सेलिशालाई आर्थिक सहयोग

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघले क्यान्सरको उपचार गराइरहेकी टेबलटेनिस खेलाडी सेलिशा खड्गीलाई शनिबार उपचार खर्च सहयोगस्वरूप प्रदान गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले सेलिशाका पिता सुनीललाई नौ लाख ६० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

टेबलटेनिस संघले सेलिशाको उपचार खर्च संकलन गर्न टेबलटेनिस प्रशिक्षक सन्ध्या शाक्यको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति गठन गरेको थियो । सेलिशाको उपचारमा सहयोग गर्न संघले राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता आयोजना गर्नुका साथै विभिन्न महानुभाव र संघ संस्थासँग पनि आग्रह गरिएको थियो ।

सबैबाट संकलित नौ लाख ६० हजार रुपैयाँ उपचारका लागि हस्तान्तरण गरिएको टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जनाउनुभएको छ । सेलिशाको भारतको राजीव गान्धी अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, संघले दुई अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीलाई एक कार्यक्रमबीच सम्मानसमेत गरेको छ । २५औँ एसियाली जुनियर टेबलटेनिसमा भाग लिने खेलाडी तथा १९औँ एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जाने टोलीलाई पनि बिदाइ पनि गरिएको छ ।

भारतमा भएको दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपका पदक विजेता सबै खेलाडीलाई जनही १० हजार नगदसहित सम्मान गरिएको थियो । वैशाख ३१ देखि जेठ ४ गतेसम्म भएको प्रतियोगितामा नेपालले एक स्वर्ण, एक रजत र सात कांस्य पदक जितेको थियो ।
यू–१९ ब्वाइज टिममा सुजन गडाल, विशाल गोले, विश्व बानियाँ र सिद्धार्थ तामाङले नेपाललाई स्वर्ण दिलाउनुभएको थियो । यू-१५ गल्र्स डबल्समा सुस्मिता खड्का र शुभश्री श्रेष्ठले रजत जित्नुभएको थियो ।

त्यस्तै, यू-१५ ब्वाइज टिममा सिद्धार्थ तामाङ, सौरभ खड्का र एरिस शाक्य, यू-१९ गल्र्स डबल्समा वियंका राई र इभाना थापा मगर, यू–१९ मिक्स डबल्समा सुजन गडाल र वियंका राई, यू-१९ ब्वाइज डबल्समा विशाल गोले र विश्व बानियाँ, यू-१९ मिक्स डबल्समा सिद्धार्थ तामाङ र शुभश्री श्रेष्ठ, यू-१९ गल्र्स टिममा वियंका राई, इभाना थापा मगर, दिया देउला र शुभश्री श्रेष्ठ तथा यू-१५ गल्र्स टिममा सुस्मिता खड्का, करिना सुवाल र शुभश्री श्रेष्ठले कांस्य जित्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?