शिक्षाको मिलनविन्दु : हिजो र आज

Read Time = 20 mins

-तिलकप्रसाद लुइँटेल
हिजोको शिक्षालाई धर्मशास्त्र भनिन्छ र आजको शिक्षालाई विज्ञान भनिन्छ । त्यही नै हो कि होइन भनेर विचार गर्ने काम पाठकको हो । कसैले ‘कालो हि भगवान् प्रभु’ भन्यो भने त्यसमा हामीलाई ‘धर्मशास्त्र’ सुनाएको जस्तो लाग्छ र ‘टाइम इज द गड’ भनेको सुन्दा वास्तवमा ‘साइन्टिफिक’ कुरो लाग्छ । पहिलो भनाइको अर्थ प्रभावशाली समय नै भगवान् हो’ र दोस्रोको अर्थ समय भगवान् हो भन्ने देखिन्छ । शास्त्रमा ‘विद्ययाद्रमृतमश्नुते’ भन्छ र आजका शिक्षामा ‘एजुकेसन इज लाइट अफ लाइफ’ भनेको सुनिन्छ ।

हिजो ‘सत्यं वद धर्मं चर’ भनिन्थ्यो र आजको शिक्षामा पनि साँचो बोल्नुपर्छ भन्ने नै पाइन्छ, ढाँटेर अघि बढ भनेको देखिँदैन । बरू ढाँटछल गर्ने, ठगी तस्करी गर्ने, अन्याय अत्याचार गर्नेलाई हिजो पापधर्मको सीमारेखा कोरेर दुराचार गर्न दुरुत्साहित गरिन्थ्यो र आज दण्ड सजायका माध्यमबाट हतोत्साही गर्ने प्रयास देखिन्छ । यसरी हिजोको शिक्षा र आजको शिक्षाका बीचमा खोजी गर्दै जाँदा विचार, व्यवहार, सामाजिक कर्म, राष्ट्रिय धर्म जस्ता अनेकौँ पाटाबाट जोड्ने मिलनविन्दु पाइन्छन् र कुरो एउटै रहेछ भन्ने देखिन्छ ।

शिक्षा भनेको सिक्नु हो । चाहे हाम्रा पुर्खाले आर्जन गरेका व्याकरणले अनुशासनबोधक धातुबाट बनेको भन्दै गरोस् वा आधुनिक शिक्षाले जीवनको ज्योति भनेको होस् । यी दुवै भनाइ परम्पराका हुन् र यी हरफ लेख्तै गर्दा कृतज्ञतापूर्वक सापटी लिएर उल्लेख गरिएको मात्रै हो । तर, मान्छेलाई प्रकृतिले नै सिक्नका लागि बाध्य बनाएर स्वरूप दिएको (डिजाइन गरेको) छ । यति कुरो आफ्नै स्वतन्त्रता उपयोग गर्दै लेखियो, पत्याउने वा नपत्याउने स्वतन्त्रता पाठकको हो । आफ्ना मनको कुरो गर्न शास्त्रतिर घोत्लिनु पनि पर्दैन र नयाँ सिद्धान्तका ठेली पनि पल्टाउनु पर्दैन ।

जीवन बाँच्तै र भोग्दै आउँदा जे देखियो र जस्तो बुझियो, अनुभव गरियो उस्तै अघि सार्दा हुन्छ । विचार गरेर हेरौं । विज्ञानको आविष्कार पनि मानिसले नै गरेको हो । त्यसमा यस्तै जीवनको व्यवहार, देखाइ, भोगाइ र अनुभवका आधारमा परीक्षण गरेर जे प्राप्त भयो, त्यसलाई विज्ञान भनियो । कुनै समयको व्यवहार नै कालान्तरमा विज्ञानको आविष्कारका रूपमा रूपान्तरित भएका हुन् । अझ भनौं भने आज हामी प्रविधिलाई नै विज्ञान भन्दै गरेका पनि छौं ।

