौतिपूर्ण हुन्छ ।’

नेता केसीले काँग्रेस भित्र वैचारिक पुर्नजागरणको नयाँ क्रान्ति शुरु गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले आफुहरुले नयाँ विचार र दृष्टिकोणसहित सुध्रियौँ भन्ने सन्देश जनतालाई दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो- ‘नेपाली काँग्रेसभित्र वैचारिक पुनःजागरणको एउटा नयाँ क्रान्ति शुरु गर्नुपर्ने आवश्यकता छ । नत्रभने हामी गम्भिर चुनौतिको बेलामा छौँ । पार्टी भित्र आएका चुनौति, पार्टीभित्र लागेका दोषारोपणहरु, यो समग्र रुपबाट एक ठाउँमा उभिएर नयाँ बिचार र दृष्टिकोणसहित हामी अब सुध्रियौँ है भनेर नेपाली जनतालाई भन्ने र हामीले जे गल्ती गरेका छौँ, यहाँनिर चाहीँ गल्ती भएको हो है अब हामी गल्ती गर्दैनौँ भनेर त्यो ढंगले जान सकेनौँ भने लोकतन्त्रलाई चुनौति छ । पार्टीलाई पनि चुनौति छ ।’

उहाँले राष्ट्र र लोकतन्त्रलाई गति दिनको निम्ति पत्रकारिता क्षेत्रको ठूलो योगदान रहेको बताउनु भयो । उहाँले सत्य र न्यायको निम्ति लेख्न र सत्यको बाटोमा हिड्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?