नाइजरमा सैन्य विद्रोह, संविधान निलम्बनको घोषणा

Read Time = 5 mins

नियामे । पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिक विद्रोह भएको छ । सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्थ गरेको दाबी गरेको हो । सैन्य टोलीले राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि सेनाले नियन्त्रणमा लिएको थियो भने देशको संविधान विघटनका साथै सबै संस्था निलम्बन गरिएको घोषणा पनि गरेको छ । सेनाले देशको सिमाना बन्द गरेको बताएको छ ।

राजधानी नियामेस्थित राष्ट्रपतिको निवास र कार्यालयसम्म जाने बाटो बन्द गरिएको छ भने बन्दी बनाइएका राष्ट्रपतिलाई रिहा गर्न सेनाले अस्वीकार गरेको छ ।

‘हामी, रक्षा र सुरक्षा बलहरूले...राष्ट्रपति बाजुमको शासनको अन्त्य गर्ने निर्णय गरेका छौं’, अन्य नौजना बर्दीधारी सैनिकबाट घेरिएका कर्णेल अमाडो अब्द्रामानेले बुधबार राति टेलिभिजन सम्बोधनमार्फत घोषणा गर्नुभएको थियो ।

विश्व तथा क्षेत्रीय नेताहरूले बाजुमलाई रिहा गर्न आहृवान गरेका छन् । दुई वर्ष अघि उहाँले नाइजरको सत्ता सम्हाल्नु भएको थियो । छिमेकी बेनिनका राष्ट्रपति प्याट्रिस टालोन मध्यस्थता प्रयासका लागि नियामेतर्फ प्रस्थान गर्ने तयारीमा रहेको पश्चिम अफ्रिकी राज्यहरूको आर्थिक समुदायले जनाएको छ । राष्ट्रपति र उहाँको परिवार सकुशल रहेको सेनाले बताएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले सैन्य विद्रोहको निन्दा गर्दै राष्ट्रपति बाजुमलाई निःशर्त तत्काल रिहा गर्न आहृवान गर्नुभएको छ । अफ्रिकी संघ र युरोपेली संघले पनि सैन्य विप्लवको विरोध गर्दै राष्ट्रपति बाजुमको रिहाइको माग गरेका छन् ।

लोकतन्त्रलाई जोगाउने प्रतिबद्धता
सैनिक हिरासतामा रहनुभएका नाइजरका राष्ट्रपति मोहम्मद बाजुमले ठूलो संघर्षबाट प्राप्त लोकतन्त्रलाई जोगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रजातन्त्र र स्वतन्त्रताका पक्षधर सबै नाइजसवासी आफ्नो पक्षमा रहेका उहाँले बताउनुभएको हो । आफ्नै सेनाद्वारा बन्दी बनाइनुभएका उहाँले कठोर संघर्षबाट प्राप्त प्रजातान्त्रिक उपलव्धि जोगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

सामाजिक सञ्जालमार्फत उहाँले लोकतन्त्रका निम्ति साहसपूर्वक लड्ने दृढता व्यक्त गर्नुभएको छ । अफ्रिकी र अन्तर्राष्ट्रिय संगठनले सैन्य विद्रोहको निन्दा गरेका छन् । साथै नाइजरका पश्चिमा सहयोगीले पनि सैनिक कारबाहीको निन्दा गर्दै अविलम्ब राष्ट्रपतिलाई रिहा गर्न र लोकतान्त्रिक पद्धतिमा फर्कनन आहृवान गरेका छन् ।

नाइजरका विदेश मन्त्री हसौमी मसुदुउले देशको वैध शक्ति निर्वाचित राष्ट्रपति भएकाले विद्रोहमा उत्रेका सबै सिपाहीलाई काममा फर्कन र वार्ताका माध्यमबाट समस्याको निकास खोज्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले गणतन्त्रको विपक्षमा जान नसकिने पनि स्पष्ट गर्नुभएको छ । साथै उहाँले राष्ट्रपति सकुशल रहेको स्पष्ट गर्नुभएको छ । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?