‘लम्पी स्किन’ले गोरु मरेपछि किसानलाई खेत जोत्न समस्या

Read Time = 4 mins

दमौली । तनहुँमा लम्पी स्किन रोगका कारण गोरु मरेपछि कृषकलाई खेत जोत्न समस्या भएको छ । धान रोपाइँको चटारोका बीचमा सो रोगबाट गोरु मरेपछि कृषकलाई समस्या भएको हो ।

जिल्लाका दशवटै पालिकाका चार हजार एक सय ७६ पशुमा लम्पी स्किन रोग फैलिएकामा ४७ पशु मरेका छन् । यसमध्ये ४३ गोरु रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खेतीपातीको समयमा गोरु मर्दा कृषकलाई खेत जोत्न समस्या भएको छ । गोरुको विकल्प ट्र्याक्टर भए पनि कतिपय किसानले ट्र्याक्टर किन्न सक्ने अवस्था छैन ।”

उहाँका अनुसार लम्पी स्किन सङ्क्रमण भएकै अवस्थामा काममा लगाउँदा त्यसैका कारण पशुको मृत्यु भएको हुनसक्ने देखिएको छ । “लम्पी स्किन सङ्क्रमण हुँदैमा मृत्यु हुने होइन, बिरामी भएको अवस्थामा काम गर्नुपर्दा पशुलाई गाह्रो भएर मृत्यु भएको देखिएको छ”, डा श्रेष्ठले भन्नुभयो ।

लम्पी स्किनविरुद्ध जिल्लामा दश हजार पाँच सय पशुलाई खोप लगाइसकिएको छ । स्थानीय तहको समन्वयमा लम्पी स्किन सङ्क्रमणबाट बचाउन दश हजार पाँच सय स्वस्थ पशुलाई खोप लगाइएको श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो खोप सङ्क्रमित भएको पशुलाई नभई सङ्क्रमण नभएका पशुलाई रोगबाट बचाउन लगाउने हो ।”

सबैभन्दा बढी व्यास नगरपालिकाका पशुलाई खोप लगाइएको छ । व्यासमा तीन हजार पशुलाई खोप लगाइएको कार्यालयले जनाएको छ । खोप लगाउनका लागि स्थानीय तहले आफैँ खरिद गरेका थिए ।

नगरपालिकाले कृषकको गोठमै पुगेर खोप लगाइदिएको नगरपालिकाका पशुपन्छी विकास उपशाखा प्रमुख डा मनोज विश्वकर्माले जानकारी दिनुभयो । पशुमा पूर्ण खोप कार्यक्रमअन्तर्गत नगरपालिकाको वडामा खोपकर्ताको रुपमा खटिएका भेटेरिनरी प्राविधिकलाई पुनः यस आकस्मिक अवस्थामा खोप लगाउन परिचालित गरिएको उहाँले जानकारी दिनुभयो ।

उक्त रोगबाट धेरैजसो व्यास नगरपालिका-१ चारकुने, व्यास नगरपालिका-१३ बेलबास, पोखरीभज्याङ, व्यास नगरपालिका- ११ फराकचौर र व्यास नगरपालिका-७ मा गाईभैँसी सङ्क्रमित भएका थिए ।

जिल्लाको म्याग्दे गाउँपालिकाले दुई हजार गाईभैँसीलाई उक्त खोप लगाएको छ । गाउँपालिकाले सातवटै वडामा पालिएका पशुलाई खोप लगाएको पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा दूध उत्पादन धेरै हुने वडाका पशुलाई प्राथमिकतामा राखेर खोप लगाइएको हो ।

उहाँले भन्नुभयो, “व्यावसायिक रुपमा गाईभैँसीपालन गरिएका र दूध उत्पादन बढी गर्ने कृषकको गोठमै पुगेर खोप लगाएका छौँ ।” पहिलो चरणमा दुई हजार खोपको मात्रा आएकाले सोहीअनुसार खोप लगाइएको र आवश्यक परे थप खोप खरिद गरिनेछ ।

भानु नगरपालिकाका केही ठाउँमा भने कृषकले पशुलाई यो खोप लगाउन आनाकानी गरेका छन् । अन्य पालिकामा भने सहजरुपमा खोप लगाइएको छ ।

  • रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?