मान्छेले नसिके केही जान्दैन तर सिकेपछि मान्छेले जान्न केही बाँकी राख्तैन, सिकाइका बलमा ब्रहृमाण्ड नै खाइदिन्छ । अरू प्राणीको जस्तो जन्मने बित्तिकै न पानीमा पौरिन जान्दछ, न आकाशमा उड्न जान्दछ । तर, सिकेपछि प्रायः सबै क्षेत्रमा उसले राज गरेकै छ ।

प्रकृतिले नै मान्छेलाई सिक्न बाध्य बनाएको छ । शिक्षाकै विषयमा चर्चा गर्नुपरेकाले यस वाक्यलाई यहाँ फेरि दोहो¥याइयो । नसिकुन्जेल मान्छेले कुनै काम जान्दैन, साँच्चै भनूँ भने खान पनि पाउँदैन । त्यसैले मानिसका बीचमा शिक्षाका विषयमा संवाद, विवाद भइरहन्छ । हाम्रा समाजमा विशेषतः हिजोको शिक्षा र आजको शिक्षाका कुरा भइरहेको सुनिन्छ । ‘विगतका दिनमा आजको विज्ञान थिएन, ऋषिमुनिहरू वनमा बस्थे, कन्दमूल खान्थे, उनीहरू बाँचे र न उनकै गोत्रवंशका हामी आज छौं ।

त्यसो हुँदा मान्छेले नसिके खानै पाउँदैन भन्न मिल्दैन’ भन्ने तर्क पुरानो शिक्षाका पक्षधर विद्वान्हरूको सुन्न पाइन्छ । ‘नयाँ वैज्ञानिकहरू जन्मिए, नयाँ विज्ञानको आविष्कार तिनैले गरे, अनि जीवन सजिलो भयो, ऋषिमुनिहरूको पुरानो शिक्षामा कथा, श्लोकमात्रै छन्, पुराना शिक्षामा पूजाअर्चना सिकाइन्छ, धर्मकर्म सिकाइन्छ, त्यसमा विज्ञान केही पनि छैन’ भन्ने आधुनिक शिक्षाका पक्षमा बोल्नेलाई लाग्छ र उनीहरू पुरानालाई उपेक्षा गर्दै नयाँलाई मात्रै जोड दिन्छन् ।
यी पंक्तिहरू लेख्तै गर्दा दुवै थरीको कुरो सही हो भन्ने लाग्छ । पुराना ऋषिमुनिसँग आजकै स्वरूपका प्रविधि थिएनन् होला तर उनीहरूसँग उस समयका लागि निर्वाहमुखी प्रविधि पक्कै थिए । पुराना ग्रन्थहरूमा त्यस बेला प्रयोग गरिएका प्रविधिको चर्चा पाइन्छ । आफूभन्दा पछिल्लो पुस्तालाई शिक्षा तिनै पुर्खाले दिए अर्थात् सिकाए । तब नै गोत्रवंश चलेर हामी आज यहाँ छौं ।

कति लामो समय लगाएर उनीहरूले प्रविधिको खोज गर्न सिके भन्ने कुरा यकिन हुन नसक्दा हाम्रा पुर्खाले खोजेका शास्त्रमा ब्रहृमाले सृष्टि गरे भनेर साधन र प्रविधिसम्पन्न स्रष्टा ब्रहृमा, पालक विष्णु र विनाशक महेशको चर्चा ल्याए, यो विचार हाम्रो आस्थासँग गाँसियो, सम्मानपूर्वक ग्रहण भयो । यी शास्त्रभन्दा पुरानो र प्रामाणिक अरू कसैले दिन सकेन, दिएको पनि नाउँ र ठाउँ फरक परेको तर यससँग मिल्दोजुल्दो नै दिए । कुनै पनि समाजको प्राचीनतम् ग्रन्थलाई धर्मग्रन्थ भनेर सम्मान गरिन्छ र तिनमा आआफ्ना भाषाका नामले ईश्वरीय सत्तालाई नै सृष्टिको मूल मानिएको हुन्छ ।

आधुनिक शिक्षाले आवश्यकता के छ भन्ने खोज्दै छ र त्यसलाई पूरा गर्न कसरी सकिन्छ भनेर काम गर्दै छ । त्यसैले प्राचीन शिक्षा स्रोत र सम्भावना हो भने आधुनिक शिक्षा प्रयोगात्मक र सम्भावना हो ।

