डेढ वर्षमा बस्दै नेपाली कांग्रेस केन्द्रीय समिति बैठक

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आह्वान गर्नुभएको छ । बुधबार बिहान धुम्बाराहीस्थित निवासमा पार्टीका शीर्ष पदाधिकारीसँग छलफलपछि सभापति देउवाले २७ असारदेखि बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको हो । विधानअनुसार कम्तीमा हरेक दुई महिनामा एकपटक बस्नुपर्ने पार्टीको केन्द्रीय समिति बैठक एक वर्षदेखि बसेको छैन ।

सभापति देउवाले एक वर्षपछि पार्टीको केन्द्रीय समितिको बैठक बोलाउनुभएको हो । गत मंसिरमा भएको आमनिर्वाचनका एजेण्डा तय गर्नेदेखि टिकट वितरण र चुनावी परिणामको समीक्षासम्म पनि नगरेको कांग्रेसमा सभापति देउवाले समसामयिक विषयमा छलफल गर्न भन्दै पार्टीको बैठक बोलाउन पदाधिकारीमाझ सहमति जुटाउनुभएको हो ।

कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले सभापति देउवाले असार २७ गतेदेखि बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको जानकारी दिनुभयो । ‘चुनावपछि पार्टीको बैठक बसेको छैन । हामी निर्वाचन परिणामदेखि अहिलेसम्म राजनीतिक घटनाको समीक्षा गर्छौं । पार्टीको संगठन सुदृढीकरण र भ्रातृ संस्थाहरूको गठनका विषयमा पनि छलफल हुन्छ,’ उहाँले भन्नुभयो ।

गत वर्ष असार २७ देखि साउन २ गतेसम्म कांग्रेसको केन्द्रीय समिति बैठक बसेको थियो । केन्द्रीय समितिको आकार ठूलो भएपछि सभापति देउवाले केन्द्रीय समितिबाट छलफल गर्नेभन्दा कार्यसम्पादन समितिको बैठक बोलाएर निर्णय लिने गर्दै आउनुभएको छ । कांग्रेसको केन्द्रीय समिति हाल १५९ सदस्यीय छ ।

विधानले भने हरेक महिना कार्यसम्पादन समिति र हरेक दुई महिनामा केन्द्रीय समितिको बैठक राख्नुपर्ने भनेको छ । सभापति देउवाले विधानबमोजिम पार्टीको बैठकसमेत नबोलाएको भन्दै महामन्त्री गगन थापाले यसअघि सार्वजनिक रूपमै सभापति देउवाको विरोध गर्दै आउनुभएको छ भने केन्द्रीय सदस्य मधु आचार्यले केन्द्रीय समिति बैठक बोलाउन माग गर्दै केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्रसमेत दर्ता गराउनुभएको थियो ।

कांग्रेसको यसपटकको बैठकमा गत महाधिवेशनमा पार्टीको महामन्त्रीमा पराजित मीनेन्द्र रिजाल पनि सहभागी हुनुहुनेछ भने गत वर्ष साउनमा मनोनीत भएका १० महिला नेताहरूको समेत पहिलो बैठक हुनेछ । महामन्त्रीमा चुनाव हार्नुभएका रिजाललाई सभापति देउवाले गएको २२ वैैशाखमा केन्द्रीय सदस्य मनोनीत गर्नुभएको थियो । त्यस्तै, गत वर्ष साउनमा केन्द्रीय समितिमा एकतिहाइ महिला सहभागिता पु¥याउन एकैपटक १० जना महिला नेताहरू केन्द्रीय सदस्य मनोनीत हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?