हार्दिक श्रद्धाञ्जलि सीताप्रति

हिमालय टाइम्स
Read Time = 6 mins

प्रधानमन्त्रीपत्नी सीता दाहालको बुधबार दुःखद् निधन भयो र उहाँको सोही दिन पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो । यसलाई नियमितताका रूपमा पनि हेरिएला तर निधनका बेला उहाँको विशेष संस्मरण गर्नुपर्ने केही कुरा छन् । सशस्त्र विद्रोहलाई धेरैजसो नेपाली जनताले सही र उपयुक्त कदम हो भन्ने ठानेका छैनन् तर केहीले उक्त विद्रोह नै परिवर्तनको संवाहक ठानेका छन् । केही सीमित र नातागोताका लागि राम्रो राजनीतिक प्लेटफर्म मिलेको भए पनि तमाम कार्यकर्तामध्ये प्रायः सबैको बेहाल भएकै छ । त्रास र आसले संविधानसभाको पहिलो निर्वाचनमा जनताले माओवादी पार्टीलाई पहिलो पार्टीका रूपमा स्थापित गरे पनि पछि आएर उक्त पार्टीले आपूmलाई त्यस रूपमा स्थापित गर्न सकेको छैन ।

माओवादीले गरेको विद्रोहका बेला प्रचण्डपत्नी सीता पार्टीको अभियानमा दुःखसुख व्यहोर्दै हिँड्नुभएको थियो । विभिन्न ठाउँमा सेल्टर लिएर बसेको, जंगलमा लुकिरहेको, पुराना र फाटेका लुगा लाएर सिलाबरको थालमा भात खाँदैगरेको जस्ता विभिन्न फोटा अहिले सामाजिक सञ्जालमा देखिन्छन् । विद्रोहको बाटो छोडेर शान्ति प्रक्रियामा आएपछि माओवादी पार्टी पटक–पटक सत्तामा पुग्यो । माओवादीकै केही नेताहरू मन्त्री वा प्रधानमन्त्रीलगायतका उच्च ओहोदामा पुगेपछि तिनका पत्नीहरूको हैकम र चुरीफुरी हेर्न लायकको थियो । केही नेतापत्नीहरू त श्रीमान्को प्रभाव भँजाएर पनि माथिल्लो पदमा पुगे । पार्टीको अध्यक्षजस्तो उच्च पदमा रहनुभएको व्यक्ति पुष्पकमल दाहाल प्रचण्ड पटक–पटक प्रधानमन्त्री बन्नुभयो ।

पार्टीमा र सरकारका विभिन्न तह र तप्कामा प्रधानमन्त्रीपत्नी वा अध्यक्ष पत्नीका हैसियतले उहाँले राम्ररी हैकम जमाउन सक्नुहुन्थ्यो । अरूले त्यसो गरेका पनि थिए तर उहाँले गरेको देखिएन र सुनिएन । यद्यपि उहाँ पार्टीको केन्द्रीय सल्लाहकार समेत हुनुहुन्थ्यो । उहाँ सामान्य गृहिणीका रूपमा रहनुभयो । धेरै नेतापत्नीहरू आफ्ना श्रीमान् उच्च पदमा भएका बेला श्रीमान्को दौराको फेर समातेर माथि पुगेका उदाहरण छन् । वर्तमान दिनहरूमा र केही पहिलेदेखि नै पनि नेतापत्नीहरूको रवाफ देखिएकै हो र नेपाली राजनीतिक क्षेत्रले उहाँहरूको रवाफको नौटंकी हाल पनि देख्दै र व्यहोदै आएकै छ ।

माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएर त्यस हैसियतमा सिंहदरबार र बालुवाटारमा बस्नुभएकै हो । त्यसबेला उहाँकी पत्नी सीता पनि उहाँ सँगसँगै हुनुहुन्थ्यो तर केही नारीहरूले जसरी श्रीमान्माथि र श्रीमान्का माध्यमबाट राष्ट्रमाथि नै निर्देशन गरेका थिए प्रचण्डपत्नीबाट त्यसो भएन । यो उहाँको सालीनता थियो, भद्रता थियो वा चाहनाभन्दा भिन्न विषय थियो ।

सशस्त्र विद्रोहको बाटोबाट आउनुभएको हो प्रधानमन्त्री प्रचण्ड । विद्रोहमा मन दह्रो त बनाउनै पर्छ होला तर उहाँ बेलाबेलामा आपूm भावुक मान्छे हुँ भन्नुहुन्छ । लगभग एक दशकको अवधिमा उहाँले पुत्रीशोक, पुत्रशोक र पत्नीशोक व्यहोर्नुपर्‍यो । लामो समय बिरामी परेर पत्नी सीताको बुधबार निधन भयो । यसबाट शोकमा पर्नुभएको छ प्रचण्ड । प्रचण्डलाई यहाँसम्म ल्याउन सीताको त्याग, बलिदानी कम महत्वको मानिँदैन । यसलाई पार्टीको इतिहासले मूल्यांकन गरेकै होला ।

बुधबार बिहान श्रीमती सीता दाहालको निधन भएपछि मन्त्रिपरिषद्को निर्णयबाट राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो । केही सर्वसाधरणले यसलाई उचित मानेका छैनन् । किन राजकीय सम्मान भन्ने प्रश्न उठाइयो । केही पूर्वप्रधानमन्त्री र उच्चपदीय हैसियतका व्यक्तिहरूको निधनमा राजकीय सम्मान नदिइएको अवस्थामा सीता दाहाललाई किन राजकीय सम्मान ? प्रश्न उठेको छ । विभिन्न धारणाहरू राजनीतिक वृत्तमा आइरहलान् तथापि मृत्यु सबैको दुःखान्त नै हुन्छ । उहाँको आत्मालाई शान्ति मिलोस् हार्दिक श्रद्धाञ्जलि साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?