जुम्लामा उमेर नपुग्दै आमाबन्ने किशोरीको संख्या घट्दै

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । पछिल्लो समयमा तिब्रगतिमा बढ्दै सचेतनाका कार्यक्रम तथा शिक्षा क्षेत्रमा महिलाको पहूँचले गर्दा जुम्लामा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको संख्या घट्दै गएको छ । गएका वर्षको तुलनामा भन्दा यो वर्षमा जिल्लामा २० वर्ष नपुग्दै सुत्केरी हुने किशोरीहरुको संख्या घट्दै अवस्था रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख प्रेम सुमाईले जानकारी दिनुभयो ।

उक्त कार्यालयको तथ्यांकनुसार आर्थिक वर्ष २०७७÷७८ मा जुम्लामा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको संख्या ८ सय ६० जना थियो । जसमा सबैभन्दाबढी चन्दननाथ नगरपालिकामा १ सय ९० जना र सबैभन्दा कम तातोपानी गाउँपालिकामा ६६ जना किशोरी रहेका छन् । पातारासीमा १ सय ३४ कनकासुन्दरीमा ९० ,सिँजामा ६८, गुठीचौरमा ९५ जना,तिलामा १ सय ४० र हिमामा ७७ जना गरी जम्मा ८ सय ६० जना जुम्लाका किशोरी गत आवमा उमेर नपुग्दै गर्भवती अर्थात् आमा बनेका थिए ।

उनीहरुबाट जन्मीएका १ सय ८० बच्चा कम तौलका रहेको सो कार्यालयले जनाएको छ । दुई वर्ष पहिला २० वर्ष नपुग्दै आमा अर्थात् गर्भवती हुने किशोरीको संख्या ८ सय ६० रहेको जुम्लामा यस वर्ष दोब्बरले घटेर ३ सय १० मा पुगेको जनस्वास्थ्य कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख सुमाईको भनाइ छ ।

गत दुई वर्षमा ८ सय ६० जना किशोरी स्वास्थ्य संस्थामा सुत्केरी भएकोमा यो आर्थिक वर्षमा ३ सय १० जना सुत्केरी भएको तथ्यांक कार्यालले सार्वजानिक गरेको छ । यस वर्षको चालु आवको ११ महिनाको प्रतिबेदन अनुसार जुम्लामा ३ सय १० जना किशोरी २० वर्ष नपुग्दै सुत्केरी भएका छन् ।

जुन अघिल्लो दुई आर्थिक वर्षको तुलनामा ५ सय ५० जनाले कम हो । ३ सय १० जना किशोरी मध्य यसवर्ष सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा १ सय २७ जना किशोरी २० वर्ष नपुग्दै सुत्केरी भएको तथ्यांकमा उल्लेख गरिएको छ । सबैभन्दा कम सिंजा गाउँपालिकामा ५ जना २० वर्ष नपुग्दै सुत्केरी भएको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । चन्दननाथ नगरपालिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकोले बढी देखिएको हो ।

यस वर्षको तथ्यांकले जुम्लामा बालबिवाह घट्दै गएको देखाएपनि अबस्था सन्तोषजनक नरहेको तातोपानीका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईले जानकारी दिनुभयो । अझै गाउँघरमा बालबिवाहका असर तथा कानुनी दण्ड सजायबारे सचेतना फैलाउन जरुरी रहेको सिंजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताउनुभयो । तथ्यांकले बालबिवाहमा अपेक्षित सुधार नआएपनि बालबिवाह दर घट्दो क्रममा रहेको स्थानीय तहका महिला तथा बालबालिका शाखाले जनाएका छन् । जिल्लास्थित पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालयले वर्षेनी बालविवाहबारे तथ्यांक सार्वजनिक गर्दै आएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?