चैतन्यदीपमा थप चेतना

Read Time = 16 mins

आध्यात्मिक क्षेत्रका एक धरोहर उद्धवप्रसाद भट्टराई नेपाली साहित्यले चिनेको नाम हो, उनी चैतन्यदीपका नामले बढी चिनिन्छन् । लामो समय कृषि विकास बैंकमा सेवारत चैतन्यदीप काभ्रेका हुन् र कर्मथलो उनको काठमाडौं रहेको छ । बेलाबखत मात्रै आमसञ्चारमा झुल्कने गरेका उनले हालै विश्व प्रसिद्ध सन्तहरूको जीवन चरित्र पुस्तक तयार गरेर सञ्चारक्षेत्रमा अलि बढी उदाएका छन् । यसअघि पनि उनका साधना विज्ञान, महासमुद्रका तरंगहरू, मुक्त हृदयको आवाज, गुरु गंगा, विशुद्धदेव दिव्य साधना सूत्र पुस्तक प्रकाशित भइसकेको छ ।

स्वामी विशुद्धदेवका अनुयायी लेखक उद्धव भट्टराई आफूलाई योग गुरुका रूपमा चिनाउन सफल छन् । हालै प्रकाशित सन्त जीवनी पुस्तक प्रकाशन श्रीमती शान्ता भट्टराईबाट भएको छ भने सहारा प्रिन्ट कनेक्सन मुद्रक बन्दै अन्य विभिन्न बुक स्टलहरू यसका वितरक बनेका छन् । बजारमा सजिलै उपलब्ध यो पुस्तक झण्डै पौने पाँच सय पृष्ठको छ । यो एकै बसाइमा पढ्न सम्भव त छैन तर सरसर्ती हेर्दा प्रस्तुति सरल छ, मीठो छ र भन्नै पर्छ पुस्तक संग्रणीय पनि छ, यसै पनि साधु सन्त भनेका तीर्थस्वरूप नै हुन् ।

जति प्रयत्न गरे पनि संसारका स्थावर तीर्थ सबै भेट्न सकिँदैन । मानिसको विधि व्यवहार सत्यवादिता, अरूप्रतिको क्षमाभाव, आप्mना इन्द्रियहरूलाई शमन, सबै प्राणीप्रतिको दया, प्यारो र मीठो वचन, ज्ञान प्राप्ति र वितरण, मन, वचन र कर्मप्रतिको तप यी सात प्रकारका तीर्थ सेवन जरुरी छ ।

तृ धातुमा थक् प्रत्यय लाग्दा तीर्थ शब्द बन्छ । तीर्यते अनेन अर्थात् जसबाट तरिन्छ त्यसको नाम तीर्थ हो । तरति पापादिकं यस्मात् अर्थात् जसबाट पापहरूबाट मुक्ति मिल्छ त्यसलाई तीर्थ भनिन्छ र अन्यक्षेत्रे कृतं पापं तीर्थक्षेत्रे विनश्यति तीर्थक्षेत्रे कृतं पापं बज्रलेपो भविष्यति भन्ने अर्थमा अरू क्षेत्रमा अञ्जानमा भएका पाप तीर्थ क्षेत्रबाट नाश हुन्छन् भने तीर्थक्षेत्रमा भएका पाप भने बज्र समान स्थिर भएर रहन्छन् । तीर्थ स्थावर र जंगम गरी दुई प्रकारको हुन्छ । त्यसमा पनि जलको महत्वले तीर्थ हुन्छ भने माटोको महत्वले धाम हुन्छ । धर्तीमा स्थीर रहेर पुण्य प्रदान गरिने क्षेत्र स्थावर हो भने चलायमान क्षेत्र भनौं चलफिर गरी प्राप्त हुने पुण्यलाई जंगम तीर्थ भनिन्छ ।

