अख्तियारद्वारा हुम्ला चंखेली गाउँपालिकाका कार्यालय प्रमखुसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्ला चंखेली गाउँपालिकाका कार्यालय प्रमखुसहित ८ जनालाई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।

अख्तियारले आज हुम्ला चंखेली गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ८ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको हो ।

उनीहरुले मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत चंखेली गाउँपालिका वडा नं २ स्थित खानेपानीको ट्याङ्की निर्माणको लागि आव ०७८।०७९ मा रकम हिनामिना गरेको अख्तियारले ठहर गरेको छ ।

उक्त कार्यक्रम अन्तर्गत वडा नं २ स्थित खानेपानीको ट्याङ्की निर्माणका लागि  उपभोक्ता समितिलाई कामको जिम्मा दिएकोमा आधा काम बाँकी हुँदै काम सकियो भनी फर्जी विल भरपाई पेश गरी सम्पूर्ण रकम निकासा लिई हिनामिना गरेको अख्तियारको आरोप छ ।

चंखेली गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, हुम्लाका इन्जिनियर मान बहादुर ऐडी र प्राविधिक सहायक (सवइन्जिनियर) गोभधन बोहोराले खानेपानी ट्याङ्की निर्माणसमेतका कार्यमा फिल्डमा नभए नगरेको कामलाई भए गरेको भनी नापी किताव, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई बढी मूल्याङ्‍कन एवं स्वीकृतिका लागि पेस गरी रु ६,४८,७८६।–भुक्तानीसमेत दिएर भ्रष्टाचार गरेकाे अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलिया बताउनु भएको छ ।

साथै, देवकोटावाडा खानेपानी ट्याङ्की निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी र कोषाध्यक्ष नन्दा देवी देवकोटा (धिताल) ले वास्तविक रुपमा भए गरेको कार्यभन्दा बढी काम भए गरेको भनी नापी किताव, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाउन लगाई बढी मूल्याङ्‍कन गरी बढी भुक्तानी लिने दिने गरी झुट्टा नापी किताव, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलसमेत तयार गराई रु ६,४८,७८६।–बढी भुक्तानी लिई दिई भ्रष्टाचार गरेको अख्तियारले ठहर गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?