काजमा बस्ने डाक्टरहरुलाई दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा धम्की आयो : स्वास्थ्यमन्त्री बस्नेत

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । स्वास्थ्य तथा जनसख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरु व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेट माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताउनुभएको हो । उहाँले दरबन्दी बाहिर जिल्लामा हुने तर स्वास्थ्य मन्त्रालयमा काजमा बस्ने डाक्टरहरुको व्यवस्थापन गर्ने जोखिम रहेको बताउनु भयो । उहाँले आफूलाई अहिलेसम्म धम्की आउन नसके पनि सचिवालयमा भने दैनिक धेरै धम्की आउन लागेको बताउनु भयो ।

उहाँले दरबन्दी अनुसारको डाक्टरहरु व्यवस्थापन गर्ने काम पार लगाएरै छोड्ने बताउनु भयो। उहाँले स्वास्थ्यमा डाक्टर व्यवस्थापनको चिरफार गरेर नै छाड्ने प्रतिवद्धता जनाउनु भयो । स्वास्थ्यमन्त्री बस्नेतले संविधानलाई कार्यान्वयन गरी आधारभुत स्वास्थ्य सेवा ग्रामिण स्तरसम्म स्वास्थ्यकर्मीहरुको पहुँच नभएको स्थानमा डाक्टरहरुको पहुँच पुर्‍याएर नै छोड्ने बताउनु भयो। उहाँले ८ सय डाक्टरहरु मन्त्रीहरुको पालामा काजमा स्वास्थ्य मन्त्रालय बसेको भन्दै त्यसमा दरबन्दी अनुसारको क्षेत्रमा पठाउने काम गर्ने बताउनु भयो ।

उहाँले ८ सय डाक्टरको दरबन्दी अनुसारको क्षेत्रमा पठाउन सकिन भने स्वास्थ्य मन्त्रालय सुधार हुने अवस्था नभएको बताउनु भयो । उहाँले कर्मचारी व्यवस्थापनमा अलिअलि मिलाएको भरमा मिल्ने अवस्था नभएको भन्दै यसलाई अप्रेशन गर्नुपर्ने बताउनु भयो।

उहाँले भन्नुभयो,‘ ८ सय डाक्टरहरु स्वास्थ्य मन्त्रालयमा काजमा बसेका छन् । म जस्तै मन्त्रीहरुले राखेका हुन् । मैले एक जना पनि ल्याएको छैन । कर्मचारी व्यवस्थापन कडाईका साथ कदम चालेन भने स्वास्थ्य मन्त्रालय सुधार गर्नसक्ने अवस्था छैन । अब चल्नेवाला छैन । कर्मचारी व्यवस्थापनमा अलिअलि मिलाएरको भरमा मिल्नेवाला छैन । यसलाई अप्रेशन गर्नुपर्ने अवस्था छ । डडेलधुरामा १६ जनाको दरबन्दीमा एक जना डाक्टरहरु पुगेनन् र ट्रमा सेन्टरमा २० जना भए पुग्ने ठाउँमा २२ जना अर्थोपेडिक डाक्टरहरु हुनुहुन्छ । सबैलाई राजधानी चाहिएको छ । आत्महत्या गर्ने जस्ता कुराहरु उठेका छन् । काठमाडौंमा दरबन्दी हुँदा हुँदै प्रमोशनको हिसावले उहाँले नुवाकोट जान चाहनु भयो। नुवाकोट इच्छा लागुनजेल बस्नुभयो। सरकारले काज दरबन्दी आफ्नो स्थानमा मिलाउने किसिमले लाग्न थाल्यौं । उहाँले ट्रमा सेन्टरमा नै चाहियो नभएर आत्महत्या गर्छ भनेर मन्त्रालयमा आएर सचिवहरुलाई कराउन थालेछन् । यो सबै नाटक नौटङ्की हो । कडाईका साथ तपाईहरु प्रश्तुत हुनुस् । महिले म कहाँ पठाउनुस् आत्महत्या गर्न भने । त्यो कुरा सामाजिक सञ्जालमा लेखेर बिरोध भइरहेको छ । मलाई चाहि धम्काउने फोन आउन सकेको छैन । मेरो स्वकिय सचिवालयमा धेरै धम्कीहरु आउन थालेका छन् । यसलाई पार लगाएर नै छाड्ने हो । स्वास्थ्यमा छिरफार गरेर नै छाड्छौं । थिति बसाल्छौं । संविधानलाई कार्यान्वयन गर्छौं । आधारभुत स्वास्थ्य सेवा ग्रामिण स्तरसम्म स्वास्थ्यकर्मीहरुको पहुँच छैन । डाक्टरहरुको पहुँच छैन । त्यो ठाउँमा हामी पुर्‍याएर नै छोड्छौं । त्यसको लागि मलाई सांसदहरुको साथ चाहिन्छ ।’

उहाँले सबै डाक्टरहरुलाई राजधानी मात्रै चाहिएको अवस्था रहेको बताउनु भयो । उहाँले दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा आत्महत्या गर्नेसम्म विषयहरु आएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?