एएफसी कपका लागि मच्छिन्द्रमा आठ खेलाडी अनुबन्ध

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । मच्छिन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक छनोटका लागि आठ नयाँ खेलाडीलाई टोलीमा अनुबन्ध गरेको छ । शहीद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन टोली चर्च ब्वाइज युनाइटेडले एएफसी क्लब लाइसेन्स नपाएका कारण दोस्रो स्थानमा रहेको मच्छिन्द्रले दोस्रोपटक लगातार एएफसी कप खेल्दैछ ।

त्यसका लागि मच्छिन्द्रले राष्ट्रिय टोलीका पाँच युवा खेलाडीसहित आठ खेलाडीलाई समेटेको हो । मच्छिन्द्रले लिग च्याम्पियन चर्च ब्वाइजका विंगर आशिष चौधरी र मिडफिल्डर एरिक विष्टसँगै राष्ट्रिय टोलीका मिडफिल्डर लाकेन लिम्बू, विंगर आयुष घलान र डिफेन्डर सनिश श्रेष्ठलाई टोलीमा अनुबन्ध गरेको हो । मच्छिन्द्रले रेलिगेसनमा परेको खुमलटारका विदेशी खेलाडी मेसुके ओलोमोउसँगै दाजुभाइ रेजिन सुब्बा र रोहित सुब्बालाई पनि टोलीमा आबद्ध गरेको छ ।

यसबाहेक क्लबले ‘ए’ डिभिजन खेलेका १५ खेलाडीलाई निरन्तरता दिएको छ । कप्तान विशाल श्रेष्ठ र प्रदिप भण्डारी गोलरक्षकका रूपमा रहनुभएको छ । फरवार्डका रूपमा विमल घर्ती मगर, अफिज ओलावाले, सौरभ लिम्बू, अभिषेक गुरुङ र विजय भुजेल टोलीमा हुनुहुन्छ ।

यस्तै, मिडफिल्डर आन्द्रेस निया, दिपेश घले र उत्सव राई तथा डिफेन्समा ओमोलाजा करीम, देवेन्द्र तामाङ, दिवाकर चौधरी, छिरिङ गुरुङ र सुरज विकले मच्छिन्द्रबाट एएफसी कपको छनोट खेल्नुहुनेछ ।

मच्छिन्द्रले एएफसी कप छनोटको प्लेअफ चरणमा माल्दिभ्सको पारो एफसी क्लबको सामना गर्दैछ । ८ अगस्टमा हुने उक्त खेल जिते मच्छिन्द्रले १६ अगस्टमा मोहन बगानको सामना गर्नेछ । उक्त खेल जिते २२ अगस्टमा हुने प्लेअफको फाइनलमा क्लब इगल्स र ढाका अबहानीको विजेतासँग मच्छिन्द्रले खेल्नेछ ।

यस्तै, क्लबले वरिष्ठ प्रशिक्षक किशोर केसीलाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ । यसअघि उहाँसँगको सम्झौता सकिए पनि क्लबले सम्झौता थपेको हो । यस्तै, क्लबले एएफसी कप छनोटको प्रसारण र टिकट अधिकारका लागि पनि दुई फरक संस्थासँग सम्झौता गरेको छ । कान्तिपुर टेलिभिजनले खेलको प्रत्यक्ष प्रसारण गर्नेछ भने टिकटका लागि माउण्ट एभरेस्ट स्पोर्ट्ससँग सम्झौता गरिएको छ । खेलका लागि टिकट मूल्य साधारणतर्फ दुई सय रुपैयाँ र भिआइपीतर्फ पाँच सय रुपैयाँ राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?