कविता : तिम्रो नाममा कविता

Read Time = 4 mins

✍️ अच्युत दाहाल

तिम्रोनाममा कविता !
हो, तिम्रो नाममा एक कविता लेख्ने मन भयो !
न माया लागेर हो
न मन परेर हो,
न तिम्रो त्यो बाइसे बैंसको आकर्षणले नै पो हो,
न फेरि कहिल्यै भेट नहुने बिस्मातले हो,
जे जुनसुकैले हो,
तिम्रो नाममा एक कविता लेख्ने
मन भयो !
लिइन कुनै अनुमति तिम्रो,
न खोजेँ छेक्न कुनै बाटो गल्ली तिम्रो,
स्वतन्त्र छु म पनि तिमी जस्तै,
आनन्दै आनन्दमा
हर पाइलाहरू चाल्दै,
थाहै नदिई नडराई
तिम्रो नाममा एक कविता लेख्ने
मन भयो !
तिमी केहीनूर हौ भन्छन् धेरैले,
तिमी निष्ठुरी पनि हौ
भन्छन् पछारिनेले,
न सुन्छ्यौ कसैको,
न रोकियौ, न रोकिन्छ्यौ कतै पो,
त्यही तिम्रो समगतिमा गतिमान् हुँदै,
हिजो, भोलि केही नगन्दै
तिम्रो नाममा एक कविता लेख्ने
मन भयो !
थाहा छ मलाई,
मैले नै राखेका तिम्रा ती
गणितीय नाम सबै,
सहज असहज,
नाम बदनाम सब हुन मेरै,
स्मृति र योजना, कल्पना र सपना हुन मेरै,
सावित्री र रेखा सारथि मेरै,
तिमीलाई सिँगार्न खोज्दा खोज्दै,
आफ्नै छालामा स्वभाविक
‘चाउरी सिँगार’ छामेपछि, नश्वरताको नशाले तिम्रो
चड्दो लाली देखेरै
तिम्रो नाममा एक कविता लेख्ने
मन भयो ।
लेख्दिन म मेरो कवितामा द्रौपदीको
नग्नता निर्लज्जताका कुरा,
लेख्दिन म मेरो कवितामा गान्धारीले पट्टी बाँधी
अन्धो बन्ने मुर्खताका कुरा,
न सुनाउँछु म तिमीलाई
‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति स्वदेश’
निराश नहुने उपदेशका कुरा,
म त केवल आज,
अहिलेकै दौडधुप गर्ने जिउँदाका कुरा
नमासियोस् मानिसको मानवता अर्ज गर्न,
हो बिन्ती गर्न,
तिम्रो नाममा एक कविता लेख्ने
मन भयो !
बोलाउँने हूँ
म आँफैले,
अझै केही सालपछि आउँछ त्यो पालैले,
तिम्रो ऊर्जा, लालित्व, गति गतिमा,
तिम्रो आधार, काल
महाकाल शिवमा,
जाबो यो शरीर मिल्छ माटोमा,
तर वायु, पानी, माटो,
अग्नि आधारित आकाशमा,
मैले आफ्नो अस्तित्व राख्न,
पारिस्थितिक तन्त्र सन्तुलन राख्न,
तिम्रो रौद्ररूप तिम्रै रोहबरमा,
तिम्रो नाममा एक कविता लेख्ने मन भयो !
मैलेनै जङ्गल, जीव, नदी, भूमि,
पर्यावरण प्रदुषण पार्छु,
प्रदुषित विचारले रोग फैलाउँछु,
अनि समय व्यवस्थापन,
जङ्गल, वन्यजीव, पर्यावरण
शुद्धीकरणका नारा लगाउँछु !
सारा नाटक !
केवल बोक्रेपन !! आडम्बर !! त्येसैले, मानवता
अब अझै नपिल्सिओस,
नमासिओस्,
बाहृय सुविधावाद विकासभन्दा भित्र फर्कोस्,
माटोलाई माया गरोस्,
मरेर पुगिने स्वर्गभन्दा
‘जीवन स्वर्ग’ मा जीवन रमाओस्
भन्ने आशयले नै,
तिमीलाई साक्षी राख्दै, गुहार्दै,
मानव विकासको यस चरम बिन्दुमा
आध्यात्मिकताको परमानन्द सत्ता ल्याउन
र आओस् भन्दै
तिम्रो नाममा एक कविता लेख्ने मन भयो !
तिम्रो नाममा एक कविता लेख्ने मन भयो !!

चन्द्रनिगाहपुर, रौतहट ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?