ग्लोबल टी-२० क्यानडा : दीपेन्द्रको टोलीले सन्दीपको टोलीलाई हरायो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ग्लोबल टी-२० क्यानडा क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाली क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्सलाई हराएको छ । दुवै सन्दीप र दीपेन्द्रले राम्रो प्रदर्शन गरेको खेलमा मोन्टरिएलले ५ विकेटको जित हासिल गरेको हो । पहिलो ब्याटिङको निम्तो पाएको सर्रेले २० ओभरमा ६ विकेट गुमाएर १३६ रनको योगफल खडा गरेको थियो ।

टोलीका लागि इफ्तिकार अहमदले ४४ बलमा ४० रन जोड्नुभएको थियो । त्यस्तै, ओमानका जतिन्दर सिंहले १५ बलमा २७ रन जोड्नुभयो । सकिब अल हसनले चार ओभरमा १८ रन खर्चेर तीन विकेट लिनुभयो ।

जवाफमा मोन्टरिएलले १८.३ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य प्राप्त गर्‍यो । दिपेन्द्रले २२ बलमा दुई चौकासहित २८ रन जोड्नुभयो । दिलप्रित सिंहले ३१ बलमा एक छक्कासहित २८ रन नै जोड्नुभयो । उहाँ खेलको प्लेयर अफ द म्याच बन्नुभयो ।

त्यसअघि क्रिस लिनले १५ बलमा २२ रन र सकिब अल हसनले १३ बलमा २६ रन जोड्नुभयो । कार्लोस ब्रेथवेटले ६ बलमा दुई छक्कासहित नटआउट १४ रन जोड्नुभयो । सन्दीपले चार ओभरमा १७ रन खर्चेर २ विकेट लिनुभयो । उहाँले सकिब अल हसन र दीपेन्द्रको विकेट हात पार्नुभयो ।

दीपेन्द्र सम्मिलित मोन्टरिएलले आइतबार मिसिसौगा प्यान्थर्ससँग खेल्नेछ । सन्दीप सम्मिलित सर्रेले मध्यरातमा ब्राम्पटन वल्भ्सको सामना गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?