कोशी सरकारको नेतृत्वमा सहमति खोज्न केन्द्रमा सत्ता गठबन्धनको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । कोशी प्रदेश सरकार गठनको विषयमा निर्णय लिन सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । आज दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका रहेका दलहरुको शीर्ष नेताबीच छलफल हुन लागेको हो ।

एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि कोशी प्रदेश सरकार गत शुक्रबार ढलेको थियो ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठनका लागि आह्वान गरिसक्नुभएको छ। उहाँले आइतबार नयाँ सरकार गठनका लागि पाँच दिनको समय दिनुभएको हो ।

कोशी प्रदेशमा माओवादी, कांग्रेस कुन दलले सरकारको नेतृत्व गर्ने भनेर निर्णय पनि हुन सकेको छैन । कांग्रेस नेता एवं कोशी प्रदेश सभा सदस्य भुपेन्द्र राईले कांग्रेस एमालेबीच आलोपालो सरकार सञ्चालनको विकल्प नरहेको र यसै अनुसार आफूहरु अगाडि बढ्ने बताउनु भएको छ ।

गत पुस २४ गते मुख्यमन्त्री बनेका नेकपा एमालेका संसदीय दलका नेता कार्कीले प्रदेश सभा बैठकमा शुक्रबार विश्वासको मत नपाएपछि कोशीमा नयाँ सरकारको प्रक्रिया सुरु भएको हो ।

कोशी प्रदेशमा एमाले ठूलो दलको हैसियतले फेरि पनि सरकार प्रक्रियामा दाबी गर्ने पक्षमा रहेको बताइएको छ । शुक्रबार एमाले नेता हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त हुनु भएको थियो । कूल ९३ सदस्यीय प्रदेश सभामा सत्ता गठबन्धनमा रहेका दलहरुको ४७ मत रहेको छ भने विपक्षी दल नेकपा एमाले र राप्रपामा ४६ मत रहेको छ ।

यसैबीच नेपाली कांग्रेसले कोशी प्रदेशको मुख्यमन्त्रीमा प्रदेश सभापति उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको छ भने यस अघि सरकारको नेतृत्व गरेको एमालेले भने सहमतिय सरकार गठनका लागि पहिलो आफ्नो दलले मुख्यमन्त्री पाउनु पर्ने दाबी गर्दै आएको छ ।
कांग्रेस–माओवादी गठबन्धन सके राप्रपालाई समेटेर जाने, नत्र सभामुखको समेत हस्ताक्षर प्रयोग गरेर बहुमत पु¥याउने दाउमा छ । तर, एमाले भने बहुमत पुग्न नदिने र कांग्रेस–माओवादी गठबन्धनको मात्र सरकार बन्ने भएमा सभामुख बाबुराम गौतमको राजीनामा पहिलो सर्त अघि सार्ने देखिन्छ । नयाँ सरकार गठनका लागि दाबी गर्दा सभामुखको हस्ताक्षर प्रयोग गर्न नमिल्ने एमाले भन्दै आएको छ ।

यता राप्रपाको सहयोगको आश गरेको गठबन्धन भने राप्रपाले निर्णय नगरिदिँदा अलमलमा देखिन्छ । राप्रपाले भने आफूले मुख्यमन्त्री पाए मात्र कांग्रेस–माओवादी गठबन्धनमा आउने बताइरहेको छ ।

कोशीमा दलहरुबीच सहमति जुट्न नसकेपछि केन्द्रमा सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा जुट्न लागेका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?