लिङ्देनसँग इपानको गुनासो

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जलविद्युत् प्रवद्र्धकका हातखुट्टा बाँधेर विद्युत् विकास नहुने बताउनुभएको छ । सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को टोलीसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । इपानका अध्यक्ष गणेश कार्कीले वन ऐन २०७६ र वातावरण संरक्षण ऐन २०७६ संसद्मा पेश भएको नेपाल ऐन संशोधन संसद्ले जस्ताको त्यस्तै पारित गरेमा नेपालमा जलविद्युत् र विद्युत् प्रसारण लाइनमात्र नभएर कुनै पनि विकास निर्माणका काम हुनै नसक्ने बताएपछि लिङ्देनले समग्र ऊर्जा क्षेत्रका समस्याबारेमा आफू जानकार रहेको र इपानले उठाएका विषयमा पूर्ण सहमत रहेको बताउनुभएको हो ।

इपानले वन ऐन २०७६ र वातावरण संरक्षण ऐन २०७६ जस्ताको त्यस्तै पारित गरेमा नेपालमा जलविद्युत् र विद्युत् प्रसारण लाइनमात्र नभएर सबै विकास निर्माण कार्य ठप्प हुने जनाएको छ ।

इपानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले एउटा डाँडाबाट अर्को डाँडामा तार तान्दा दुई सय मिटरमुनिको सबै जग्गा किन्नुपर्ने नियम व्यावहारिक नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई सय मिटर तल कहाँनेर जग्गा पर्छ भन्ने नै अनुमान गर्न सकिन्न । कुनै पनि रुखबिरुवा तारले छुँदैन । अनि त्यो जग्गाको पनि सरकारले प्रतिहेक्टर न्यूनतम २८ लाखदेखि ८० लाख रुपैयाँसम्म तोक्नु भनेको अब प्रसारण लाइन आयोजना र जलविद्युत् आयोजना नबनाऊ, देश विकास नगर भनेको हो ।’

इपानका उपाध्यक्ष भरतबहादुर खत्रीले वनका कर्मचारी सबै एनजिओ आइएनजिओको कार्यक्रममा विदेश घुम्ने र उनैको सल्लाहबाट चल्ने गरेकाले वनसँग सम्बन्धित विभाग र निकायको छुट्टै संसार भएको बताउनुभयो । छवटा आयोजना बनाइसकेको प्रवद्र्धकलाई जिल्ला वन अधिकृतले पक्राउ पुर्जी जारी गरेको उदाहरण दिँदै खत्रीले भन्नुभयो, ‘त्यतिले मात्र नभएर विद्युत् बिक्रीबापत आउने भुक्तानी रोक्न नेपाल विद्युत् प्राधिकरणलाई पनि पत्राचार गरेका छन् ।’

इपानका उपमहासचिव प्रकाश दुलालले वन ऐन संशोधन गरेर जग्गा दिनुपर्ने र रुख रोप्नुपर्ने नियमको ठाउँमा पैसामात्रै तिर्ने व्यवस्था राखिएको भन्दै ऐनको उद्देश्य वन जोगाउने नभई पैसा थुपारेर अपचलन गर्ने जस्तो देखिएको आरोप लगाउनुभयो । इपानले वन र वातावरण ऐन जस्ताको तस्तै पारित भयो भने प्राधिकरणले पनि प्रसारण लाइन बनाउन सकिँदैन भनेर हात उठाइसकेको भन्दै निजी क्षेत्रले आयोजना बनाउने कुरा कल्पनाभन्दा बाहिर गइसकेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?