आजका समाजकाले यी पुराना कुरा कि त सुन्दै सुनेनन् सुने पनि चित्त बुझाउँदैनन् तर चित्त नबुझाए पनि अर्को भरोसिलो तर्क अघि ल्याउन सकेका छैनन् । तर पनि आजको शिक्षा अध्ययन गर्ने विद्वान्हरू प्रमाणित हुने गरी खोज्न र प्रामाणिक भएपछि मान्न तयार हुन्छन्, यो प्रशंसनीय पक्ष हो । यद्यपि तर्क, न्याय, मीमांसा आदि दर्शन पुराना शिक्षाबाट पनि विकास भएकै हुन् र प्रमाण खोज्ने काम पुराना शिक्षामा पनि भएकै थियो तर त्यसको विधि आजको भन्दा भिन्नै छ ।

विधि, प्रविधि र प्रस्तुति फरक भएपछि माथि नै भनियो नि, एउटै विन्दुमा सुरु हुने वा एकै विन्दुमा पुगेर टुङ्गिने कुरो पनि फरक देखिँदो रहेछ र कसैले कति भिन्नता छ, कहाँनेर गएर भिन्न हुन्छ भनी भिन्नताका आँखाले हेर्छ, भिन्नताकै शब्दले बयान गर्छ र आफूसँगै भएका मानिसलाई पनि के केमा कति कति भिन्न छ भनेर छुट्याउने आधार खोज्छ । त्यसैलाई कहाँनिर जोडिन सकिन्छ, कहाँ पुग्दा एकीकरण पाइन्छ, मिलनविन्दु कुन हो भनेर खोज्नेले त्यसलाई पनि फेला पार्छ । यसरी दुई किसिमको दृष्टिकोण विकास हुनमा सिकाइका विधिको भूमिका महत्वपूर्ण हुन्छ । जसरी सिक्यो उसरी नै बोल्छ ।
माथि भनेझैँ मान्छेले नसिके केही जान्दैन तर सिकेपछि मान्छेले जान्न केही बाँकी राख्तैन, सिकाइका बलमा ब्रहृमाण्ड नै खाइदिन्छ । अरु प्राणीको जस्तो जन्मने बित्तिकै न पानीमा पौरिन जान्दछ, न आकाशमा उड्न जान्दछ । तर, सिकेपछि प्रायः सबै क्षेत्रमा उसले राज गरेकै छ । शरीरका दृष्टिले यस्तो निर्धो मानिस केवल सीप र बुद्धिका भरमा नै जीवनलाई सहज बनाउन सक्षम हुँदै छ ।

यद्यपि जीवन सजिलो बनाउने काममा प्रकृतिमाथि अन्याय पनि गरेको छ तर पनि उसले केही गर्दै छ । माथि भनियो मानिसलाई प्रकृतिले सिक्नकै लागि डिजाइन गरेको छ वा बाध्य बनाएको छ । शारीरिक रूपमा निर्धो हुनु र प्रविधि नभई बाँच्न नसक्नुले मानिस सिक्न बाध्य छ, सिक्नु नै कर्म गर्नुको प्रारम्भ हो । सिकाइ आजीवन चल्छ भने कर्म पनि आजीवन चलिरहन्छ । यस कुरालाई प्राचीन शिक्षा र आधुनिक शिक्षा दुवैले आआफ्ना तरिकाले बताएकै छन् ।