शाश्त्रको अध्ययन, सत्संग, कथा, पुराण आदि भगवत् नाम संकीर्तनलाई जंगम तीर्थ भनिन्छ । भागवतको विश्राम श्लोकले नाम संकीर्तनं यस्य सर्व पाप प्रणाशनम् प्रणामो दुःख शमन तं नमामि हरिं परम् भनेको छ । भागवतको आद्य श्लोक भनेको सच्चिदानन्द रूपाय विश्वोत्पत्यादिहेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नुमः हो । अर्थात् सृष्टि, स्थिति र संहारका प्रतीक, मानिसका तीन किसिमका ताप आध्यात्मिक, आदिदैविक र आधिभौतिक ताप शमन गर्ने श्रीकृष्णलाई नमन र भगवत् नामले जीवका सबै पापहरू नाश हुन्छन् भन्ने यी बाक्यहरूको मर्म हो । त्यसैले महाकविले आर्यघाटमा अन्तिम विश्राम लिँदा भने आखिर श्रीकृष्ण रहेछ एक न भक्ति भो ज्ञान न भो विवेक ।

जति प्रयत्न गरे पनि संसारका स्थावर तीर्थ सबै भेट्न सकिँदैन, त्यसैले स्कन्द पुराणले भनेको छ सत्यतीर्थं क्षमा तीर्थं तीर्थमिन्द्रियनिग्रहः सर्वभूत दया तीर्थं तीर्थंच प्रियवादिता, ज्ञान तीथं तपस्तीर्थं कथितं तीर्थ सप्तकम् । अर्थात् मानिसको विधि व्यवहार सत्यवादिता, अरुप्रतिको क्षमाभाव, आप्mना इन्द्रियलाई शमन, सबै प्राणीप्रतिको दया, प्यारो र मीठो वचन, ज्ञान प्राप्ति र वितरण, मन, वचन र कर्मप्रतिको तप यी सात प्रकारका तीर्थ सेवन जरुरी छ ।

महाभारतमा भगवन् श्रीकृष्ण युधिष्ठिरलाई भन्नु हुन्छ आत्मा नदी संयमपुण्यतीर्थाः सत्योदकाः शीलतटा दयोर्भिः तत्रावगाहं कुरु पाण्डुपुत्र न वारिणा शुद्ध्यति चान्तरात्मा । अर्थात् आत्मा नदी हो, संयम तीर्थ हो, सत्य जल हो, दया ननदीका किनारा हुन्, पानीलेमात्र शुद्ध हुने होइन । अन्तरआत्मामा डुबुल्की मार्नुपर्छ, जसरी गोताखोरहरूले समुद्रको मणि लिन सक्छन्, पानीलेमात्र शुद्ध हुने भए त जलचरहरूले ठूलो पुण्य कमाउँथे ।

त्यसो त गृहस्थ जीवन आफैं तीर्थक्षेत्र हो र त हाम्रा महाकविले भने हाडहरूका सुन्दर खम्बा मांश पिण्डका दिवार नसा नदीका तरल तरंग मन्दिर आफैं अपार । माता तीर्थ, पिता तीर्थ, गुरु तीर्थ, भक्त तीर्थ, पति तीर्थ, पत्नी तीर्थ सन्त तीर्थ यी सबै तीर्थमा गोता लाउँदा गृहस्थ जीवन आफैंमा तीर्थ बन्छ अर्थात् बुबा आमाको सेवा, गुरुप्रतिको श्रद्धा, भक्तजनको सेवा, पति-पत्नीबीचको सामान्जस्यता यी तीर्थ सेवा नै हुन् ।

त्यसैले स्थावर वा जंगम जुन तीर्थमा पुगे पनि हात, खुट्टाको संयम, मन, बुद्धिको संयम, विद्या र तपको संयम, सन्तोष र उपकार, दम्भ र आहारको संयम, जितेन्द्रियको भाव र व्यवहार, कुभाषण नगर्ने, खराब संगतबाट टाढा रहने, क्रोधको अभाव, मतिले गति निर्धारण गरी सत्यवादी, दृढ निश्चयी भई हर प्राणीप्रतिको दयाले ईश्वरको याद हुने हुन्छ, ईश्वरको याद भनेको गृहस्थको तीर्र्थको जीवन यापन हो, भनेको घरै तीर्थ हो ।

