क्यान्सर फाउण्डेसनलाई म्यामोग्राफी मेसिन

हिमालय टाइम्स
Read Time = 3 mins

ललितपुर । नेपाल क्यान्सर केयर फाउण्डेसनले ललितपुरमा सञ्चालन गरेको महिला क्यान्सर सेन्टरमा स्थापित म्यामोग्राफी मेसिन जडान गरी फाउण्डेसनलाई हस्तान्तरण गरिएको छ । जापान सरकारले जनस्तरीय आयोजना तथा मानवीय सुरक्षा अनुदान सहयोग कार्यक्रम (ग्रान्ट एसिस्टेन्स फर ग्रासरुट्स हृयुम्यान सेक्युरिटी प्रोजेक्ट्स (जिजिपी) अन्तर्गत महिला क्यान्सर सेन्टरमा मेसिन जडान गरेको हो ।

सोमबार आयोजित कार्यक्रममा नेपालस्थित जापानी राजदूत किकुता युताकाले सन् २०१९ को अन्त्यमा सम्पन्न आयोजना २०२० को मार्चमै हस्तान्तरण गर्ने योजना रहे पनि कोरोनाले पर सरेको बताउनुभयो । जापानको सहयोगमा नयाँ म्यामोग्राफी उपकरण जडानपछि केन्द्रको स्तन क्यान्सर स्क्रिनिङमा उल्लेख्य सुधार आएको उहाँले बताउनुभयो । पछिल्लो एक वर्षमा मेसिन प्रयोग गरेर पाँच सयभन्दा बढी स्तन क्यान्सर परीक्षण गरिएको फाउण्डेसनले जनाएको छ । भाइरस परीक्षण र खोपमार्फत् रोकथाम गर्न सकिने पाठेघरको क्यान्सर स्क्रिनिङमार्फत् प्रारम्भिक रूपमा पहिचान गर्न र त्यसपछि उपचार गर्न मेसिन अत्यन्तै महत्वपूर्ण हुने राजदूत किकुताले बताउनुभयो ।

फाउण्डेसनका अध्यक्ष सुशिलकुमार पन्तले गैरनाफामूलक फाउण्डेसनको क्यान्सरविरोधी लडाइँलाई मेसिन वरदान साबित हुने बताउनुभयो । आर्थिक स्रोतको कमीबीच क्यान्सरविरोधी अभियान सञ्चालन गरिरहेको फाउण्डेसनलाई विभिन्न संस्थाले सहयोग गरिरहेको पनि उहाँले जानकारी गराउनुभयो ।

फाउण्डेसनका महासचिव डा. सरिता घिमिरेले विशिष्टीकृत सेवा न्यूनतम शुल्क वा निःशुल्क उपलब्ध गराउन सके क्यान्सरबाट बचाउन सकिने मान्यतासाथ सन् २०१४ मा स्थापित फाउण्डेसन विभिन्न दाताको सहयोगले यहाँसम्म आएको बताउनुभयो । महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर उच्च बिन्दुमा रहेको भन्दै उहाँले स्थापनाकालदेखि सोही प्रमुख क्यान्सरलाई केन्द्रमा राखी फाउण्डेसनले कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । फाउण्डेसनले घुम्ती स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको छ । फाउण्डेसनका कोषाध्यक्ष राजेन्द्र अर्यालले जापानको सहयोगबाट संस्थालाई लक्ष्यमा पुग्न निकै सहज हुने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?