‘ऊनको स्वीटर’ बन्ने, शीर्ष भूमिकामा विपिन र मिरुना

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’ बन्ने भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको घोषणा गरिएको हो । टाइटल गीत सार्वजनिक गर्दै सांगीतिक माहोलमार्फत आर्टमाण्डूले चलचित्र ‘ऊनको स्वीटर’ (द उलन स्वीटर)को घोषणा गरेको थियो ।

चलचित्र घोषणामा नयाँ शैली अपनाएको थियो आर्टमाण्डूले । नवीन शैलीबाट गरिएको घोषणालाई निम्तालुहरूले मन पराएका थिए । कथा भन्ने नयाँ शैली स्थापित गरेर म्युजिकल चलचित्रमार्फत् लोकप्रियता हासिल गरेको आर्टमाण्डूले घोषणा कार्यक्रममा चलचित्रका शीर्ष कलाकार र टिम पनि सार्वजनिक गरेको थियो ।

चलचित्रमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको शीर्ष भूमिका रहनेछ । ‘लालपूर्जा’ पछि मिरुना र विपिनको यो दोस्रो सहकार्य हो । चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गर्नुहुनेछ । नवीनले आर्टमाण्डूमार्फत् ‘तीन पाते’, ‘घुमी घुमी’, ‘फूलथुंगे रानी’, ‘चन्द्रमा’, ‘पाहुना हजुर’, ‘सुनाखरी’, ‘के माया लाग्छ र’, ‘बटौलीजस्ता’ दर्जनभन्दा बढी म्युजिकल चलचित्र निर्माण गरिसकेका छन् । आर्टमाण्डूबाटै अघिल्लो वर्ष मञ्चन भएको नाटक ‘चोरको स्वर’ ले थिएटरमा दर्शकहरूको आकर्षण बढाएको थियो ।

‘म्युजिकल फिल्म बनाइरहँदा फिचर्ड फिल्मबाट अर्गानिक स्वादको कथा भन्ने सोच बनाइरहेको थिएँ । घोषणा गर्न पाउँदा खुसी छु । ममाथि अभिभारा थपिएको छ । राम्रो र फरक सिनेमा बनाउन मेरो प्रयास रहनेछ’, निर्देशक चौहानले भन्नुभयो ।
अभिनेता विपिन कार्कीले यो चलचित्र आफ्नो लागि विशेष हुने बताउनुभयो । ‘नवीन जीसँग पहिले पनि ‘बटौली र घुमीघुमी’मा सहकार्य गरिसकेको छु । उहाँको कामप्रति मलाई पूर्ण विश्वास छ । यो चलचित्रमा धेरै कुरा समेटिएको छ । नयाँपनसँगै राम्रो हुनेमा विस्वस्थ छु’, उहाँले भन्नुभयो ।

अभिनेत्री मिरुना आफू पहिल्यैदेखि आर्टमाण्डूले गरेका कामहरूको प्रशंसक भएकाले सहकार्य गर्न उत्सुक भएको बताउनुभयो । ‘उहाँहरूको कामलाई म फ्यान भएर हेरिरहेको छु । झन् सहकार्य गर्न पाउँदा खुसी छु,’ मिरुनाले भन्नुभयो, ‘जुन क्यारेक्टर मलाई नवीन जीले भन्नुभयो, सुन्दा नै गुजब आएको थियो । गीत पनि सुन्दा एकदमै कहिले सुटमा जाने होला भनेर आतुर भइरहेको छु ।’

चलचित्र घोषणा गर्नुअघि गायक सुजन चापागाईंले टाइटल गीतको लाइभ प्रस्तुति दिनुभएको थियो । चलचित्रमा सुजन र गायिका झुमा लिम्बू संगीत निर्देशक हुनुहुन्छ । चलचित्रका लागि टाइटल गीत हर्क साउदले लेख्नुभएको छ ।

चलचित्रमा विपिन र मिरुनासँगै एलेक्स पारस, परीक्षा लिम्बू, अनिल सुब्बा लगायतका कलाकार फाइनल भएका छन् । बाँकी कलाकार भने छिट्टै फाइनल हुने बताइएको छ । चलचित्रमा अनिल सुब्बा र सुरज तमू कास्टिङ निर्देशक हुनुहुन्छ । चिन्तनराज भण्डारीको सिनेमाटोग्राफर रहने चलचित्रको सम्पादन कृष्ण भण्डारीले गर्नुहुने छ । ब्याकराउण्ड संगीत निर्देशक कोबिद बज्र हुनुहुनेछ भने पब्लिसिटी डिजाइन ट्राइटेण्ड कन्सेप्टका रोयल भीमसेनले गर्ने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?