कुशल चम्कँदा नेपालको सात्वना जित

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । कुशल भुर्तेल ब्याटिङ र बलिङमा चम्कँदा नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा युएई ‘ए’ लाई तीन विकेटले पराजित गर्दै सान्त्वना जित हात पारेको छ । श्रीलंकामा जारी प्रतियोगिताको समूह ‘बी’को अन्तिम खेलमा जित निकाले पनि नेपाल तीन खेलमा दुईमा हार र एकमा जितसहित तेस्रो हुँदै प्रतियोगिताबाट बाहिरियो ।

जितका लागि युएई ‘ए’ ले दिएको १५८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालको जितमा कुशल भुर्तेलले ४३ बलमा नौ चौका र चार छक्कासहित ७१ रनको पारी खेल्नुभयो । त्यसअघि उहाँले बलिङमा ६ विकेट लिनुभएपछि युएईले ठूलो स्कोर बनाउन सकेन । कुशल प्लेयर अफ द म्याच चुनिनुभयो ।

नेपालको सुरुवात भने राम्रो रहेन । ओपनर अर्जुन साउद इनिङकै पहिलो बलमै आउट हुनुभयो । तीव्रगतिका बलर मोहम्मद जवादुल्लाहले अर्जुनलाई एलबिडब्लूको सिकारमा पार्नुभयो । दोस्रो विकेटका लागि कुशल र देव खनालले १२.५ ओभरमा ९८ रनको साझेदारी गर्नुभएपछि नेपालको जितको आधार खडा भएको थियो ।

तर, बीचमा पुनः नेपालले लगातार विकेट गुमाएपछि खेल रोमाञ्चक बनेको थियो । देव खनाल ३८ बलमा चार चौकासहित २४ रनमा आउट हुनुभएको थियो । उहाँलाई पनि फराजुदिनले एलबिडब्लू आउट गर्नुभयो । त्यसपछि यस खेलमा मौका पाउनुभएका सन्दीप जोराले १५ बलमा एक चौका र दुई छक्कासहित २४ रन बनाउनुभयो ।

कप्तान रोहित पौडेल नौ रनमा आउट हुनुभयो । मोहम्मद जवादुल्लाहले उहाँलाई अर्यांश शर्माबाट मिडअफमा क्याच गराउनुभएको थियो । लगत्तै गुल्सन झा ११ रनमा पवेलियन फर्कनुभयो ।

अन्तिममा युवा बलर प्रतिश जिसीले लगातार दुई चौका हान्दै विजयी रन जोड्नुभयो । त्यसअघि खराब लयबाट गुज्रिरहनुभएका पवन सरार्फले खाता नै खोल्न सक्नुभएन । युएईका स्पिनर मोहम्मद फराजुदिनले ६ ओभरमा एक मेडनसहित ३६ रन खर्चेर पाँच विकेट लिनुभयो । यस्तै, जवादुल्लाहको भागमा दुई विकेट पर्‍यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको युएई ४४ ओभरमा १५७ रनमा अल आउट भएको थियो । युएईका ओपनर लवप्रित सिंहले ८२ बलमा ६ चौका र एक छक्कासहित ५२ रन जोड्नुभयो ।

कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिनुभएपछि युएईका अन्य ब्याटर धेरै बेर क्रिजमा बस्न सक्नुभएन । युएईलाई ओपनर अर्यांश शर्मा र लवप्रित सिंहले पहिलो विकेटका लागि १०.४ ओभरमा ३९ रनको साझेदारी गर्नुभएको थियो । मल्लले अर्यांश शर्मालाई १४ रनमा पवन सरार्फबाट क्याच गराउँदै उक्त साझेदारी तोड्नुभएको थियो । लगत्तै पवन सर्राफले अंश टण्डनलाई तीन रनमा एलबिडब्लूको धरापमा पार्नुभयो ।

सोल्झाले २५ बलमा दुई चौका र एक छक्कासहित १८ रन जोड्नुभयो । उहाँलाई कुशल भुर्तेलले एलबिडब्लू आउट गर्नुभएको थियो । त्यसपछि ओपनर लवप्रित सिंह ८२ बलमा ६ चौका र एक छक्कासहित ५२ रनमा आउट हुनुभयो । लेगस्पिनर कुशल भुर्तेलको बलमा उहाँ डिप मिडविकेटमा सन्दीप जोराबाट क्याच आउट हुनुभयो ।

कुशलले नै फवाद नवाजलाई चार रनमा विकेट किपर अर्जुन साउदको हातबाट क्याच गराउनुभयो । यस्तै, कुशलकै बलमा युएईका प्रमुख ब्याटर अली नासिर एक रनमा कट एण्ड बोल्ड आउट हुनुभएको थियो ।

कुशलले यो करिअरमा पहिलोपटक ६ विकेट लिनुभएको हो । यस्तै, अर्का स्पिनर मौसम ढकालले ९ ओभरमा ४४ रन खर्चेर दुई विकेट लिनुभयो । त्यसबाहेक पवन सर्राफ र कुशल मल्लले समान एक-एक विकेट लिनुभयो ।

यसअघि भारत ‘ए’ र पाकिस्तान ‘ए’ सँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले यस खेलमा चार खेलाडी परिवर्तन गरेको थियो । सोमपाल कामी, ललित राजवंशी, भीम सार्की र आसिफ शेखको स्थानमा प्रशिक्षक मोन्टी देसाईले प्रतिश जिसी, श्याम ढकाल, अर्जुन साउद र सन्दीप जोरालाई खेलाउनुभएको थियो ।

नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेट र दोस्रो खेलमा भारत ‘ए’ सँग नौ विकेटले पराजित भएको थियो । युएई भारतसँग आठ र पाकिस्तानसँग १८४ रनले पराजित भएको थियो । योसँगै दुवै टोलीको प्रतियोगितामा यात्रा पनि टुंगिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?