प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् अवरुद्ध गर्ने काम एमालेको बच्पना हो : महासचिव भुसाल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै संसद् अवरुद्ध गर्ने काम एमालेको बच्पना भएको टिप्पणी गर्नुभएको छ ।

शनिवार काठमाडौँमा केही सञ्चारमाध्यमहरूसँग कुरा गर्दै महासचिव भुसालले प्रधानमन्त्रीको अनौपचारिक भनाइलाई लिएर प्रधानमन्त्री पद सकाइदिन्छु भनेर लाग्नु मृगतृष्णा मात्र रहेको उहाँले बताउनु भयो ।

भुसालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे आफ्नो दलमा छलफल नभएको भएपनि प्रधानमन्त्रीले औपचारिक र विचार गरेर बोल्नुपर्ने आफ्नो धारणा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘हामीले प्रधानमन्त्रीको अभिव्यक्ति बारेमा धेरै छलफल गरेर निष्कर्षमा पुग्ने काम त गरेका छैनौँ । तर यो सबै हेर्दा मलाई के लाग्छ भने प्रधानमन्त्रीको भाषा अलि अनौपचारिक छ । म प्रधानमन्त्रीको भाषा एकदमै औपचारिक, एकदमै राजनीतिक एकदमै सोची बिचारेर हरेक शब्द त्यसरी बोल्नुपर्छ भन्ने अपेक्षा राख्छु । उहाँले यस्तो अनौपचारिक बचनबाट पछाडि राख्नुपर्छ ।’

गत असार १८ गते प्रीतम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक दिल्ली गएको बताएपछि विवादमा तानिनुभएका प्रधानमन्त्रीको बचाउ गर्दै उहाँले सोही आधारमा संसद् अवरोध गर्नु एमालेको बच्पना र केपी ओली सत्ताबाट झर्नुपरेको छटपटी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ओलीजी सत्ताबाट झर्नुपरेको छटपटीलाई यसमा सकेसम्म शक्तिका साथ प्रयोग गर्न खोजिराख्नु भएको छ । जुन अनुचित छ ।’
आगामी दिनमा प्रधानमन्त्रीले अनौपचारिक वचनमा ध्यान दिर्ने बताउँदै भुसालले प्रधानमन्त्री बोल्दाखेरि एकदमै औपचारिक भाषा बोल्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?