प्रशासन कार्यालय धादिङमा नागरिकता लिनेको भिड बढ्यो

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 3 mins

धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङमा नागरिकता बनाउनेहरुको भीड लाग्न थालेको छ ।

नयाँ व्यवस्था अनुसार नागरिकता वितरण सुरु भएपछि जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेको भिड बढ्न थालेको हो । नागरिकता सम्बन्धी नयाँ ऐन लागू भएपछि जन्मसिद्ध नेपालीका छोराछोरीले नागरिकता लिन थालेका छन् । गएको बिहीवार सर्वोच्च अदालतले नागरिकता संशोधन ऐन कार्यान्वयन गर्ने बाटो खुला गरिदिएपछि नयाँ व्यवस्था अनुसार नागरिकता दिन थालिएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिनुभयो ।

अहिले प्रशासन कार्यालय धादिङमा नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी र पासपोट बनाउने आउनेहरुको संख्या पहिले भन्दा १० प्रतिशतले बृद्धि भएको गैरेले बताउनुभयो । नागरिकताको विषयमा दामो समयदेखि विवादमा रहेको थियो । संशोधित नागरिकता ऐनअनुसार २०६३ मा जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्नसक्ने वर्तमान कानुनले व्यवस्था गरेको छ । यसै आधारमा जन्मसिद्ध नागरिकता लिएका नागरिकका सन्तानलाई जिल्ला प्रशासन कार्यालयमा वंशजको आधारमा नागरिकता वितरण सुरु गरिएको छ । जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण सुरु गरिएको हो । नयाँ ऐन र गृह मन्त्रालयको परिपत्रअनुसार नागरिकता वितरण भइरहेको नवलपरासी पश्चिममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताउनुभएको छ । उहाँ अनुसार भिड बढेपछि अनलाइनमार्फत् टोकन प्रणाली लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरूले १४ किसिमका कागजात पु¥याएपछि मात्रै जन्मको आधारमा नागरिकता दिनेछन् ।

अनुसूची–१ अनुसारको सिफारिस, बाबु र आमाको सक्कल नागरिकता प्रमाणपत्र, अनलाइन दर्ता भएको सक्कल जन्मदर्ता प्रमाणपत्र, अध्ययन गरेको भए शैक्षिक प्रमाणपत्र, जन्मस्थान र नाता खुल्ने किटानी सिफारिस, स्थायी बसोबासको निस्सा, २०६३ को नाबालक दर्ता गरेको भए त्यसको निस्सा, बसाइँसराइ भएको हकमा बसाइँसराइको दर्ता प्रमाणपत्र, आवश्यकता अनुसार वडाको सर्जमिन मुचुल्का, बाबु र आमाको विवाह दर्ता र बाबुआमा कसैको वा दुवैको ज्यान गएको भए मृत्यु दर्ता प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?