आयरल्याण्डसँग अन्तिम ओभरमा नेपाल पराजित

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । आइसिसी विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि भएको खेलमा नेपाल टेस्ट टोली आयरल्याण्डसँग दुई विकेटले पराजित भएको छ । योसँगै १० टोली सहभागी प्रतियोगितामा आठौँ स्थानमा रहँदै नेपालले विश्वकप छनोटको यात्रा अन्त्य गरेको छ ।
जितका लागि २ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्याण्डले खेलको चार बल बाँकी रहँदा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

आयरल्याण्डलाई जितका लागि अन्तिम ६ बलमा ५ रन चाहिएको थियो । गुल्सन झाको पहिलो बलमा ग्यारेथी डेलानीले एक रन लिनुभयो । ब्यारी म्याकार्थीले दोस्रो बलमा थर्डमा चौका हान्दै विजयी रन जुटाउनुभयो । डेलानी १६ र म्याकार्थी ४ रनमा नट आउट रहनुभयो ।

त्यसअघि आयरल्याण्डका ओपनर एन्डी म्याकब्रिनले १७ तथा पाउल स्ट्रलिङले १५ रन जोड्नुभयो । कप्तान एन्डी बेलबिर्नेलाई किशोर महतोले १ रनमै दीपेन्द्रसिंह ऐरीबाट क्याच गराउनुभयो । त्यसपछि हृयारी टेक्टरले भने ६० रनको अर्धशतकीय पारी खेल्दै आयरल्याण्डको पारी सम्हाल्नुभयो । उहाँले ७६ बलमा ४ चौका र २ छक्का प्रहार गर्नुभयो ।

यस्तै, विकेटकिपर लोर्कन टुकेरले २२ बलमा २ चौका र एक छक्कासहित २४ रन जोड्दा कार्टिस क्यापरले ६२ रनको अर्धशतकीय पारी खेल्नुभयो । ५९ बलमा उहाँले ८ चौका र एक छक्का प्रहार गर्नुभएको थियो । यस्तै, जजृ डकरेलले ३३, गेरार्थ डिल्नेले १५ र माकृ आदरेलले १८ रन जोड्नुभयो ।

नेपालका करण केसीले १० ओभरमा १ ओभर मेडन राख्दै ५८ रन खर्चेर ४ विकेट लिनुभयो । यस्तै, किशोर महतोले २ तथा गुल्सन झा र सन्दीप लामिछानेले १-१ विकेट लिनुभयो ।

त्यसअघि हरारेमा रहेको टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनाएको थियो । नेपालका लागि गुल्सन झाले ४२ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अविजित ५७ रनको अर्धशतकीय इनिङ खेल्नुभयो ।

यस्तै, ओपनर अर्जुन साउदले ८४ बलमा ३ चौका र २ छक्कासहित ४८ रन बनाउनुभयो । कुशल मल्लले ३८ बलमा ५ चौका र २ छक्काको सहयोगमा ४४ रन थप्नुभयो ।

आठौँ विकेटका सन्दीप लामिछाने र गुल्सन झाले ८० रनको साझेदारी गर्दै नेपाली इनिङ्स अघि बढाउनुभएको थियो । ओडिआईमा नेपालका लागि आठौँ नम्बरका लागि भएको यो सबैभन्दा ठूलो साझेदारी हो । यसअघि आठौँ विकेटका लागि दीपेन्द्र ऐरी र सन्दीपले आइतबार युएईविरुद्ध ७९ रनको साझेदारी गर्नुभएको थियो ।

सन्दीपले ३० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३२ रन बनाउनुभयो । यस्तै, कप्तान रोहित पौडेलले ३५ बलमा २९ तथा भीम सार्कीले २० रन बनाउनुभयो । आयरल्याण्डका लागि मार्क अडिर, ब्यारी म्याकार्थी र क्रिग योंगले समान २/२ तथा एन्डी म्याकवर्नी, कुर्टिस क्यामफेर र गारेथ डिलेनीले समान १/१ विकेट लिनुभयो ।

नेपालले टेस्ट राष्ट्र आयरल्याण्डसँग पहिलोपटक ओडिआई खेल खेलेको हो । नेपालले सातौँ स्थानका लागि भएको दोस्रो सेमिफाइनल खेलमा आइतबार युएईलाई हराउँदै आयरल्याण्डसँग भेट पक्का गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?