प्राचीन शिक्षामा ज्येष्ठता र आधुनिक शिक्षामा श्रेष्ठता छ । प्राचीन शिक्षामा यज्ञ गर्ने चर्चा पाइन्छ । यज्ञ शब्दले ‘स्वाहा’ भन्दै चरु हवन गर्ने कुरा त जनाएकै छ, साथै सबै सत्कर्महरू यज्ञ हुन् भन्ने अर्थ लाग्छ । सत्कर्मभित्र परमात्मामा लगेर आत्मालाई जोड्ने अर्थ त छँदै छ, साथै संसारमा बाँचेका बेला आफूलाई पनि सुखशान्ति र अरुलाई पनि सहयोग हुने कर्म पनि पर्छन् । त्यसैले प्राचीन ग्रन्थमा ‘भुक्तिमुक्ति’ प्रदायक भन्ने चर्चा पाइन्छ । भुक्तिभित्र संसारमा सुखसुविधासँग बाँच्ने भन्ने अर्थ लाग्छ भने मुक्तिको अर्थ आत्माले मोक्ष प्राप्त गर्ने त छँदै छ, मानसिक तनावबाट मुक्त हुने अर्थलाई पनि अस्वीकार गर्न सकिँदैन ।

किनभने आत्मा–परमात्माको चिन्तन, दुःख–सुखको भाव, यो लोक–परलोक चेतना, बन्धन–मोक्षको अवस्था यी सबैको कुरो गर्दा पहिले मानिसको उपस्थिति हुनुपर्छ अनि प्रयोग र प्रयोजन देखिन आउँछ । यी सबै मानिसका लागि र मानिसकै ध्यान, चिन्तन, मनन्, अन्वेषणबाट प्राप्त भएका हुन् । आधुनिक शिक्षाले आविष्कार गरेका कुरामा पनि उसरी नै आगो र अन्य प्राकृतिक पदार्थ नै प्रयोग भएका छन् र चिन्तन, मनन, अन्वेषण परीक्षण भएकै छन् ।

प्राचीन शिक्षामा उदाहरणका लागि घोडाले रथ तानेको देखिन्थ्यो, आज घोडाले तान्ने गाडा पुराना भए, नयाँ प्रविधिले तिनलाई विस्थापन ग¥यो, प्रयोग कम हुँदै हराउनेतिर जाँदै छ । तर तिनमा रथमा लगाएका पांग्राकै स्वरूप परिमार्जित भएर गाडीका पांग्रा हुन्, टायर आदि त्यसमा भएको कच्चा सामग्री पनि प्रकृतिबाटै प्राप्त हुन् । आजका नयाँ साधन विकास गराउनमा पुरानो समयका साधनको योगदान छ । त्यसो भन्दैमा हामी नै समर्थ छौँ भन्नु चाहिँ ‘हाम्रा पुर्खाले घिउ खाए, नपत्याए मेरा हात सुँघ’ भनेको जस्तै हो । किनभने आज पुराना रथ होइन, हामीलाई काम गर्न आजकै गाडीले दिएको छ ।

हिजोको पुष्पक विमानका चर्चाले हाम्रो काम चल्दैन, राइट दाजुभाइको विमान नै चाहिएको छ, कंसले सुनेको आकाशवाणीले काम दिएन, मार्कोनीको रेडियो नै चाहियो, सञ्जयले हेरेको दिव्यदृष्टिले पुगेन, इन्टरनेट सुविधाले नै कामदिएको छ । चिन्तन दिने वा उस बेलाको प्रविधि प्रयोग गर्ने हाम्रा पुर्खाको महत्ता त स्वतः सिद्ध छ भुल्न र उपेक्षा गर्न कृतघ्नले मात्रै सक्छ तर आजका अन्वेषक र आविष्कर्ता पनि कम धन्यवादका पात्र होइनन् । यी केही सानातिना उदाहरणमात्रै हुन्, अरू पनि यसरी हेर्ने ठाउँ मनग्गे छन् ।

प्राचीन शिक्षा विधिप्रधान थियो भने आधुनिक शिक्षा प्रविधिप्रधान छ । माथि पनि रथको चर्चा भयो, त्यसरी नै प्राचीन शिक्षामा पनि राज्यको कुरा छ, नीतिनियमका कुराहरू छन् । प्रविधिसँगै मानिसले शारीरिक रूपमा पनि मिहिनेत गरेका कुराहरू देखिन्छन् । त्यसका दुई कारण हुन सक्छन्, पहिलो कुरो आजको जति प्रविधिको विकास गर्न नसकेर हुन सक्छ तर यसलाई उति भरोसिलो मान्न सकिँदैन । दोस्रो कुरो प्रविधिको निर्माणले मानिस पनि अल्छी हुन्छ र प्रकृतिको विनाश पनि हुन्छ, यी दुवै कुरालाई जोगाउनुपर्छ भन्ने हुन सक्छ । यस कुरालाई भरोसिलो किन मान्न सकिने धेरै आधार छन् ।

