वार्षिकोत्सवका अवसरमा ज्योतिको सामाजिक कार्य

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । ज्योति विकास बैंकले १५औँ वार्षिकोत्सवका अवसरमा बैंकद्वारा स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत देशभरिका विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयबाट संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । वातावरण, स्वास्थ्य, सशक्तीकरणलगायतका क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । शारीरिक तवरले फरक बालबालिकाका लागि कृत्रिम हात प्रदान गर्न इनेबल नेपालसँग सहकार्यका लागि सम्झौता गरेको छ । इनेबल नेपालसँगको सहकार्यमा बैंकले १५ जना बालबालिकालाई थ्रिडी प्रिन्टेड प्रोस्थेटिक हृयाण्ड्स प्रदान गर्नेछ ।

ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा इनेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । ३३ वर्षदेखि जनस्वास्थ्य सरोकारका कार्यक्रम र सेवा सञ्चालन गर्दै आएको फेक्ट नेपालसँगको सहकार्यमा बैंकले १५ विभिन्न स्थानमा स्वास्थ्यसम्बन्धी कार्यक्रम आयोजना गर्न सम्झौता गरेको छ । फेक्ट नेपालको प्राविधिक सहयोगमा स्वस्थ जीवनयापनको सचेतनामूलक कार्यक्रमदेखि निःशुल्क स्वास्थ्य शिविरलगायत कार्यक्रमका लागि सम्झौता गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत भट्ट तथा फेक्टका कार्यकारी निर्देशक गौरी प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

वार्षिकोत्सवकै अवसरमा बैंकको धनगढी शाखाले हरियाली प्रवद्र्धनका लागि धनगढी उपमहानगरपालिकासँगको समन्वयमा वृक्षारोपण गरेको छ भने बैंकको मुर्गिया शाखाले सैनामैना नगरपालिका ५, ६ र ७ का लागि ५० थान डस्टबिन वितरण गरेको छ । बैंकको हसुलिया शाखा र केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम पनि गरिएको थियो भने लमजुङस्थित अपांग संरक्षण समाजसँगको साझेदारीमा अपांगता भएका व्यक्तिलाई विभिन्न सहायता सामग्री प्रदान गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?