आँधीपछि प्युरी खोज्दै नेपाली कांग्रेस

हिमालय टाइम्स
Read Time = 7 mins

रमाइलो कुरा त के छ भने नेपालको राजनीति सधैं बाङ्गोटेडो बाटोमा मात्र हिँडिरहेको छ । २०४६ सालको प्रजातन्त्रको सुरुकै दिनदेखि बहुदलवादीहरूमै एकता हुन सकेन । त्यतिमात्रै होइन आ-आफ्ना पार्टीभित्र पनि एक मन र एक विचार कायम गराउन नेताहरू सफल बन्न सकेनन् । त्यसको बिउ रोप्ने काम त नेपाली कांग्रेसले नै गर्‍यो । २०४८ सालमा पहिलो पटक नेपाली कांग्रेसप्रति जनविश्वास थियो, यो पार्टी एकल बहुमत ल्याउन सफल बनेको पनि थियो । तर आपसी कलह चुलिनाले पूर्णसमय सरकार चलाउन पार्टी सक्षम भएन । बिचैमा मध्यावधिमा हेलिन पुग्यो । यो रोग सधैंका लागि उकुच पल्टिँदै बल्झिँदै आइरहेको छ । अहिलेसम्म निको भएको छैन बरू अझै फैलिँदै छ ।

नेपाली कांग्रेसमा मात्र होइन अरू पार्टीहरूको अवस्था पनि उस्तै हो । पहिलो पटक वर्तमान संविधान अनुसार २०७४ सालको आमनिर्वाचनबाट सबैभन्दा ठूलो पार्टी बन्न पुगेको नेकपा पाँच वर्ष नपुग्दै छिन्नभिन्न बन्न पुग्यो । कलहले महाभारत रच्न पुगेको उक्त पार्टीका विभिन्न पक्षका नेता सडक आन्दोलनमा पुगे । टुक्रिएर विभिन्न पार्टी बने । आफ्नो सिद्धान्त मिल्नेभन्दा अर्कोलाई नजिकको ठानेर सत्तामा पुगे । नेपाली कांग्रेससँग उनीहरूको विचार मिल्दैनथ्यो तैपनि उसैलाई नेतृत्व दिएर आफूपछि लागे । गठबन्धनको सरकार चलाए । त्यतिसम्म ठीकै थियो निर्वाचनमा समेत गठबन्धन गरेरै गए । यसलाई गठबन्धनमा रहेका पार्टीहरूको अभूतपूर्व एकताका रूपमा हेरियो तर जब निर्वाचन परिणाम आयो तब सरकार बनाउने क्रममा नेकपा माओवादी केन्द्र नेकपा एमालेसँग मिल्नपुग्यो ।

तिनले अन्य साना पार्टीहरूलाई समेत आफ्नो गठबन्धनमा सामेल गरेपछि सबैभन्दा ठूलो दल भएर पनि कांग्रेस प्रतिपक्ष बन्न पुग्यो र तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्र सरकारको नेतृत्वमा पुग्यो । कांग्रेस आफ्नै कारण यस्तो अवस्थामा पुगेको हो भनेर विश्लेषण गर्ने गरिन्छ । त्यसको अन्तर्य जेसुकै होस् नेपाली कांग्रेसले जहिले सत्तालाई नै केन्द्रबिन्दु बनाएको हुन्छ । हुन त सबैले नै सत्ताकै लागि राजनीति गरेका हुन् तर नेपाली कांग्रेसका हकमा बढी यो आक्षेप लाग्ने गरेको छ । यस पटकको अवस्था फरक हो ।

सबैभन्दा ठूलो दल बनेका कारण सरकार गठनका लागि उसैको पहल स्वाभाविक थियो र आफ्ना गठबन्धनभित्रका दललाई समेट्दा बहुमत पुग्न नसके पनि केही साना दलको दुईचार सिट तान्ने बित्तिकै सहज हुने अवस्था थियो । तर, माओवादी केन्द्र चिप्लिएपछि कांग्रेस एकाएक प्रतिपक्षमा पछारिएर सबैथोक गुमाउन पुग्यो । यसपछि अनेक विवाद त सिर्जना भइरहेकै छन् । अहिलेसम्ममा सबै ठूला पदहरू, संघीय तथा सबै प्रदेशमा गठबन्धनकै सरकार बनेका छन् । संघीय सभामुख पनि एमालेकै सांसदबाट चयन गरिसकिएको अवस्था छ र अब आकर्षक पदमा राष्ट्रपतिको चयन हुनमात्र बाँकी छ । त्यो समय निकटमै आइरहेको छ । नेपाली कांग्रेसले त्यसको अपेक्षा गरेको छ । नेकपा एमालेबाहेकका अन्य सत्तारुढ पार्टीहरूको पनि कांग्रेसप्रति सहानुभूति देखिन्छ तर एमाले त्यसका लागि कठोर बनिरहेको छ ।

कांग्रेसले बेला-बेलामा राष्ट्रपतिमा आफ्नो पार्टीले उम्मेदवारी दिने बताउँदै आएको छ । कसैको समर्थन र सहयोगविना उसको उम्मेदवारीको औचित्य खासै देखिँदैन । त्यो प्रतिस्पर्धाका लागि मात्र हुने पक्का छ । कांग्रेसका नेताहरूले बेला–बेलामा यो सरकार धेरै टिक्दैन र छिटै नेपाली कांग्रेस नेतृत्वको सरकार बन्छ भनिरहनु भएको कुरालाई आधार तयार नगरी बोलेको बोलीका रूपमा जनताले बुझ्ने गरेका छन् । कांग्रेस जहिले पनि सत्ताकै लागि मरिमेट्छ भनेर आलोचना गर्ने आधार यसैलाई बनाउँछन् । सत्ता गठबन्धनमा पनि सौहाद्र्र सम्बन्ध नरहेको बाहिर आएका केही चर्चाहरूले देखाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छोड्ने पक्कापक्ककीको अवस्थामा त्यस पार्टीलाई थामथुम पार्ने काम सरकारको नेतृत्व पक्षबाट भएको छ ।

साना पार्टीहरू पनि सन्तुष्ट छैनन्, समाचार आइरहेकै छन् । यी सबै अवस्थाबाट सरकारको स्थायित्व छैन त भन्न सकिएला तर वर्तमान सरकार बनेको केही समयमात्रै बित्तै गरेको अवस्थामा नेपाली कांग्रेस सरकारमा पुगिहाल्ला भन्ने आधार चाहिँ देखिँदैन तैपनि ऊ प्रयासरत छ । नेपाली कांग्रेस भरखरै सम्पन्न निर्वाचनलगत्तै सरकारमा जान नपाएकाले नेपाली कांग्रेसले आफ्ना पोल्टामा आएको सर्वस्व गुमाएको अवस्था छ र अब राष्ट्रपतिको पदको अपेक्षा कुनै ठूलै उथलपुथल भएन भने हात्ती उडाउने आँधी आएपछि प्युरी खोजेको अवस्थाभन्दा फरक रूपमा चित्रण हुने देखिँदैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?