पाल्पामा पनि गठन भयो समाजवादी मोर्चा !

Read Time = 6 mins

-रामचन्द्र रायमाझी
पाल्पा । पाल्पामा चार दलले समाजवादी मोर्चा नेपाल गठन गरेका छन् । केन्द्रमा समाजवादी मोर्चा गठन भएसँगै पाल्पामा पनि सोही अनुरुप मोर्चा गठन गरिएको हो ।

सत्तारुढ गठबन्धनमा रहेका जिल्लास्थित नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, र सत्ताबाहिर रहेको नेकपा कम्युनिष्ट पार्टी मिलेर समाजवादी मोर्चा गठन गरेका छन् । चार कम्युनिष्ट घटकहरूले,राजनीतिक स्थिरताका लागि भन्दै समाजवादी मोर्चा गठन गरेको जनाएका छन् । चार दलको संयुक्त बैठकले पूर्व सासंद तथा नेकपा (एकीकृत समाजवादीका) जिल्ला इन्चार्ज यादब बहादुर रायमाझीको संयोजकत्वमा मोर्चा गठन गरेको हो ।

जनताले प्रत्यक्ष रूपमा अनुभूत गर्नेगरी परिणाम हासिल गर्न सरकारलाई सहयोग गर्ने, समाजको अग्रगामी रूपान्तरणको वातावरण बन्छ भन्ने आत्मविश्वास जनतामा विकास गर्नुको साथै अल्मलिएको राजनीतिलाई ठिक प्रकारले दिशानिर्देश गर्न मोर्चा गठन गरिएको संयोजक रायमाझीले बताउनुुभयो । उहाँले भन्नुभयो ‘ठूलो संघर्ष, त्याग र बलिदानको बलमा देशमा गणतन्त्र आएको र संविधानले समाजवादोन्मुख राज्यमा जाने संकल्प गरे पनि समाजवादका हिमायती शक्तिहरूबीच एकता र सहकार्यको बलियो आधार तयार नहुँदा त्यसको लाभ व्यवस्था विरोधीहरूले लिन कोसिस गरेको र जनतामा कुण्ठा र निरासाका संकेतहरू देखिन थालेकाले समाजवादको आधार निर्माणका लागि हामी एक ठाउँमा उभिएका हौं ।’ देशमा ठूलो राजनीतिक बहस , ध्रुवीकरण र संघर्ष अनिवार्य भएको ठानी नेपाली विशेषता र मौलिकता सहितको समाजवादी क्रान्तिको कार्यभारमा सहमत शक्तिहरूको संयुक्त मोर्चाको रुपमा समाजवादी मोर्चा बनेको उहाँले स्पष्ट पार्नुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र , जनताको मुक्ति र अधिकारका निम्ति दशकौँ लामो संघर्ष गरेका शक्तिहरूका विरूद्ध आम जनता भड्काउने प्रयत्नहरू भएकाले नेपालको संविधानको रक्षा र कार्यान्वयन, लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने पहरेदारका रूपमा दृढतापूर्वक यो मोर्चा उभिने संयोजक रायमाझीले बताउनुभयो ।

‘प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वाम–लोकतान्त्रिक सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित जनमुखी कार्यहरू गरिरहेको छ । सरकारले भ्रष्टाचारी, तस्कर र माफियाहरुलाई धमाधम पक्राउ गरिरहेको सन्दर्भमा आफुलाई जिम्मेवार बताउने केही शक्तिहरुले सरकारलाई हतोत्साहित बनाउने र भ्रस्टहरुलाइ संरक्षण गर्ने प्रकारका गतिविधि गर्नु सुशासन कै उपहास हो र समृद्धिको बाधक हो भन्ने हाम्रो ठहर रहेको छ । हामिले सरकारलाई भ्रष्टाचारका सबै फाइलहरु खोल्न , त्यसको निस्पक्ष रुपमा छानबिन गर्न र भ्रष्टाचारीहरुलाइ तत्काल कानुनी कठघरामा उभ्याउन माग गर्दछौं’ मोर्चाद्वारा जारी संयुक्त विज्ञप्तिमा समेत भनिएको छ ।

मोर्चाले जिल्लामा भएका समस्याहरुका बारेमा समेत चासो देखाएको छ । उसले मोर्चा गठन भएसँगै प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बस्तोलालाई जिल्लाका समस्याका बारेमा ध्यानाकर्षण पत्रसमेत बुझाएको छ । मोर्चाले सरकारका कामको सही प्रचार गर्न, जिल्लामा शुसासन कायमका लागि पहल गर्न, विद्युत, खानेपानी तथा सार्वजनिक यातायातको भाडा समायोजन जस्ता विषयमा ध्यानाकर्षण गराएको जनाएको छ ।

यस्तै टिपरका कारण सडक बिग्रिएको अवस्थाबारे चासो, स्थानीय तहमा देखिएको बेथिती तथा चुनढुंगा खानीबाट देखिएका समस्या समाधानका लागि पहल गर्न समेत उसले माग गरेको छ । नेकपा (एकीकृत समाजवादीका) जिल्ला इन्चार्ज यादब बहादुर रायमाझी, माओवादी केन्द्रका इन्चार्ज अनिल किशोर घिमिरे, जनता समाजवादी पार्टीका अध्यक्ष खिकबहादुर रेस्मी र नेपाल कम्युनिष्ट पार्टीका सचिव मीनबहादुर आलेले संयुक्त हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा जिल्लामा रहेका कतिपय कार्यालयहरुबाट सेवाग्राहीहरुलाई अनावश्यक झन्झट दिने , विकास योजनाहरु छिटो छरितो रुपमा सम्पन्न नगर्ने, गुणस्तरीयताको मापन बिना कमिसनको आडमा भुक्तानी गर्ने लगायतका गुनासोहरु आइरहेकाले ध्यानाकर्षण भएको उल्लेख छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?