सबै प्रदेशमा औपचारिक कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय

६-६ महिनामा अध्यक्ष परिवर्तन

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । चार दलको समाजवादी मोर्चाको पहिलो बैठकले सातै प्रदेशमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । शनिबार काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले आफ्नो सन्देश दिने गरी सबै प्रदेशको राजधानी सहरमा केही दिनभित्रै औपचारिक कार्यक्रम गर्ने निर्णय गरेको हो । मोर्चाको सन्देश देशभर पुर्‍याउने गरी सबै प्रदेशको राजधानी सहरहरूमा केही दिनभित्र औपचारिक कार्यक्रम गर्ने निर्णय गरिएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो । ‘समाजवादी मोर्चाका सन्देशहरू दिनका लागि हामीले सातवटै प्रदेशमा केही दिनभित्रमा मलाई लाग्छ, साउन महिना लाग्छ होला । सातवटै प्रदेशका राजधानीहरूमा कार्यक्रम गर्छौं । त्यो कार्यक्रम कुन-कुन मितिमा गर्छौं भन्ने कुरा आउँदो २७ गते घोषणा हुन्छ । २७ गते दोस्रो बैठक हाम्रो यहीँ हुन्छ ।’

त्यसैगरी, बैठकले मोर्चाको आचारसंहिता, नीति, कार्यक्रम निर्माणका लागि चार सदस्यीय कार्यदल पनि गठन गरेको छ । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा कार्यदलमा रहेको उपाध्यक्ष पाण्डेले बताउनुभयो । कार्यदलले तयार गरेको प्रतिवेदन आगामी असार २७ गते बस्ने मोर्चाको बैठकमा पेस हुने र पारित हुनेछ । कार्यदलले मोर्चा नीति, आचारसंहितालगायत कार्यक्रमहरू तय गर्ने पाण्डेको भनाइ छ । मोर्चाको अर्काे बैठकले अध्यक्षताका सन्दर्भमा मोडालिटी नबनाउँदासम्म नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बैठकको अध्यक्षता गर्ने उहाँले बताउनुभयो ।

उपाध्यक्ष पाण्डेका अनुसार मोर्चाको बैठकको अध्यक्षता ६/६ महिनामा परिवर्तन गर्ने सहमति पनि गरिएको छ । बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दसहितका नेताहरूको सहभागिता थियो । यसअघि मोर्चामा नेतृत्व आलोपालो गर्ने समझदारी भए पनि कति कति समयमा नेतृत्व गर्ने भन्ने तय भएको थिएन । चार दलले चार असारमा समाजवादी मोर्चा गठन गरेका थिए । समाजवादी मोर्चामा आबद्ध दलका प्रतिनिधिसभामा ५४ सांसद छन् । नेताहरूले मोर्चाको बैठक बस्न ढिलाइ भएको स्वीकार गर्दै त्यसलाई क्रियाशील बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रधानमन्त्रीको राजीनामा मागेर एमालेले गल्ती गर्‍यो ः पाण्डे
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले स्पष्टीकरणको मौकासमेत नदिई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेर गल्ती गरेको टिप्पणी गर्नुभएको छ । शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

एमालेले प्रधानमन्त्री दाहाललाई स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागेर फसेको उहाँको दाबी थियो । पाण्डेले सत्तारूढ गठबन्धनले प्रधानमन्त्री दाहालले राजीनामा दिन नपर्ने निर्णय लिएको स्मरण गराउँदै भन्नुभयो, ‘गठबन्धनमा सरकारका सामेल भएका सबै दलहरू बालुवाटारमा अस्ति नै बसेको बैठकमा उपस्थिति थियौँ । राजीनामा गर्नुपर्दैन । एक त एमालेले असंसदीय, गैरसंसदीय व्यवहार देखायो । प्रधानमन्त्रीको राजीनामाको प्रश्न थियो भने पनि उहाँहरूले बोल्नुपथ्र्यो,’ पाण्डेले भन्नुभयो, ‘संसद्मा माग गर्ने विषय हुन्थ्यो । र, राजीनामा लिएर आऊ भन्ने कुरा हुँदैन । संसद्मा उहाँहरूले कुरा उठाउन सक्नुहुन्थ्यो । के बोलेको हो तपाईंले भनेर प्रधानमन्त्रीसँग क्लियरिफिकेसन माग्न सकिन्थ्यो । तर, उहाँहरूले पहिल्यै राजीनामा माग्नुभयो । मलाई लाग्छ-एमाले पार्टी फस्यो, संसदीय मोर्चामा । यो गलत काम हो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?