समय मिलेका बेला चर्चा गर्न सकिन्छ । कुन काम गर्दा कस्ता कस्ता नियम पालन गर्नुपर्छ भन्ने कुराका विधि मनग्गे बनाइएको हुनाले आज पनि ती काम गर्ने गरिन्छ तर विधि पु¥याउनका लागि मात्रै । त्यसैले पुरानो शिक्षा नतिजा निकाल्ने कर्मका रूपमा आउन सकेन र विधि पूरा गर्ने पूजाआजाका रूपमा स्थापित भयो, विधि पु¥याएर पूजा गरेपछि त्यतिमै चित्त बुझाउने र सन्तोष मान्ने गरिएको छ । आधुनिक शिक्षामा पनि विधि र नियम पक्कै छन् । ती विधि र नियमहरू वस्तुको मिश्रणमा के के र कति कति कसरी मिश्रण गर्दा नतिजा निस्कन्छ र मानिसलाई सुविधा हुन्छ भन्नेमा केन्द्रित हुन्छन् ।
यसमा चिन्तन नै मानिसलाई सजिलो होस् भनिएको भएपछि शारीरिक श्रम र समयको बचत हुने भयो । फलतः साधनले सुविधा दियो र श्रमशक्ति समाप्तप्रायः भयो । तर पनि आजका समाजको विकास र आवश्यकताले यस क्षेत्रमा काम गर्न अझै बाँकी छ । भन्न खोजेको कुरो के हो भने पुराना शास्त्रमा अझै पनि थप प्रविधि खोज्न सकिने सम्भावना छ । पुराना शिक्षामा प्रविधि आविष्कार गर्ने क्षमता कुनै बेला थियो भने पनि आज त्यो सुरक्षित रहेको छैन । आधुनिक शिक्षाले आवश्यकता के छ भन्ने खोज्दै छ र त्यसलाई पूरा गर्न कसरी सकिन्छ भनेर काम गर्दै छ । त्यसैले प्राचीन शिक्षा स्रोत र सम्भावना हो भने आधुनिक शिक्षा प्रयोगात्मक र सम्भावना हो ।

पुरानो शिक्षा र नयाँ शिक्षाको प्रयोजन एकै हो भन्ने कुरा माथिका गन्थनबाट अघि सार्ने काम अलिअलि भयो । अब दुई शिक्षाको मिलनविन्दु के त ? खोज्नुपर्ने यति नै हो । पहिलो कुरो मान्छेले सिकेर मात्रै जान्दछ, नसिके केही जान्दैन । सिक्ने तदारुकता मानिसमा हुन्छ । किनभने सिकेपछि जानिन्छ र जानेपछि सुख पाइन्छ भन्ने चेत छ, सबैको खोजी सुख नै हो । निर्धो शरीरको मान्छे, उसलाई सिक्न पनि र सिकाउन पनि साधन चाहिन्छ । ती सबैलाई संयोजन र मध्यस्थता गर्ने भाषाले हो । पुरानासँग पनि भाषा थियो नयाँसँग पनि भाषा छ ।

माथि नै भनियो, पुरानासँग पनि आफ्नै प्रविधि थियो नयाँसँग पनि आफ्नै प्रविधि छ । पुरानाले जागरुकता लिएर सिके सिकाए र नयाँले पनि उसरी नै सिकेपछि मात्रै सिकाउन सक्छन् । यसो हुँदा पुरानाले नयाँलाई सबै हाम्रो हो भन्नु अव्यावहारिक नै हुन्छ र नयाँले पुरानालाई यिनीहरूसँग केही थिएन भन्नु पनि युक्तिसंगत देखिँदैन । पुरानाको खोज र नयाँको सम्मान नै आजको मिलनविन्दु हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?