एमालेले संसदबाटै माग्यो प्रधानमन्त्रीको राजीनामा

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको स्वाभिमान माथि आघात पु¥याएको भन्दै राजीनामाको माग गरेको हो ।

प्रधामन्त्री दाहालले सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन भारत गएको भन्ने अभिव्यक्ति दिएपछि सो अभिव्यक्तिको बिरोधमा एमाले लगायतका प्रतिपक्ष दलहरुले संसद अवरोध गरेको छ ।

संसदमा बोल्दै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको अभिव्यक्तिले सिंगो नेपालको मन रोएको र स्वाभिमान गिरेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद बैठक अगाडी बढाउन नदिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यि विषयहरुको बारेमा प्रधानमन्त्रीले आज देशलाई के जवाफ दिनुहुन्छ ? देशले उहाँको त्यो अभिव्यक्ति बारे प्रश्न सोधिरहेको छ । मेचीदेखि महाकालीसम्म आज यो प्रश्न सोधिरहेको छ । आज मैले दुःखका साथ भन्नुपर्छ नेपाली जनतालाई स्वाभिमानी प्रधानमन्त्री चाहिएको हो । देशको हक, हीत र स्वाभिमानको रक्षा, टेबुलमा वार्ता गर्दाखेरी त्यसको पक्षमा अडान लिनसक्ने प्रधानमन्त्री चाहिएको हो । लेन्डुप दोर्जेको नेपाली संस्करण चाहिएको होइन । त्यसैले यो विषय क्लियर नभएसम्म प्रधानमन्त्रीको राजीनामा नआएसम्म यो संसद अब अगाडी बढ्न सक्दैन । देशले उहाँको राजीनामा खोजेको छ । म उहाँको राजीनामा माग्छु । हाम्रो दलको तर्फबाट उहाँको राजीनामाको माग गर्छ ।’

एमालेको अवरोधका कारण संसद बैठक आधि घण्टाको लागि स्थगित भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?