टोकियोमा विष्फोट, चारजना घाइते

Read Time = 2 mins

टोकियो । जापानको राजधानी टोकियोको शिम्बाशीनजिकै सोमबार दिउँसो भएको विष्फोटमा परी चारजना घाइते भएका छन् । स्थानीय प्रहरी विभागका अनुसार स्थानीय समयानुसार अपराहृन ३ः१५ बजे जेआर शिम्बाशी स्टेसनबाट करिब ३०० मिटरको दूरीमा रहेको आठतले भवनमा विष्फोटपछि आगलागी भएको थियो ।

टोकियो नगर प्रहरी विभागका अनुसार विष्फोटमा परी चारजना सामान्य घाइते भएका छन्, जसमध्ये दुईजना पैदल यात्री र दुईजना रेष्टुरेन्टका कर्मचारी रहेका छन् । विष्फोट हुँदा घटनास्थलबाट निकै टाढासम्म विष्फोटको आवाज सुनिएको र त्यसपछि भवनको दोस्रो तल्लाको एउटा कोठाबाट धेरै टुक्राहरू उडिरहेको देखिएको थियो ।

आगो तीव्र गतिमा फैलनुअघि ग्यासको हल्का गन्धसँगै कोठामा धुवाँको मुस्लो देखिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । घटनामा घाइते भएका व्यक्तिहरूको कपाल र लुगाहरू आंशिक रूपमा जलेका छन् । अग्नि नियन्त्रक विभागका अनुसार भवनको दोस्रो र तेस्रो तल्ला पूर्णरूपमा जलेको छ भने आगो निभाउन करिब ३१ वटा दमकल पठाइएको थियो ।

घटनास्थल टोकियोको प्रमुख इन्टरचेन्ज रेलवे स्टेशनहरूमध्ये एक र गिञ्जा किनमेल क्षेत्रबाट केवल १० मिनेटको पैदल दूरीमा धेरै कार्यालय, रेष्टुरेन्ट र आवासीयक्षेत्र रहेको शिम्बाशी स्टेशनको ३०० मिटर पश्चिममा पर्छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?