युग सुहाउँदो प्रशासनिक मोडलमा सहकार्य गर्न तयार छौँ : मन्त्री मोदी

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले युग सुहाउँदो प्रशासनिक मोडल निर्माणका लागि विश्व समुदायसँग सहकार्य गर्न नेपाल तयार रहेको बताउनुभएको छ ।

कोरियाली ग्रामीण विकास केन्द्रले आज दक्षिण कोरियाको बुसानमा आयोजना गरेको ग्रामीण विकाससम्बन्धी विश्वका मन्त्रिस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री मोदीले युगअनुसार चल्ने प्रणाली नै आजको आवश्यकता भएको बताउनुभयो ।

सिङ्गो विश्व नै अहिले रुपान्तरणको चरणमा रहेकाले मन्त्री मोदीले युग सुहाउँदो प्रशासनिक मोडलको अनिवार्यतामा जोड दिनुभयो । आफूलाई गौतमबुद्ध र सगरमाथाको देशको मन्त्रीका रुपमा परिचित गराउनुभयो । “विश्व नै अहिले रुपान्तरणको चरणमा छ, आर्थिक भौतिक र मानव पुँजीबीचमा खाडल छ, सबैतिरका प्रशासन र सम्बन्ध थप जटिल हुँदै गएको अवस्था छ, यस्तो युग सुहाउँदो प्रशासनिक मोडलमा निर्माण अनिवार्य बनेको छ, यसका लागि सहकार्य गर्न नेपाल सरकार तत्पर छ”, उहाँले भन्नुभयो ।

मन्त्री मोदीले सङ्घीयताको सुदृढीकरण र सबलीकरणका लागि आफूहरु विश्व समुदायसँग हातेमालो गर्न तयार रहेको समेत बताउनुभयो । “नेपालमा अहिले सङ्घीयता कार्यान्वयनको चरणमा छ, तपाईंहरुको अनुभव हाम्रा लागि पाठ हुनसक्छ, हामी सङ्घीयताको सबलीकरण र सुदृढीकरणका लागि हातेमालो गर्न तयार छौँ”, मन्त्री मोदीले भन्नुभयो । उहाँले सम्मेलन नेपाल जस्ता देशका लागि प्रेरणाको स्रोत भएको भन्दै यसको विधिलाई पछ्याउँदै सङ्घीयता बलियो बनाउने यात्रामा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्बोधनका क्रममा मन्त्री मोदीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेपालले समावेशी, सहभागितामूलक लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गर्दै अभ्यासमा ल्याएको स्मरण गर्नुभयो । सम्मेलनमा विभिन्न ३३ देशका मन्त्रीसहित ४६ देशका प्रतिनिधि सहभागी छन् । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?