नेपालमा माउण्टेन स्पोर्ट्स गेम्स आयोजना हुने

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सन् २०२४ मा नेपालमा माउण्टेन स्पोर्ट्स गेम्स आयोजना गर्ने प्रतिबद्धतासहित माउण्टेन स्पोर्ट्स कन्क्लेभ सम्पन्न भएको छ । नगरकोटमा सम्पन्न दुईदिने माउण्टेन स्पोर्ट्स कन्क्लेभको समापन समारोहमा सम्पूर्ण सहभागीले अर्को वर्ष नेपालमा माउण्टेन स्पोर्ट्स गेम्स आयोजना गर्ने प्रतिबद्धता जनाएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा माउण्टेन स्पोर्ट्स फेडेरेसनको सहकार्यमा आयोजित कन्क्लेभमा सदस्य-सचिव टंकलाल घिसिङले माउण्टेन स्पोर्ट्स गेम्स आयोजनामा नेपालको अवधारणा प्रस्तुत गर्नुभएको थियो ।

कन्क्लेभमा खेल प्रवद्र्धनमा विदेशी नियोग र दूतावास, माउण्टेन स्पोर्ट्स गेम्समा अन्तरसरकारी समन्वय, खेल इभेन्टबाट देशको ब्राण्डिङ र प्रदेशमा साहसिक र पर्यटकीय खेलकुद शीर्षकमा सरोकारवाला निकायबीच छलफल भएको थियो भने सदस्य-सचिव घिसिङले प्रस्तुत गरेको अवधारणामाथि सहभागीले धारणा राख्नुभएको थियो ।

कार्यक्रममा विदेशी नियोग तथा दूतावासका प्रतिनिधि, राष्ट्रिय योजना आयोगका सदस्य रमेश पौडेल, प्रदेश खेलकुद विकास परिषद्का सदस्य-सचिवहरू, नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, खेलकुद संघका पदाधिकारी, युनेस्को, सञ्चारकर्मी, पर्यटन तथा उद्यमी संघका प्रतिनिधिसहित विभिन्न सरोकारवाला निकायको सहभागिता थियो ।

साहसिक खेलको इभेन्टलाई प्राथमिकता दिने, नेचर, एडभेन्चर, कल्चरसँग सम्बन्धित खेल आयोजना गर्ने, तीन हजार मिटर आसपासको भेन्युमा प्रतियोगिता गर्ने, अन्तराष्ट्रिय महासंघको संलग्नता अनिवार्य गराउने, नीतिगत र व्यवस्थापकीय गरी दुई समिति परिचालन गर्ने, राखेप, एनओसी, खेलकुद मन्त्रालय र महासंघमध्ये एकले आयोजनाको नेतृत्व गर्नेलगायत घोषणा गर्दै कन्क्लेभको समापन भएको थियो ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा माउण्टेन स्पोर्ट्स फेडेरेसनको सहकार्यमा सो कन्क्लेभ आयोजना गरिएको हो । राखेपले अर्को वर्ष मार्चमा नेपालमा माउण्टेन स्पोर्ट्स गेम्स आयोजनाको प्रस्ताव अघि सारेर आयोजनाको तयारीलाई अघि बढाएको छ ।

फेडेरेसनका अध्यक्ष गोविन्द भट्टराईले कन्क्लेभ अर्को वर्ष नेपालमा माउण्टेन स्पोर्ट्स गेम्स आयोजना गर्ने प्रस्थान बिन्दु रहेको बताउनुभयो । अध्यक्ष भट्टराईले सम्बन्धित राष्ट्रिय संघलाई व्यवस्थित भएर प्रतियोगिताको तयारीमा अघि बढ्न सुझाव दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?