गृहमन्त्रीको गैरजिम्मेवारीले हद नाघ्यो, सुन तस्करको पूरा अनुसन्धान नभएसम्म छोड्दैनौँः अध्यक्ष ओली (भिडियाेसहित)

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टल सुन बाहिरिएको बारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

सोमवार राति कम्बोडियाको भ्रमण गरेर स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले गृहमन्त्रीले गैरजिम्मेवार र बत्तमिजी भएको उल्लेख गर्नुभएको हो । उहाँले गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ वा छैन भन्ने कुरा प्रमाणित गर्नुपर्ने र आफ्नो संलग्नता नभए कसको छ भन्नुपर्ने बताउनु भयो । उहाँले विमानस्थलमा गृह मन्त्रालयले सुरक्षाकर्मी राखेको छ की छैन भन्दै प्रश्न गर्नुभयो ।

उहाँले गृहमन्त्री भएर गैरजिम्मेवार अभिव्यक्ति दिँदै नहिँड्न चेतावनी दिनुभयो । उहाँले कसैले गृहमन्त्रीको जवाफदेहीको कुरा उठायो भनेर गृहमन्त्रायलमा मुद्दा हाल्न जानु कति न्यायसंगत हुन्छ भन्दै प्रश्न गर्नुभयो । उहाँले एक सञ्चारमाध्यमले उक्त सुन तस्करी प्रकरणको समाचारमा आफ्नो फोटो राखेकोप्रति आपत्ति जनाउनु भयो । उहाँले नेपाल च्याम्बर अफ कमर्सको अधिवेशनमा खिचिएको फोटो जोडेर आफ्नो भ्रामक प्रचार गरिएकोप्रति आपत्ति जनाउनु भयो । सुन तस्करीको विषयलाई छोप्न गृहमन्त्रीले कुराहरु मोड्ने काम गरिरहेको बताउनु भयो ।

