अफगानिस्तानमाथि बंगलादेशको जित

Read Time = 3 mins

ढाका । बंगलादेशले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा अफगानिस्तानमाथि दुई विकेटको रोमाञ्चक जित हात पारेको छ । योसँगै दुई टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखलामा बंगलादेशले एक-शून्यको अग्रता लिएको छ । जितका लागि १५५ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले १९.५ ओभरमा आठ विकेट गुमाउँदै खेल पूरा गर्‍यो । अन्तिम ओभरमा बंगलादेशलाई जितका लागि मात्रै ६ रन चाहिएको थियो । मेहेदी हसन मिराजले पहिलो बलमै करिम जन्नतलाई एक्स्ट्रा कभरमा चौका प्रहार गरेपछि बाँकी पाँच बलमा दुई रन चाहिने स्थिति बन्यो ।

त्यसपछि खेलले नाटकीय रूप लियो । करिम जन्नतले बाँकी तीन बलमा हृयाट्रिक लिएपछि खेल रोमाञ्चक बनेको थियो । दोस्रो बलमा हसन आठ रनमा मोहम्मद नाबी, तेस्रो बलमा तस्किन अहमद एज लागेर विकेटकिपर रहमानउल्लाह गुरबाज र चौथो बलमा एज लागेर नासुम अहमदबाट क्याच आउट हुनुभयो ।

तर, पाँचौँ बलमा शोरिफुल इस्लामले चौका प्रहार गर्दै बंगलादेशका लागि विजयी रन जुटाउनुभयो । बंगलादेशको जितमा तोहिद हृदोयले ३२ बलमा तीन चौका र दुई छक्कासहित ४७ रनमा नट आउट पारी खेल्नुभयो । यस्तै, शमिम हसैन २५ बलमा चार चौकासहित ३३, सकिब अल हसन १९, लिटन दास १८ र नाज्मुल हसन सान्टोले १४ रन जोड्नुभयो ।

अफगानिस्तानका करिम जन्नतले एक दशमलब पाँच ओभरमा १५ रन खर्चेर तीन विकेट लिनुभयो । यस्तै, फजलहक फारुकी, मुजिब उर रहमान, आजमतुल्लाह ओमरजाई, राशिद खान र फरिद मलिकले समान एक विकेट हात पार्नुभयो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५४ रन बनाउन सक्यो । अफगानिस्तानका मोहम्मद नाबीले ४० बलमा ६ चौका र एक छक्कासहित ५४ रनको नट आउट पारी खेल्नुभयो । यस्तै, आजमतुल्लाह ओमरजाईले १८ बलमा चार छक्कासहित ३३, गुरबाजद १६ र नाजिबउल्लाह जद्रानले ३३ रन बनाउनुभयो ।

बंगलादेशका सकिब अल हसनले चार ओभरमा २७ रन खर्चेर दुई तथा नासुम अहमद, तस्किन अहमद, शोरिफुल इस्लाम, मुश्ताफिजुर रहमान र मेहेदी हसन मिराजले समान एक विकेट लिनुभयो । यी दुई देशबीचको दोस्रो खेल आइतबार हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?