नीतिले भनेको छ तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोद्दार कथा प्रसँग । अर्थात् कलिमा स्थावर तीर्थमा प्रदूषण बढ्छ, प्रदूषण भन्नु नै पाप हो त्यसैले तीर्थ त्यहीँ हुन्छ जहाँ भगवत् सेवा, चर्चा, चिन्तन, कथा प्रसंग, लीला अवतार प्रसंग र तिनका नाम जहाँ लिइन्छ त्यहीँ तीर्थ हुन्छ र शास्त्रकारले यसैलाई जंगम तीर्थ भनेका हुन् । हजारौँ योजन (एक योजन बराबर चार कोश) टाढाबाट गंगाको नाम लिए पनि सबै किसिमका पाप, कल्मषहरू हट्ने छन् भनिएको छ गंगा गंगेति यो ब्रुयात् योजनानां शतैरपि मुच्यते सर्व पापेभ्यः विष्णुलोकं स गच्छिति ।

मूल कुरा शास्त्रको भनाइ इन्द्रिय निग्रह हो, नीतिले भनेको छ आपदां कथित मार्गमिद्रियाणांमशयम तज्जयं सुकृतं मार्गं येनेष्टं तेन गम्यताम् अर्थात् इन्द्रिय अशंयमी हुनु भनेको कुमार्ग र त्यसमाथिको विजय भनेको सुमार्ग हो जुन मन लाग्छ त्यही अप्नाऊ किनभने शास्त्र शस्त्र भएर आउँदैन बाटोमात्रै देखाउँछ । उद्धवजीद्वारा लिखित प्राचीन र आधुनिक गरी ५५ जना सन्तहरूको जीवन चरित्रमा कतै पनि संस्कृत श्लोकहरू मिसिएको पाइँदैन । छिटपूmट रूपमै भए पनि देव वाक्य, देव वाणीका रूपमा रहेको संस्कृत श्लोकहरू पनि भइदिएको भए अध्यात्मक्षेत्रका अनुयायीहरूलाई पुस्तकले थप हौसला दिन्थ्यो ।

स्रष्टा सन्त, महात्मा विभूतिहरू स्थान र भूगोल विशेषमा सीमित हुँदैनन्, यद्यपि खारिएर संसारलाई उपदेश दिन योग्य यस्ता एउटै सन्तहरूका विषयमा दर्जनौं बाक्ला पुस्तकहरू तयार गर्न पनि सकिन्छ । संसारका सन्तहरूको सामान्य परिचय एकै पुस्तकबाट दिने प्रयास आफैंमा पनि सराहनीय नै छ ।

प्राडा.दीर्घराज घिमिरे, विद्वान् डा.गोविन्द टण्डन, स्वामी नीलकण्ठानन्द गिरीले सम्मति दिनुभएको मोटो पुस्तकलाई प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेती, प्रथम उपराष्ट्रपति परमानन्द झाले शुभकामना दिएर पुस्तकको उचाइलाई बढाइदिएको देखिन्छ । यति उचाइमा पुगेको पुस्तकका हरेक पानामा भाषाशास्त्रीको पनि उपस्थिति हुन सकेको भए सुनमा सुगन्ध हुन्थ्यो होला । हाम्रो नेपाली भाषा दिनानुदिन ओरालो लागेको झल्को आइरहन्छ यो पुस्तकमा पनि । झण्डै ६ दर्जन विश्वसन्तहरूको जीवन चरित्र उतारिएको पुस्तक संस्कृत साहित्यका आदिकवि महर्षि वाल्मीकिबाट सुरु हुन्छ भने जनकका गुरु याज्ञवल्क्य, वेद व्यास महामुनि शुकदेव स्वामी हुँदै पछिल्ला योगी नरहरिनाथ, रजनीश, अघोरी बाबा, स्वमी प्रपन्नाचार्य र रामानन्द गिरीमा पुगेर समापन हुन्छ ।

