किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा डाक्नेश्वरीकी उपमेयर मीरा यादव पक्राउ

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 3 mins

कञ्चनरुप । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीरा यादव किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा पक्राउ परेकी छन् ।

बुधबार साँझ साढे ५ बजे नागरिकता सम्बन्धी कसुर मुद्दामा एमाले पूर्व सांसद सरिता गिरीसहित एमालेका जिल्लास्तरीय नेताहरू लिएर प्रहरी कार्यालय पुग्ना साथ उनी पक्राउ परेकी हुन् ।

सोही मुद्दामा पुर्जी जारी भएका उपमेयरका पति महेन्द्र यादव भने अझै फरार छन् । उपमेयर र उनका पति भारतीय नागरिक रहेको र किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप लगाउँदै डाकनेश्वरी नगरपालिकाका कृष्णकुमार यादवले उनीहरुमाथि जिल्ला प्रहरी कार्यालयमा आवश्यक कारबाहीका लागि उजुरी दिनुभएको थियो ।

मीरा एमालेका नेताकार्यकर्ता सहितको जथ्था लिएर आफू माथि लागेको आरोपको अनुसन्धान र न्यायिक प्रक्रियामा सहयोग पुर्याउनका लागि आफूसँग भएको नागरिकता प्रमाणपत्र लगायतका प्रमाणहरू सहित हाजिर हुन आएको बेला उनलाई प्रहरी नियन्त्रणमा लिएको हो ।

उच्च अदालत जनकपुर, राजविराज इजलासको परमादेशपछि प्रहरीले गत आइतबार उपमेयर यादव र उनका पति महेन्द्र यादव विरुद्ध नागरिकता सम्बन्धी कसुरमा मुद्दा दर्ता छ । मुद्दा दर्ता पछि जिल्ला अदालतबाट मंगलबार पक्राउ पूर्जी समेत जारी भएकाे थियो ।

उनीहरु भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी रहेको दाबी गर्दै डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ निवासी कृष्णकुमार यादवले मुद्दा दायर गर्नुभएको थियो ।

उच्च अदालत जनकपुर, राजविराज इजलासको परमादेश पछि प्रहरीले हालै यादव दम्पती विरुद्ध नागरिकता सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो ।

भारतीय नागरिक मीरा नेपालको नागरिकता लिई उपप्रमुख समेत बनेको र प्रहरी, प्रशासनले मुद्दा दर्ता गर्न नमानेको भन्दै कृष्णकुमारले यसअघि जिल्ला प्रशासन र प्रहरी कार्यालय धाउँदा समेत मुद्दा दर्ता गरिएको थिएन । यसपछि यादवले परमादेश आदेशको माग गर्दै उच्च अदालत जनकपुरको राजविराज इजलासमा रिट निवेदन दायर गराउनु भएको थियो ।

मीरा, महेन्द्रसहित उनीहरूका सन्तानले समेत झूटाे विवरण पेस गरेर नागरिकता लिएको दावी गरिएकाे छ । भारतको निर्वाचन नामावली २०२२ मा मीराको नाम रहेको दाबी गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?