उहाँले अनियमितता गर्नेहरुलाई अब छुट नहुने बताउनु भयो । अध्यक्ष ओलीले सुन काण्डको सिलसिलाको कारबाही अन्तिमसम्म नपुर्‍याइकन एमालेले नछोड्ने बताउनु भयो । उहाँले सुन बोक्ने भन्दापनि बोक्न लगाउनेहरुलाई समातेर कारबाही नगरेसम्म एमाले चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘एउटा नयाँ पत्रिका भन्ने छ के हो नेपालमा । त्यो पत्रिकाले मेरो फोटो छापेर, सोझै मेरो फोटो छापेर मेरो फोटो किन छाप्या । म न सरकारमा छु, न मैले पुलिस चलाउने ? न म इमिग्रेशन चलाउने ? मेरो फोटो किन छापेको ? अनि यो कुन पार्टीको भने गृहमन्त्रीको पार्टीको पत्रिकाले छाप्छ, तपाईहरुमध्ये कोही हुन सक्नुहुन्छ होला नयाँ पत्रिकाको । तर प्रधानमन्त्री, गृहमन्त्रीको पार्टीद्वारा सञ्चालित पत्रिका, सबैलाई थाहा छ त त्यो माओवादी पत्रिका हो भनेर । न्युनतम धर्म त राख्नुपर्छ नि । न्युनतम मर्यादा त राख्नुपर्छ नि । यो पित पत्रकारिता भन्दा पनि कालो पत्रकारिता हो । यस्तो पनि हुन्छ । नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ हाम्रो । उहाँले यहाँ सेक्युरिटीको बन्दोबस्त गरेको छ की छैन । एयरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँको हो की होइन ? यहाँको आउने जाने चिजको निरीक्षण गर्ने काम उहाँको हो की होइन । क्वीन्टलका क्वीन्टल सुन बाहिर जान्छ, गृहमन्त्री टारको गालामा गएर काँक्रोको बियाँ अर्काको गालामा टाँस्नुहुन्छ । यो अनैतिक क्रियाकलाप हो । गृहमन्त्रीको क्रियाकलाप गैर जिम्मेवार, आफू गृहमन्त्री भएर यसको भएपनि उसको भएपनि यस्ता खालका गैर जिम्मेवार कुरा गरेर हिँड्ने गृहमन्त्रीले ? गृहमन्त्रीले बताउनुपर्छ, उहाँको संलग्नता छ की छैन ? सानो तिनो संलग्नताबाट त यो काम भएको छैन होला, उहाँको चाहीँ संलग्नता भएको छ की छैन ? छैन भने कसको संलग्नता छ, को छ यसमा ? यत्तिकै कोटका गालामा काँक्राको बियाँ टास्ने होइन । म उहाँलाई सचेत गराउन चाहन्छु, गृहमन्त्रीको हैसियतले उहाँले बोल्दा तरिका पुर्‍याएर बोल्नुपर्छ । बत्तमिज हुनु एउटा कुरा हो, तर यो त बत्तमिजीको कुरा मात्रै होइन, गैर जिम्मेवार हद भयो यो । जथाभावी बोल्ने गृहमन्त्री भएर ? जथाभावी बोल्न गृहमन्त्रीलाई छुट छ ? अनि अर्को कसैले गृहमन्त्रीको जवाफदेहीको कुरा उठायो भने मुद्दा हाल्न जाने ? अरुलाई । गृहमन्त्री माथि मुद्दा हाल्ने की नहाल्ने ? गृहमन्त्रीले कोर्ट र टारका सम्बन्धमा चर्चा गरेको अर्थ के हो ? तसर्थ यहाँनेर उहाँको पत्रिका नयाँ पत्रिकाले शुरुमै बोल्नु च्याम्बरको अधिवेशनमा खिचिएको फोटो, च्याम्बरको अधिवेशनमा व्यापारी नभएर को हुन्छ ? किसान हुन्छ, व्यापारी त हुन्छ । त्यो फोटो छाप्छन् । यस्ता गम्भीर विषयलाई डाइभर्ट गर्न खोज्ने, ध्यान कता मोड्न खाजेको ? के छोप्न खोजेको ? आकाशतिर चिल देखाएर यता के लुकाउन खोजिँदै छ । म नयाँ पत्रिका गृहमन्त्री जस्ताहरुलाई सोध्न चाहन्छु । के छोप्न खोजिँदै छ ? अबको समयमा कसैले पनि यस्ता काम गरेको छ भने अब छोडिनेवाला छैन । यो सुन काण्डको सिलसिला अन्तिमसम्म नपुर्‍याइकन हामी पनि छोड्दैनौँ । गृहमन्त्रीलाई थाहा होस्, यो गृहमन्त्रीसम्म पुगोस् । कहीँ भएपनि पहिला पनि सुन काण्ड तस्करी हुने गरेको थियो, खनेर निकालेको हो हामीले, फेरि पनि यस्ता कुरालाई हामी खनेर ननिककालेसम्म छोड्दैनौँ । यसमा कारबाही के हुन्छ, कसमाथि कारबाही हुन्छ, हेरिरहेका छौँ । बोक्न त प्लेन, गाडी भरियाले बोक्यो होला तर बोकाउने को ? कसले बोकायो ? त्यसकारण यो ढाकछोप हुन सक्दैन ।’

गृहमन्त्री श्रेष्ठले सुन समातिएपछि विमानस्थल भन्सार र अध्यागमनको निरीक्षण गर्ने क्रममा बालुवाटार र बालकोटप्रति संकेत गर्दै कुनै पनि टार, कोट र पार्टीले छानबिन रोक्न नसक्ने अभिव्यक्ति दिनुभएको थियो । सोही अभिव्यक्तिलाई लिएर अध्यक्ष ओलीले गृहमन्त्रीलाई अनुसन्धान गर्न पूर्ण अधिकार रहेको तर प्रमाण बिना गैरजिम्मेवारी अभिव्यक्ति दिँदै हिँड्न नहुने बताउनु भयो ।

अध्यक्ष ओलीले क्वीन्टल सुन विमानस्थलबाट बाहिरिँदा त्यहाँको सुरक्षा व्यवस्था के भएको थियो भन्दै गृहमन्त्रीको भुमिकामाथि नै आशंका व्यक्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?