कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणमा ढिलाइ

Read Time = 8 mins

काठमाडाैं । कालीगण्डकी र आसपासका क्षेत्रमा निर्माण भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोरको दुई सय २० केभी प्रसारण लाइन निर्माण तत्काल गर्न आयोजना व्यवस्थापन पक्ष र निर्माण व्यवसायीलाई ताकेता गरेको छ । सो आयोजनाको निर्माण गत असारमा गर्ने लक्ष्य थियो ।

रुख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीयवासीको अवरोध र निर्माण व्यवसायी भारतीय कम्पनी एल एण्ड टीको कमजोर कार्यसम्पादनका कारण आयोजना निर्माणमा ढिलाई भएको प्राधिकरणले जनाएको छ । उक्त आयोजना निर्माणमा ढिलाइ भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार निर्माणस्थल अनुगमन गरी आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या र समाधानका उपायबारे छलफल गर्नुभएको थियो । छलफलअनुसार  प्रसारण लाइनको निर्माण यही साउनभित्रमा गर्ने नयाँ तालिका तय गरिएको छ ।

छलफलमा कार्यकारी निर्देशक घिसिङले जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि कालीगण्डकी करिडोर प्रसारण लाइन अत्यन्तै महत्वपूर्ण र संवेदशील रहेकाले जुनसुकै अवस्थामा पनि साउनभित्र सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले यो लाइन बनेपछि म्याग्दी, पर्वत, कास्की र लमजुङ जिल्लामा निर्माण भएका जलविद्युत् आयोजनाहरुको विद्युत् प्रवाह गर्न सहज हुने उल्लेख गर्नुभयो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका-१३ भूमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको एक सय २७ किलोमिटर डबल सर्किट प्रसारण लाइन आयोजना दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ ।

पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका-२ खुर्कोटसम्मको ३९  किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । पहिलो खण्डमा नै खुर्कोटमा दुई सय २०/एक सय ३२ केभी र दानामा दुइ सय २०/एक सय ३२/३३ केभी सबस्टेसन निर्माण भइसकेका छन् ।

दोस्रो खण्डअन्तर्गत कुश्माबाट नयाँ बुटवल सबस्टेसनसम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । यस खण्डमा पर्ने दुई सय ३५ वटा टावरमध्ये दुई सय ३४ वटा निर्माण भइसकेका छन् । रुपन्देहीको देवदह क्षेत्रमा एउटा टावर निर्माणाधीन अवस्थामा छ ।

पर्वत, पाल्पा र रुपन्देहीमा गरी गरिब सात किलोमिटर तार तान्न बाँकी छ ।  आयोजनाअन्तर्गत नवलपरासीको सुनवल नगरपालिका-१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म दुई सय २० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनका लागि टावर निर्माण गरी करिब आठ किलोमिटर डबल सर्किट तार तानिएको छ ।

कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार दुई सय मेगावाट विद्युत् प्रवाह गर्न सकिन्छ ।

नयाँ बुटबल-बर्दघाट प्रसारण लाइन पुसभित्र

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका-१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनबाट बर्दघाटसम्मको २२० केभी प्रसारण लाइन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृतिको निर्णय प्रक्रियामा भएको ढिलाइका कारण आयोजनाको निर्माणमा असर परेको थियो । अहिले आयोजनाले रुख कटानका लागि अनुमति पाइसकेको छ ।

प्रसारण लाइनका टावर र मार्गधिकार (राइट अफ वे) लागि ५०दशमलव ३१ हेक्टर वन क्षेत्रको जग्गा र त्यहाँ रहेका पाँच हजार आठ सय रुख हटाउनु पर्नेछ । आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख हटाएवापत रु २७ करोड ९९ लाख ४९ हजार वन विकास कोषमा जम्मा गर्नु पर्ने छ । यसमध्ये आयोजनाले पहिलो किस्तावापत रु तीन करोड ५१ लाख कोषमा जम्मा गरेपछि जग्गा प्रयोग र रुख कटानको स्वीकृति प्रक्रिया अगाडि बढेको थियो ।

कूल २१ किलोमिटर प्रसारण लाइनका लागि ५६ वटा टावर निर्माण गर्नु पर्नेछ । यसमध्ये २१ वटाको जग हालिएको छ । पाँच वटा टावर खडा गरिएको छ । प्रसारण लाइनका अधिकांश उपकरण आयोजनास्थलमा आपूर्ति भइसकेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा रहेको समस्या समाधान भइसकेकाले जनशक्ति थप गरी आगामी पुसभित्र निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो ।

उहाँले नवलपरासीको सुनवल नगरपालिका-१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म दुई सय २० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनमध्ये आयोजनाले तान्नुपर्ने डबल सर्किट तार तान्न  निर्देशन दिनुभयो । आयोजनाअन्तर्गत भूमहीमा दुई सय २०/एक सय ३२ केभी नयाँ बुटवल सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?