येलेनको चीन भ्रमण कुनै घोषणाबिना समाप्त

Read Time = 6 mins

बेइजिङ । अमेरिकी अर्थमन्त्री जेनेट एल येलेनले आफ्नो बेइजिङ भ्रमण दुई देशबीच जारी तनाब सुधारका लागि कुनै प्रगति वा सम्झौताको घोषणा नगरी सम्पन्न गरेको द न्यूयोर्क टाइम्सले जनाएको छ । दुई दिनसम्म १० घण्टा लामो भेटघाटपछि येलेन आइतबार वासिंटन फर्किनुभएको हो ।

दुई देशबीचको आर्थिक तनाव वास्तवमै कम हुने सम्भावना कम रहेको प्रतिवेदनमा उल्लेख छ । येलेनको भ्रमणबाट थप वार्ताको अपेक्षा गरिए पनि उहाँले वा चिनियाँ अधिकारीले महत्वपूर्ण नीतिगत मुद्दाहरूमा आफ्नो अडान परिवर्तन गरेनन् । जसले गर्दा दुवै पक्षले व्यापार, लगानी र प्रविधिमा थप द्वन्द्वको सम्भावनाको सामना गर्नुपर्‍यो ।

युक्रेनमा युद्ध, अमेरिकी भूमिमाथि उडेको अमेरिकी सेनाले खसालेको चिनियाँ जासुसी बेलुन, दुई देशबीच व्यापारमा बढ्दो प्रतिबन्धको आदान प्रदानलगायतका कारण अमेरिका र चीनबीचको सम्बन्ध वर्षौंदेखि बिग्रँदै गएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

येलेनले आइतबार आफ्नो चीन भ्रमण समाप्त गर्दै अमेरिका फर्किनुभएको हो । अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनको भ्रमणको केही हप्तापछि उहाँको यो भ्रमण भएको हो ।

जुलाईमा जलवायु परिवर्तनका लागि राष्ट्रपतिका विशेष दूत जोन केरीले पनि विश्वव्यापी तापक्रम वृद्धिबारे वार्ता पुनः सुरु गर्न चीनको भ्रमण गर्ने हुनुभएको छ ।

भ्रमणका क्रममा बाइडेन प्रशासनले चीनको धेरै व्यापारिक अभ्यासका बारेमा गम्भीर चासो राखेको येलेनले स्पष्ट पार्नुभयो । चीनको सरकारी समाचार एजेन्सी सिन्हृवाले येलेनको भ्रमणबारे पत्रकार सम्मेलनको केही घण्टाअघि रिपोर्ट गरेको थियो र वार्तालाई रचनात्मक भन्दै प्रशंसा गरेको थियो भने चीनले विवादको प्रमुख क्षेत्रको रूपमा देखेको कुरालाई पनि दोहोर्‍याएको थियो ।

बाइडन प्रशासनले व्यापार प्रतिबन्धमार्फत अमेरिकी राष्ट्रिय सुरक्षाको रक्षामा जोड दिएकोमा चीनको निरन्तर विरोधलाई प्रतिवेदनमा जोड दिइएको छ । ‘राष्ट्रिय सुरक्षालाई सामान्यीकरण गर्नु सामान्य आर्थिक र व्यापारिक आदानप्रदानका लागि अनुकूल छैन भन्ने चीनको विश्वास छ’, सिन्हृवाले भनेको छ ।

‘चिनियाँ पक्षले अमेरिकी प्रतिबन्ध र चीनविरुद्ध प्रतिबन्धात्मक उपायहरूबारे चिन्ता व्यक्त गरेको छ । चिनियाँ अधिकारीले येलेनसँग आफ्नै चिन्ताबारे कुरा गरेका थिए । अहिले पनि लागु अवस्थामा रहेको ट्रम्प प्रशासनले चिनियाँ आयातमा लगाएको करबारे छलफल भएको अमेरिकी अर्थमन्त्रीले बताउनुभयो ।

येलेनले करलाई प्रभावहीन भन्दै आलोचना गरिरहनुभएको छ । उहाँले राष्ट्रपति बाइडेनले पदभार ग्रहण गरेदेखि नै प्रशासनको अडानलाई दोहोर्‍याउँदै करको बारेमा जारी आन्तरिक अध्ययनको निष्कर्षसम्म कुनै निर्णय नगरिने सुझाव दिनुभएको छ ।

चीनका अधिकारी र विज्ञहरूले पनि केही प्रविधिमा देशको पहुँचलाई सीमित गर्ने प्रशासनको प्रयासले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ र ‘क्वान्टम कम्प्युटिङ’ जस्ता उच्च क्षमताका उद्योगहरूको वृद्धिमा बाधा पुर्‍याउन सक्ने चिन्ता व्यक्त गरेका छन् ।

येलेनले भन्नुभएको छ, ‘मैले चिनियाँ पक्षसँग राष्ट्रपति बाइडेनले केही अति संकीर्ण उच्च प्रविधि क्षेत्रमा बाहृय लगानीमा सम्भावित नियन्त्रणको परीक्षण गरिरहेको कुरा स्पष्ट पारेको छु । यी प्रतिबन्धले दुई देशबीचको लगानीको वातावरणमा महत्वपूर्ण प्रभाव पार्ने कुरा हुनुहुँदैन ।’

सन् २०१५ देखि चीनले पनि विदेशी लगानीमा अझ व्यापक प्रतिबन्ध लगाएको छ । व्यवसाय र घरपरिवारलाई साइबर सुरक्षा, भारी उत्पादन र विमान उत्पादन जस्ता रणनीतिक उद्योगहरूमा विदेशमा लगानी गर्ने पक्षमा विदेशी रियल इस्टेटमा सट्टेबाजी नगर्न प्रोत्साहित गरेको छ । रासस/एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?