बर्दघाटमा नगरप्रमुख सचिवालय संयोजक जोगाउन अख्तियारमा झुठो विवरण

हिमालय टाइम्स
Read Time = 4 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले कर्मचारीलाई जोगाउन अख्तियारलाईनै झुठो विवरण पठाएको छ । नगरपालिकाका नगर प्रमुख सचिवालय संयोजकको रुपमा कार्यरत सरद पौडेललाई जोगाउन नगरपालिकाले विभिन्न रणनीति अपनाएको हो । पौडेलको नियुक्तिको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले उहाँको नियुक्तिको विषयदेखि तलव भुक्तानी, उहाँले पेश गरेका खर्चका विल भरपाई समेतको विवरण माग गरेको थियो । अप्राविधिक ब्यक्तिलाई नक्कली प्राविधिक पद सिर्जना गरेर नियुक्त गरिएको भनि उजुरी परेपछि अख्तियारले अनुसन्धान गरिरहेको छ ।

अख्तियारले पटक–पटक पौडेलको नियुक्तिको विषयमा जवाफ माग गरेपछि नगरपालिकाले अख्तियारलाई मिति २०७९ फागुन २९ गते पत्राचार गरी चलानी नम्बर २७३५ रहेको पत्रमार्फत नगर प्रमुखको सचिवालय संयोजक शरद पौडेललाई मिति २०७९ फागुन १२ गतदेखि लागू हुने गरी हटाईएको भनि जवाफ पठाएको छ । जवाफ पठाए पनि पौडेललाई नगरपालिकाले हटाएको छैन । उहाँले पहिले जस्तै निरन्तर काम गरिरहनुभएको छ ।

नगरपालिका स्रोत भन्छ– ‘उहाँ निरन्तर रुपमा कार्यालय आएका छन् तर अख्तियारलाई जवाफ लेख्ने बेलामा मिलाउन सकिनेगरी जवाफ लेखिएको हो ।’ सोही अनुसार फागुन २९ गते लेखिएको पत्रमा निरन्तर कार्यालयमा आइरहनुभएका उहाँलाई सम्झौता रद्द गरी हटाइएको भनि अख्तियारलाई जवाफ पठाईएको छ । फागुन २९ गते नै पौडेल नगरपालिकाको बैठकमा उपस्थित भई नगर प्रमुख सचिवालयकै हैसियतमा माईन्युटमा हस्ताक्षर गर्नुभएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटाले फागुनदेखि चैतसम्म करिव एक महिना पौडेल नगरपालिकाको कर्मचारीको रुपमा नरहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘पौडेल जी छैठौँ तहमा कार्यरत हुनुहुन्थ्यो, प्राविधिक कारणले उहाँ एक महिना जति नगरको कर्मचारीको रुपमा रहनुभएन त्यसपछि पाँचौं तहको कर्मचारीको रुपमा हुनुहुन्छ ।’

सापकोटाले पौडेल एक महिना कर्मचारी नरहेको बताए पनि पौडेल हरेक दिन नगरपालिकामा रहेर नगर प्रमुखको सचिवालयकै हैसियतमा काम गरिरहेको र नगरका विभिन्न बैठकमा सहभागी भइरहनु भएको छ । नगरपालिको रेकर्डमा उहाँ एकदिन मात्र कर्मचारी नरहेको देखिन्छ । रेकर्ड अनुसार फागुन १३ गते एकदिन मात्र पौडेल कर्मचारी नरहेको सूचना अधिकारी पुस्कर काफ्लेले बताउनुभयो  । काफ्ले भन्नुहुन्छ, ‘पौडेलजी फागुन १२ गतेसम्म छैठौ तहको रुपमा र फागुन १४ गतेदेखि हालसम्म पाँचौँ तहको कर्मचारीको रुपमा काम गरिरहनुभएको छ ।’

नगर प्रमुखको सचिवालयमा कार्यरत पौडेलले पदको विषयमा आफैँ दुविधामा रहेको बताउनुभयो  । उहाँ भन्नुहुन्छ, ‘सुरुमा छैठौं तहको कर्मचारीको रुपमा कार्यरत रहेको र हाल पाँचौं तहको कर्मचारीको रुपमा कार्यरत रहे पनि पदको बारेमा आफैँ दुविधामा छु ।’ पौडेल २०७९ साउन २५ गतेको नगरको निर्णय र नगरसँगको सम्झौता अनुसार नगर प्रमुखको सचिवालय संयोजकको रुपमा कार्यरत हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?