सिजी एग्रोटेक र डिएमसिसीबीच सम्झौता

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । चौधरी गु्रपअन्तर्गतको सिजी एग्रोटेकले विश्वको फ्ल्यागसिप फ्री जोन सडएमसिसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौताले कृषि क्षेत्रमा दक्षिण एसियाली मुलुकसँग द्विपक्षीय व्यापार बढाउन मद्दत पुग्ने सिजी एग्रोटेकले जनाएको छ । हालै सम्पन्न एक समारोहबीच चौधरी गु्रपका प्रबन्ध निर्देशक वरुण चौधरी र डिएमसिसीका चिफ अपरेटिङ अफिसर फेरयाल अहमदीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

उक्त सहकार्यले डिएमसिसी र सिजी एग्रोटेकबीच बलियो सम्बन्ध स्थापना गर्नुका साथै डिएमसिसी सदस्य कम्पनीका लागि व्यापार, लगानी र बजार पहुँच बढाउनसमेत सहयोग पुग्ने कम्पनीले जनाएको छ । यसबाहेक ज्ञान र सूचना आदानप्रदानलाई बढावा दिनुका साथै विशेषगरी कफी, चिया र महको निर्यातमा रहेका अवसर तथा अप्ठ्यारा सम्बोधनमा मद्दत गर्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

सिजी एग्रोटेकका प्रबन्ध निर्देशक चौधरीले डिएमसिसीसँगको साझेदारीले दुई देशबीचको कृषि व्यापार सम्बन्ध अझ सुदृढ र बलियो हुने विश्वास व्यक्त गर्नुभयो । डिएमसिसीसँग रहेका २३ हजार सदस्य कम्पनीको व्यापक नेटवर्कको लाभ उठाउँदै र पारस्परिकरूपमा लाभदायक अवसरको अन्वेषणले द्विपक्षीय व्यापारलाई अझ व्यापक बनाउन महत्वपूर्ण सहयोग पुर्‍याउने उहाँको भनाइ छ ।

डिएमसिसीका चिफ अपरेटिङ अफिसर अहमदीका अनुसार पछिल्ला वर्षहरूमा दक्षिण एसियामा कृषि वस्तुको आयातमा उल्लेखनीय वृद्धि भएको छ र वृद्धिदर जारी रहने देखिएको छ । साथै खाद्य सुरक्षामा आएको जागरुकताका कारण विश्वव्यापीरूपमा कृषि वस्तुको माग अझ बढ्नेछ । साझेदारीका माध्यमबाट डिएमसिसीलाई उल्लेखित व्यापारिक अवसर मूल्यांकन गर्न मद्दत पुग्ने उहाँले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?