युभेन्ट्स र रोमा सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

टुरिन । इटालियन क्लब युभेन्ट्स र रोमा युइएफए युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । दोस्रो लेगमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग एक-एक गोलको बराबरीमा रोकिए पनि समग्रमा दुई-एकको जित निकाल्दै युभेन्ट्स अन्तिम चारमा पुग्यो ।

युभेन्ट्सका एड्रिएन राविओटले गोल गर्दा घरेलु टोली स्पोर्टिङका मार्कस इडवार्डले बराबरी गोल फर्काउनुभयो । खेलको नवौं मिनेटमा एड्रिएन राविओटको गोलबाट युभेन्ट्सले अग्रता लिएको थियो । २०औं मिनेटमा मार्कस इडवार्डले पेनाल्टीमार्फत बराबरी गोल फर्काउनुभयो ।

अर्काे खेलमा रोमाले डच क्लब फियोनुर्डलाई चार-एकले तथा समग्रमा चार-दुईले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भयो । दोस्रो लेगमा रोमाको फराकिलो जितमा लियोनार्दाे स्पिनाजोला, पाउलो डिबाला, स्टेफन अल सरावे र लोरेन्जो पेलिग्रेनीले गोल गर्नुभयो । फियोनुर्डका इगरले इक गोल फर्काउनुभयो ।

यस्तै, जर्मन क्लब बायर लिभरकुसनले बेल्जियन क्लब युनियन सेन्ट जिलोइसलाई चार-एकले तथा समग्रमा पाँच-दुईले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो ।

यससँगै युरोपा लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । अब सेमिफाइनलमा रोमा र बायर लिभरकुसन तथा युभेन्ट्स र सेभियाबीच प्रतिस्पर्धा हुनेछ । पहिलो लेग ११ मेमा तथा दोस्रो लेग १८ मेमा हुनेछ । फाइनल ३१ मेमा पुस्कास एरिना हंगेरीमा हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?