स्वामी विशुद्धदेव, स्वामी राम, साइ बाबा, ब्रहृमा बाबा, शिरडी साइबाबा, पण्डित श्रीराम, स्वामीहरू करपात्रीजी, जे कुष्णमूर्ति, वाल्डो इमर्सन, तरुण सागर, कृपालुजी महाराज, खप्तड बाबा, योगानन्द परमहंस, विवेकानन्द, रामकृष्ण परमहंस, अरविन्द घोष, दयानन्द सरस्वती, महाअवतार बाबा, मीरा बाई, चिन्मयानन्द सरस्वती, लाहिडी महाशय, प्रभुपाद, रामतीर्थ, गुरु नानक, गोरखनाथ, एकनाथ, तुल्सीदास, कबिरदास, सन्त ज्ञानेश्वर, रामानन्दाचार्य, रामानुजाचार्य, मुहम्मद सायव, महावीर, सुकरात, शंकराचार्य, गौतम बुद्ध, जिसस् क्राइष्ट लगायतका विश्व प्रसिद्ध सन्तहरूको चरित्र अटाएको यो पुस्तक सामान्य सन्तहरूको जीवनी बुभ्mन खोज्ने पाठकहरूका लागि अत्यन्त उपगयोगी छ ।

स्रष्टा सन्त, महात्मा विभूतिहरू स्थान र भूगोल विशेषमा सिमित हुँदैनन्, यद्यपि खारिएर संसारलाई उपदेश दिन योग्य यस्ता एउटै सन्तहरूका विषयमा दर्जनौं बाक्ला पुस्तकहरू तयार गर्न पनि सकिन्छ । संसारका सन्तहरूको सामान्य परिचय एकै पुस्तकबाट दिने प्रयास आपैंmमा पनि सराहनीय नै छ । सबैजसो सन्तहरूको ध्येय समाज सुधार नै हो । हिजोआज बिग्रँदै गएको समाज स्वरूपलाई लगाम लगाउने काम कसैबाट भएको देखिँदैन । इमानदारीको अभाव, पथभ्रष्टहरूको बिगबिगी भइरहेको हाम्रो समाजलाई यो पुस्तकले केही न केही सन्देश दिन्छ नै । यसमा संलग्न सन्तहरूको भनाइलाई केलाउँदा समग्रमा निम्न सन्देश दिन खोजेको अनुभूति हुन्छ यसमा : बाँच र बाँच्न देऊ, कसैलाई दुःख नदेऊ, मानव जीवन अमूल्य छ, लाखौं शत्रु जित्ने प्रयास गर्नुभन्दा आफैंलाई जित्न सक्नु महानता हो, सबै प्राणीमा समभाव राख, दया र करुणा नै ईश्वरका प्रतिमूर्तिहरू हुन्, कसैप्रति घृणा र द्वैष नगर, मानव मानवका बीच भेदभाव राख्नु अधर्म हो, आत्मा अजर र अमर छ, संसारमा एक्लै आइयो एक्लै जानुपर्छ, कसैले कसैलाई साथ दिँदैन, मसानघाटबाट त्यहीँ छोडेर सबै फर्कन्छन्, क्रोधले क्रोधकै जन्म दिन्छ, क्षमा र प्रेम भावले नै संसार जित्न सकिन्छ, महाभारतको निचोड पनि हो यो, सत्य र अहिंसा धर्ममा रहनुपर्छ, ब्रहृमचर्य, अपरिग्रह, अस्तेयलाई साधनाको रूपमा लिनुपर्छ, जन्मनु मर्नुमा दुःख छ, मोह नै सबै दुःखको कारण हो ।

यस्ता हजारौं सन्देशहरू पाइन्छन् साधु सन्तहरूको जीवनीमा । सादा जीवन र उच्च विचारले नै व्यक्ति महान् बन्न सक्छ र अन्त्यमा भागवतको श्लोक अहं सर्वेषु भुतेषु अर्थात् ईश्वरको भनाइ छ म सबै प्राणीमा छु, निचोड यही नै हो । पवित्र विचार बोकेको यो पुस्तक लेखक उद्धव भट्टराईबाट आएको छ, यो स्तुत्य छ, प्रशंसनीय छ, संग्रणीय छ, उद्धवजी र उनको टिमलाई साधुवाद दिनुपर्छ, भविष्यमा अझ स्तरीय पुस्तक नेपाली साहित्यले उनीबाट पाउन सकोस्, शुभकामना पनि छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?