उद्योग संगठनद्वारा गभर्नरको ध्यानाकर्षण

Read Time = 6 mins

विराटनगर । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरसँग छलफल गरी आगामी मौद्रिक नीतिमा संगठनतर्फबाट सुझाव दिएको छ । त्यस्तै, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग पनि भेट गरी विद्युत्सँग सम्बन्धित समस्याको दीर्घकालीन समाधानका लागि आग्रह गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतसँगको छलफलमा संगठनका अध्यक्ष राकेश सुरानाले दीर्घकालीन आर्थिक एवं औद्योगिक विकासका लागि निजी क्षेत्रले अनुमानयोग्य नीतिगत व्यवस्थाको अपेक्षा गरेकाले आर्थिक विकास, औद्योगिक पूर्वाधार विकास जस्ता मूलभूत विषयमा न्यूनतम साझा मापदण्ड लागू गरी निजी क्षेत्रलाई ढुक्क भई लगानी गर्न सक्ने वातावरण तयार गर्न आग्रह गर्नुभयो । संगठनतर्फबाट सुझाव प्रस्तुत गर्दै उहाँले आगामी मौद्रिक नीतिले उद्योग व्यवसाय क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याज एकल अंकमा सीमित हुने गरी ल्याउनुपर्नेमा जोड दिनुभयो ।

अर्थमन्त्री महतले उद्योग व्यवसाय सञ्चालनका लागि आवश्यक आधारभूत आवश्यकताका रूपमा रहेका वित्तीय व्यवस्थापन, विद्युत् उपलब्धता, पूर्वाधार विकासजस्ता कुरा सरकारको प्राथमिकताको क्षेत्र रहेको भन्दै ढुक्क भई लगानी विस्तार गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । औद्योगिक क्षेत्रको विकास र विस्तारले मात्र मुलुक आत्मनिर्भर हुने भएकाले यस क्षेत्रको प्रवद्र्धन गर्नु सरकारको दायित्व भएको उहाँको भनाइ थियो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्योग व्यवसाय क्षेत्रले व्यावहारिकरूपमा भोग्दै आएको चालु पुँजी कर्जा प्रवाहमा तय गरिएको मापदण्डबाट उत्पन्न समस्या सम्बन्धमा तथ्यांकसहित संगठनतर्फबाट प्रस्तुत सुझावअनुसार उद्योग व्यवसायलाई सहजीकरण गर्ने गरी मुद्राको आपूर्ति र मागको व्यवस्थापन गर्ने नीति राष्ट्र बैंकको भएको भन्दै उद्योग व्यवसायको गुनासो सम्बोधन गर्ने गरी मौद्रिक नीति ल्याउने आश्वासन दिनुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगको छलफलमा संगठनका अध्यक्षले कोशी प्रदेशका उद्योगले सुक्खायाममा भोग्नुपरेको अघोषित लोडसेडिङ, ट्रिपिङ, भोल्टेज फ्लक्चुएसन समस्याबाट उद्योग व्यवसाय संकटमा रहेको भन्दै आगामी पाँच वर्षमा प्राधिकरणको विद्युत् आपूर्ति गराउने, आगामी वर्षदेखि सुक्खायाममा विद्युत उपलब्ध गराउने र गुणस्तरीय विद्युत् आपूर्तिमा देखा परेको भोल्टेज फ्लच्युएसन तथा ट्रिपिङको समस्या सम्बोधन गर्ने योजना स्पष्ट पार्न माग गर्नुभयो ।

सो अवसरमा घिसिङले विद्युत् पर्याप्तमात्रामा उपलब्ध भए तापनि ट्रान्समिसन लाइनको पूर्वाधारमा भएको समन्वय अभावमा ढिलाइका कारणले विद्युत् उपलब्ध गराउन नपाएको बताउनुभयो । ढल्केवर–इनरुवा चार सय केभिए प्रशारण लाइन आगामी केही महिनाभित्र निर्माण सम्पन्न हुने, बर्जुलगायतका स्थानमा सब स्टेसन निर्माणका क्रममा रहेकाले आगामी वर्षदेखि समस्यामा क्रमशः सुधार भई विद्युत् अभावको समस्या नरहने उहाँले बताउनुभयो ।

विद्युत्को ट्रिपिङ, लो भोल्टेज, फ्लक्चुएसन जस्ता स्थानीयस्तरमा देखिएका समस्या समाधानका लागि भार सम्प्रेषण केन्द्र, विद्युत् वितरण केन्द्रका प्रमुखको उपस्थिति तथा उद्योग संगठनको समन्वयमा विराटनगरमा छलफल गरी समस्या समाधानका लागि पहल गर्ने सहमति भएको उद्योग संगठनले जनाएको छ । सो अवसरमा संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष भोलेश्वर दुलाल, विपिन कावरा, निवर्तमान अध्यक्ष सुयश प्याकुरेल, सदस्य प्रतिभा रिजाल ओली, सौरभ सारडा, सन्तोष भगत, दिपक अग्रवाल, सिद्धार्थ कावरा, वीरेन्द्र राठी, सृजन प्याकुरेलको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?