श्रमिकको पारिश्रमिक बढाउँदा सिएनआई असन्तुष्ट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएका सन्दर्भमा नेपाल उद्योग परिसंघ(सिएनआई)ले असन्तुष्टि जनाएको छ ।

अर्थतन्त्र मन्दीमा रहेको, उच्च ब्याजदर, न्यून माग, न्यून उत्पादनका कारण निजी क्षेत्रकोे मनोबल घट्दोक्रममा रहेको, उद्योगहरूको प्रकृतिअनुसार उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएको विद्यमान अवस्थाका कारण उद्योगी व्यवसायीहरूले लगानीका योजना स्थगन गरिरहेको सिएनआईको दाबी छ ।

अर्थतन्त्र शिथिल बन्दै जाने, आन्तरिक उत्पादन नबढ्ने, उत्पादन भए पनि माग नहुने तर उत्पादन लागत बढ्दा त्यसको थप भार उद्योगमाथि पर्ने उनीहरूको भनाइ छ । श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने चाहना हुँदाहुँदै पनि विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको पनि सिएनआईले जनाएको छ ।

साथै सिएनआईले विद्यमान चुनौतीपूर्ण अवस्थामा सुधार ल्याई अर्थतन्त्रलाई चलायमान बनाउन, समग्र बजार माग बढाउने नीति अवलम्बन गर्न, उत्पादन लागत घटाउने तथा निजी क्षेत्रको मनोबल बढाउनेतर्फ अग्रसर हुन सबै सरोकारवालासमक्ष आग्रहसमेत गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?