सुदूरपश्चिममा भारतीय मुद्राको अवमूल्यन, पेट्रोल पम्पमा भारु नलिने नोटिस

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 4 mins

कैलाली । सुदूरपश्चिममा भारतीय मुद्राको अवमुल्ययन बढेको छ । प्रदेशका मुख्य बजार क्षेत्रमा भारतीय मुद्राको कारोबार ठप्प जस्तै भएको छ । कैलालीको धनगढी, अत्तरिया, टीकापुर तथा कञ्चनपुरको महेन्द्रनगरदेखि पहाडी जिल्लासम्मै भारतीय रुपैयाँको कारोबार हुन छोडेको हो । भारतीय नोट व्यवसायीहरुले लिन छोडेपछि भारु नोट भएकाहरु समस्यामा परेका छन् ।

यहाँका केही पेट्रोल पम्पहरुले त भारतीय कुनै पनि दरका नोट नलिने भन्दै नोटिस (सूचना) नै जारी गरेका छन् । पेट्रोल पम्प अगाडी सूचना नै टाँस गरेर भारतीय रुपैयाँ नलिने तथा नेपाली रुपैयाँ मात्र चल्ने उल्लेख गरेपछि भारतीय रुपैयाँ साट्न पसल-पसल धाउने बढेका छन् । भारतीय एक सयको नेपाली एक सय ६० विनिमय दर हो । तर एक सय भारु दिँदा एक सय ५० नेपाली पाउन समेत मुश्किल भएपछि भारतीय रुपैयाँको अवमुल्ययन बढेको हो ।

सुदूरपश्चिममा भारु नोट सटहीमा समस्या देखिएको छ । भारु दुई हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै सटहीमा समस्या देखिन थालेको हो । भारतको केन्द्रीय बैंकले भारु दुई हजारका नोट फिर्ता लिने घोषणासँगै यहाँका सीमावर्ती नेपाली बजारमा साना दरका भारु नोटको प्रचलनसमेत ह्वात्तै घटेको छ भने यातायात तथा पेट्रोलियम व्यवसायीले भारु नोटमा भुक्तानी लिन छाडेका छन् । व्यवसायीका अनुसार भारुको कारोबार हुन छाडेको र मनी एक्सचेञ्जरले पनि भारु साट्दा अतिरिक्त कमिसन असुल्न थालेको आरोप छ ।

भारु एक लाख सटही गर्दा चार हजार कमिसनसम्म लिने गरेको गुनासो छ । यहाँका स्थानीय पेट्रोल पम्पमा पनि भारु नोटमा भुक्तानी नलिइने सूचना टाँसिएको छ । भारतबाट लुकीछिपी ठूलो मात्रामा भारुका नोट नेपाल भित्रिएको र नेपाली बजार चर्को आर्थिक मन्दीको मारमा रहेको कारण बिक्री घट्दा बजारमा भारुको सटहीमा समस्या उत्पन्न भएको सटहीको अनुमति प्राप्त मनी एक्सचेन्जर व्यवसायी बताउँछन् । भारु बेच्ने धेरै भए, किन्ने नहुँदा समस्या देखिएको कतिपयको तर्क छ ।

भारु नोट सटहीमा कठिनाइ हुँदा भारतमा रोजगार गरेर फर्कने नेपाली सीमा क्षेत्रमा सकसमा परेका छन् । भारतको नयाँ दिल्ली, मुम्बई, बैङ्लोर, सिलगुडी, सिक्किम, मेघालय, कोलकाता, केरला र चेन्नईमा रोजगारी गर्ने नेपाली सीमा नाका भएर स्वदेश फर्किने गर्छन् । नेपाल राष्ट्र बैंकले भारतीय सय रुपैयाँबराबरको नेपाली एक सय ६० रुपैयाँ खरिद-बिक्री दर तोकेको छ ।

तर, पछिल्लो समय भारतीय सीमानाका गौरीफन्टा बजारमा एक सय ५७ रुपैयाँमा पनि भारतीय मुद्रा बिक्री हुन नसकेको व्यवसायी बताउँछन् । पछिल्लो केही समयदेखि बजारमा भारतीय मुद्रा प्रशस्त भेटिन थालेको छ । मनी चेन्जरहरूमा पनि नेपालीभन्दा भारतीय मुद्रा बढी हुँदा भारतीय मुद्राभन्दा नेपाली नोट बलियो बनेको कतिपयको तर्क छ । भारतीय मुद्रा खरिद गर्नेभन्दा बिक्री गर्ने बढी देखिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?