कारमा ग्याँस सिलिण्डर पड्किँदा सात पाकिस्तानीको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

लाहौर । पाकिस्तानको पञ्जाब प्रान्तमा शनिबार एउटा ठूलो दुर्घटना भएको छ । पञ्जाबको सरगोधा जिल्लाको भलवल तहसीलमा रहेको सरकारी कलेज अफ कमर्स नजिकै एउटा गाडीको ग्यास सिलिन्डर विस्फोट भएको अधिकारीहरूले बताएका छन्।

यसबाट सात जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

दुर्घटना बारे उद्धार ११२२ को नियन्त्रण कक्षले जानकारी दिँदै सात जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । अन्य १४ जना घाइते भएका छन्, जसमध्ये सात जनाको अवस्था गम्भीर छ । सबैलाई भलवल तहसील मुख्यालय अस्पतालमा भर्ना गरिएको छ। मृतकमध्ये पाँच जनाको सनाखत हुन सकेको छैन ।

स्रोतका अनुसार शनिवार ८ः३५ बजे रेस्क्यू ११२२ लाई सिलिन्डर विस्फोट भएको फोन आएको थियो । नौ एम्बुलेन्स, तीन दमकल र एक उद्धार गाडी सात मिनेटमा घटनास्थलमा पठाइयो। गारा ब्रदर्स ट्रान्सपोर्टको हाइएस गाडीमा पेट्रोलियम ग्यास सिलिन्डरबाट ग्यास चुहिएर आगलागी भएको बताइएको छ । अस्पताल पुर्‍याइएको घाइतेहरूमा चार र १२ वर्षका दुई बालबालिका र ५० वर्षका दुई वृद्ध पुरुषहरू थिए।

गत महिना देशभर तीनवटा छुट्टाछुट्टै ग्यास सिलिण्डर विष्फोटमा परी तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?