‘अब बल्ल श्वास फेर्न पाउँछु’

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । अभिनेता भुवन केसीले १० करोड क्षतिपूर्ति माग गर्दै आफूविरुद्ध दायर गरेको गाली बेइज्जतीसम्बन्धी मुद्दा जितेपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले अब बल्ल आफूले श्वास फेर्न पाउने बताउनुभएको छ । काठमाडौं जिल्ला अदालतले केसीले दायर गरेको मुद्दामा दाबी नपुगेको ठहर गरेको हो । नायिका साम्राज्ञीले आफ्नो नयाँ अध्याय सुरु भएको बताउनुभएको छ ।

अनुभव सुनाउँदा मुद्दा अदालतसम्म पुगेको स्मरण गर्दै उहाँले चलचित्र क्षेत्रमा आफूले भोगेको अनुभव सुनाउँदा समस्या आएको बताउनुभएको छ । ‘मैले मेरो चलचित्र यात्राबारे अनुभव साझा गरेको थिएँ, जुन तीतोमीठो अनुभव थियो । सायद अरूको पनि यस्तै थियो कि ? तर कसैलाई हानी/चोट दिने मेरो उद्देश्य थिएन’, उहाँले भन्नुभएको छ, ‘मेरो उद्देश्य सबै युवालाई सन्देश दिनु थियो, तपाईंले आफ्नो सपना हासिल गर्न सक्नुहुन्छ । तर, त्यहाँ रहेका रक्तपिपासुहरूबाट बच्नुपर्छ ।’

आफ्नो दिमागमा भएको कुरा आफूले सार्वजनिक गरेको उहाँले बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘त्यसैका लागि म विरुद्ध १० करोडको मुद्दा हालियो । त्यो व्यक्तिले मलाई म शक्तिशाली छु र चलचित्र क्षेत्रमा सबैको समर्थन छ भन्ने देखाउनु थियो । त्यो मलाई धम्क्याउने उसको तरिका पनि थियो’, उहाँले कसैको नाम नलिई भन्नुभएको छ, ‘कसैले आफ्नो अनुभव सुनाउन पनि नपाउने यो निकै डरलाग्दो प्रवृत्ति छ । अब केही कुराले मलाई आश्चर्यचकित बनाउँदैन ।’

तीन वर्षभन्दा लामो समय वकिलहरूले आफ्नोतर्फबाट मुद्दा लडेको भन्दै उहाँले भावुक हुँदै भन्नुभएको छ, ‘यो यात्रा सजिलो थिएन । वकिलहरू अशांक मल्ल, दिनेश त्रिपाठी, दृष्टि दाहाल, राष्ट्र तिमिल्सिना र जयलाल भण्डारीले मेरा लागि लड्नुभयो । मैले जितेँ । अब बल्ल श्वास फेर्न पाउँछु । जीवनको नयाँ अध्याय सुरु गर्न पाउँछु । मलाई शुभकामना दिनुहोला ।’

अभिनेत्री साम्राज्ञीले सामाजिक सञ्जालमार्फत भुवन केसीले आफूलाई दुर्व्यवहार गरेको बताउनुभएको थियो । उद्यपि, उहाँले सुरुमा भुवनको नाम लिनुभएको थिएन । उहाँले नाम नलिए पनि भुवनले जिल्ला अदालत काठमाडौंमा ०७७ साउन ९ गते गाली बेइज्जतीको मुद्दा दायर गर्नुभएको थियो । उक्त मुद्दामा न्यायाधीश वासुदेव पौडेलको इजलासले भुवनको दाबी नपुग्ने भन्दै शाहलाई सफाइ दिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?