किसानको ऊर्जा बन्दै मूलपानी सामुदायिक वन

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 5 mins

नवलपरासी । बिहान उठ्यो गोठमा गाईभैंसीको स्याहारसुसार गर्‍यो, दुध दोहृयो, बिक्री गर्‍यो, दिनभर गोठमै व्यस्त । साँझ पुनः दूध दोहृयो बिक्री ग¥यो । घरमा रहेका दुई भाइ छोरा, श्रीमती अनि आफैं खटेर काम गर्‍यो । यो कुनै एक-दुई दिन वा महिना दिनका लागि बनाइएको कार्यतालिका होइन, आर्थिक उपार्जनका लागि झण्डै ११ वर्ष साउदीमा ड्राइभिङ पेशा गर्नुभएका सुनवल ४ का झकबहादुर गुरुङको विगत नौ वर्षदेखिको दैनिकी बनेको छ, भैंसीसँगै रमाउनु र कमाउनु ।

झकबहादुरले भैंसी फर्म सञ्चालनका लागि २२ कठ्ठा जग्गा भाडामा लिनुभएको छ । गोठमा अहिले पाडापाडीबाहेक २२ वटा भैंसी छन् । भंैसीका लागि आवश्यक घाँसका लागि बहुवर्षीय र सिजनल घाँस खेती पनि गर्नुभएको छ । घाँसकै कारण दानाको लागतसमेत घटेको उहाँ बताउनुहुन्छ । फर्मबाट दैनिक ६५ लिटर दूध उत्पादन हुने गरेकोमा बिक्रीका लागि भने कुनै समस्या छैन । दूध स्थानीयस्तरमै खपत हुने गरेको छ । घरकै सदस्य सबै मिलेर काम गर्ने भएकाले मासिकरूपमा दुई लाख हाराहारीमा आम्दानी हुने गरेको गुरुङ बताउनुहुन्छ ।
सुनवल नगरपालिकाको कार्यालयदेखि करिब एक किलोमिटर पश्चिम रमवापुरमा उहाँको फर्म रहेको छ । तर, कृषि र पशुपालनका क्षेत्रमा लाखौं बजेट छुट्याउने नगरपालिकाले झकबहादुरजस्ता किसान चिन्न सकेको छैन । उहाँ भन्नुुहुन्छ, ‘दूध उत्पादनको क्षेत्रमा काम गर्ने किसानलाई विभिन्न अनुदान आउँछ भनेको त सुनेको छु तर अहिलेसम्म अनुदान वा कुनै सहयोगको अनुभूति गर्न भने पाएको छैन ।

वास्तविक किसानले अनुदान नपाउने तर नेताका आसेपासे र आफन्तले मात्र अनुदान पाउँछन् ।’ पालिकाले अनुदान वा सहयोग उपलब्ध नगराए पनि उहाँले गरेको पेशालाई सम्मान गर्दै आफंै उपभोक्ता रहेको मूलपानी सामुदायिक वन उपभोक्ता समूह सुनवल ४ ले सहयोग उपलब्ध गराएपछि गुरुङ खुसी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सरकारले नहेरे पनि मूलपानी सामुदायिक वनले सहयोग गरेको छ, जसले गर्दा कृषि कर्ममा रम्न थप ऊर्जा मिलेको छ ।’

गुरुङलाई गोठ सुधार गर्न वनले एक लाख ५० हजार रुपैयाँ सहयोग गरेको सामुदायिक वनका अध्यक्ष यज्ञप्रसाद पाण्डे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामीले गरिबी निवारणमा २० लाख रुपैयाँ छुट्याएका छौंँ । उपभोक्ताबीच व्यापक छलफल गरी गोठ सुधार, बाख्राका पाठी वितरण र नगदेबाली प्रोत्साहन क्षेत्रमा सहयोग गर्दै आएका छौँ । गोठमा लोभलाग्दा भैंसीहरू झकबहादुर र उनकी श्रीमती डिलाकुमारीको मिहिनेत साँच्चै सराहनीय छ । हामी हेर्न गएका बेला पानी परिरहेकाले गोठको छानो चुहिएर भैंसीहरू भिजिरहेको देख्यौँ । झकबहादुरले केही भन्नुभएको थिएन तर हामीले तत्कालै गोठ सुधारअन्तर्गत छानाका लागि एक लाख ५० हजार सहयोग उपलब्ध गराउने निर्णय गर्‍यौँ ।’

वनले उपलब्ध गराएको सहयोगको सदुपयोग गरी प्रभावकारी देखिएमा आगामी वर्ष पनि सहयोगलाई निरन्तरता दिइने अध्यक्ष पाण्डे बताउनुहुन्छ । सामुदायिक वनले दुईजना उपभोक्तालाई गोठ सुधार, ५१ जनालाई बाख्राका पाठी र २१ परिवारलाई नगदेबालीका लागि सहयोग उपलब्ध गराएको छ । अधिकांश सामुदायिक वन वन जंगलको संरक्षण र वन पैदावारको आपूर्ति क्षेत्रमा मात्र सीमित भएर काम गरिरहँदा मूलपानी सामुदायिक वनले भने फरक तरिकाले काम गरिरहेको छ । सामुदायिक वनमा लुम्बिनी प्रदेश सरकारले अघि सारेको वन सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रम लागू गर्ने पश्चिम नवलपरासीको पहिलो वन हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?