पाल्पामै सवारी चालक अनुमति-पत्रको परीक्षा

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 3 mins

पाल्पा । पाल्पामा पहिलो पटक सवारी चालक अनुमति पत्रको परीक्षा भएको छ । यातायात व्यवस्था सेवा कार्यालय तानसेन पाल्पाले दुई पाङ्ग्रे सवारी साधनको सवारी चालक अनुमति पत्रको परीक्षा लिन सुरु गरेको हो ।

यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले पहिलो पटक मोटरसाइकल तर्फ वर्ग (ए) र स्कुटरतर्फ वर्ग (के) को नयाँ लाइसेन्स जारी गर्न लिखित परीक्षा लिएको छ ।

पहिलो पटकको लिखित परीक्षामा २ सय जना परीक्षार्थीहरु सहभागी भएका छन् । परीक्षार्थीले लिखित परीक्षामा ६० अंक ल्याएमा पास हुने व्यवस्था रहेको छ । लिखित परीक्षामा पास भएका परिक्षार्थीहरुको सोमबार, मंगलबारबाट प्राटिक्कल (ट्रायल) परीक्षा शुरु हुने सेवा कार्यालय पाल्पाका प्रमुख केशव सुनारले बताउनुभयो ।

पाल्पाको यातायात सेवा कार्यालयमा सवारी चालक अनुमति पत्रको लागि देशभरका जुनसुकै स्थानका व्यक्तिहरुले मोबाईल कम्प्युटरबाट सजिलै आवेदन दिन सक्ने सुविधा रहेको कार्यालय प्रमुख सुनारले बताउनुुभयो । यातायात कार्यालय बुटवलमा मात्र अत्याधिक भिडभाड बढेपछी लुम्बिनी प्रदेश यातायात व्यवस्था विभागले पाल्पामा पनि दुई पाङ्ग्रे सवारी साधनको परीक्षाको लागि व्यबस्था मिलाएको हो ।
कार्यालय जेठ ४ गतेदेखि लाइसेन्स नविकरणको सेवा समेत दिइरहेको छ । जिल्लाबाटै लाइसेन्स दिने र नविकरणको सेवा सुरु भएसँगै सेवाग्राहीलाई सहज भएको छ । लाइसेन्सको सम्पूर्ण कामका लागि बुटवल, पोखरा जानुपर्ने बाध्यता हटेको भन्दै सवारी चालकहरु समेत उत्साहित भएका छन् ।

यातायात व्यवस्था सेवा कार्यालयले तानसेन नगरपालिका ७, ठाँटी क्षेत्रमा ट्रायल सेन्टर निर्माण गरेको छ । सेन्टरको २०७८ चैतमा लुम्बिनी प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्थामन्त्री पुर्मती ढेँगाले शिलान्यास गरेकी थिइन् । ट्रायल सेन्टरबाट पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँचीका बासिन्दा लाभान्वित हुने छन् ।

पाल्पामा २०७५ साल देखी यातायात व्यवस्था सेवा कार्यालय सञ्चालन भएपछि सवारी चालक अनुमतिपत्र नविकरण, सवारीसाधन नविकरण, सवारी साधनको जाँचपास, पञ्जिकरणको काम, पटके सेवा सञ्चालन हुँदै आएको थियो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?